पानवारी । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले शिक्षाध्यक्ष नभएको मौका पारेर ‘पोष्ट ग्रयाजुएट’ को प्रवेश परिक्षा प्रभावित पार्ने कोशिस गरेका छन् ।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल विदामा बसेको मौका पारेर उपकुलपति रौनियारले नियम विपरीत प्रतिष्ठानका डिन प्रा.डा. चन्द्रभूषण झालाई शिक्षाध्यक्षको जिम्मेवारी दिएर ‘पोष्ट ग्रयाजुएट’ को पुनः हुन लागेको प्रवेश परिक्षा प्रभावित पार्न खोजेका हुन् ।

यसअघि भएको प्रवेश परिक्षामा शिक्षाध्यक्षले कडाइ गरेपछि भारतिय विद्यार्थीको २८ जनाको कोटामा १० जना मात्र उत्तिर्ण भएका थिए । १० जना उत्तिर्ण भएपनि ४ जना विद्यार्थीले मात्रै पोष्ट ग्रयाजुएटको लागी भर्ना भएपछि पुनः प्रवेश परिक्षा गरी बाकी २४ जना विद्यार्थी भर्ना गर्नुपर्ने भएकोले त्यसमा चलखेल गर्न शिक्षाध्यक्ष अनुपस्थित भएको मौका पारेको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार शिक्षाध्यक्ष आफैले निमित्तको जिम्मेवारी दिएर गएपनि निमित्तले मात्रै प्रवेश परिक्षाको प्रकृया अगाडी बढाउन नमिल्ने भएपछि प्रतिष्ठानमा शिक्षाध्यक्ष नै नभएको जस्तो गरी उपकुलपतिले डिन झालाई ‘जिम्मेवारी दिएको’ पत्र दिएका थिए । ‘प्रतिष्ठानमा हाल शिक्षाध्यक्ष नभएको हुँदा अर्काे व्यवस्था नहुन्जेलसम्मको लागी’ भन्दै ‘प्रवेश परिक्षा सम्बन्धि कार्यहरुसमेत तपाईले आफ्नो अध्यक्षतामा नियमित रुपमा सम्पन्न गर्ने गरी जिम्मेवारी वहन गर्नुहुनेछ ।’ झालाई जिम्मेवारी दिएको पत्रमा भनिएको छ ।

त्यसो त शिक्षाध्यक्ष खनाल आफैले डिन झालाई निमित्त शिक्षाध्यक्षको जिम्मेवारी दिएर बिदामा बसेका थिए । असार १७ गतेदेखि बिदामा लिएर सिनेट बैठकमा सहभागि हुन काठमाडौ पुगेका शिक्षाध्यक्ष खनाल बैठक सकेर असार ३१ गते कार्यालयमा हाजिर भएपनि भोलीपल्ट नै व्यक्तिगत कामको लागी काठमाडौ जानुपर्ने भएकोले कार्यालयमा हाजिर नगरी गएका थिए । तर साउन २६ गते नै उपकुलपति रौनियारले ‘थप जिम्मेवारी’ दिएको भन्दै झालाई पत्र थमाएका थिए ।

यसअघि भएको प्रवेश परिक्षामा शिक्षाध्यक्षले कडाइ गरेर चलखेल हुन नदिएपछि उपकुलपतिले चलखेल गर्नकै लागी यस्तो कदम चालेको स्रोतले बताएको छ । शिक्षाध्यक्ष बिदामा भएको मौकामा असार ३१ गते सुचना प्रकाशित गरी साउन १९ गते प्रवेश परिक्षाको मिति समेत तोकिसकेको छ । प्रतिष्ठानले सूचना प्रकाशित गरेपछि ५० जना भन्दा बढीले प्रवेश परिक्षाको लागी आवेदन दिइसकेको समेत स्रोतले दाबी गरेको छ । स्रोत भन्छ ‘चलखेल नहुनु हो भने पुनः परिक्षाको फर्म एक हप्तामा ५० भन्दा बढी विद्यार्थीले भर्दैन थिए ।’ यसअघिका वर्षहरुमा पनि एमडि/एमएसको प्रवेश परिक्षामा ठूलो रकम चलखेल हुने गरेको भन्दै विवाद हुदै आएको थियो ।

शिक्षादक्ष खनालले भने –‘मैले उपकुलपतीलाई जानकारी गराएर नै बिदामा बसेको थिए र मैले नै डिनलाई निमित्तको जिम्मेवारी पनि दिएको थिए तर यस विषयमा उपकुलपतिले अलि हतार गरेको जस्तो लागेको छ मलाई ।’ प्रतिष्ठान भित्रबाटै उपकुलपतिकाे कदमकाे विराेध भएपछि शुक्रबार उपकुलपतिले गल्ती भएकाे भन्दै सच्याएकाे पत्र डिनलार्इ दिएका  थिए ।

प्रतिष्ठानको मुख्य आयको रुपमा रहेका भारतिय विद्यार्थीको कोटामा एक विद्यार्थीले विषय अनुसार वार्षिक रुपमा ३० देखि ४५ हजार डलर प्रतिष्ठानलाई पढाइ शुल्क वापत तिर्दै आएका छन् । उपकुलपति राजकुमार रौनियारसँग यस विषयमा जानकारी लिन बारम्बार फोन सम्पर्क गर्न खोजेपनि सम्पर्क हुन सकेन ।