पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरको पहिलो जातिका रुपमा धिमाल जाति पहिचान भएकोमा खुसी व्यक्त गर्दै धिमाल जातीय विकास केन्द्रको केन्द्रीय समिति उर्लावारीले नगरपालिका कार्यालयलाई कृतज्ञतापत्र प्रदान गरेको छ ।

केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल, महासचिव केदार धिमाल सहितले २ दर्जन बढी धिमाल अगुवाहरुको उपस्थितीमाझ नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलामार्फत नगरपालिका कार्यालयलाई शुक्रवार कृतज्ञतापत्र प्रदान गरेका हुन् ।

कृतज्ञतापत्र ग्रहणपछि बोल्दै नगर प्रमुख राईले धिमाल समुदायको आवादले वस्ती बसेको र आफुहरु जनप्रतिनिधि हुन पाएको भन्दै धिमाल समुदायप्रति आभार प्रकट गरेका छन् । साथै उनले धिमाल समुदायको प्रवद्र्धनका लागि नगरपालिकाले कार्यक्रम अघि बढाउने वचन समेत दिएका छन् । केन्द्रका महासचिव केदारले धिमाल जातिको प्रवद्र्धनात्मक कार्यक्रमका लागि नगरपालिकाले योजना बनाउनु पर्ने कुरा त्यस अघि राखेका थिए । उनले पहिले जग्गा जमिन आवाद गर्ने सम्पन्न धिमाल पछि विपन्न हुँदै आफ्नो अधिकार माग्नु पर्ने ठाउँमा आइपुगेको तीतो पक्ष पनि राखे । ‘समय परिस्थिती, शासन व्यवस्थाले कस्लाई कहाँ पुर्याउँदो रहेछ । पहिले ‘दिने’ हामी अहिले ‘माग्ने’ भएका छौं । यस्तो बेला यसरी हाम्रो सम्मान हुन पाउनु ज्यादै ठूलो खुसीको कुरा हो ।’– उनले इतिहास सम्झदै वर्तमानसंग जोडे ।

नगरपालिकाको गत असार २९ गतेको तेस्रो नगरसभाको विस्तारित वैठकले धिमाल जातिलाई नगरको पहिलो जातिका रुपमा घोषणा गरेको थियो । सो नगरपालिकामा धिमाल समुदायका ४ जना प्रतिनिधि रहेका छन् ।

धिमाल जातिलाई नगरको पहिलो जाति मानेकोमा खुसी व्यक्त गर्दै धिमाल जातीय विकास केन्द्र पथरीशनिश्चरे नगर समितिले साउन ६ गते नगरमा र्याली निकालेर साँझ दिपावली गर्ने कार्यक्रम समेत राखेको छ ।

धिमाल जाति मोरङ र झापामा बसोवास गर्ने पुरानो जातिमा पर्छ । सो जातिको सम्मानमा झापाको दमक नगरपालिकाको मुलद्धारको भित्री भागमा धिमाल जातिको प्रतिमा निर्माण गरिएको छ । ०७४ असोज ३० गतेको प्रथम नगरसभाले ‘प्रथम नागरिक’ घोषणा गरेपछि प्रतिमा बनाउन थालिएको थियो । नगरपालिकाको ८ लाख लगानीको प्रतिमा ०७५ वैशाख १९ मा प्रधानमन्त्री केपी शर्मा ओलीबाट अनावरण गराइएको थियो ।

बंगाली लेखक डाक्टर हसनको निवन्धमा सन् १८४७ मा कोसी पूर्व र टिष्टा पश्चिम विराट क्षेत्र भनिने बसोबासस्थलको पहाडी क्षेत्र दक्षिणको बीचभागमा धिमाल जाति हौं भन्ने ५ सय १ जना मानिस फेला परेको उल्लेख छ । सो इतिहास सहितका ११ वटा प्रमाणले मोरङ, झापा र सुनसरीमा सवभन्दा पहिलो पाइला टेक्ने धिमाल जाति नै भएको तथ्य प्रस्तुत गर्दै प्रदेश सरकारसंग सो कुरा सम्वोधनका लागि माग गरिएको दमक नगरपालिकाका पूर्व नगर उपप्रमुख लोकबहादुर धिमालले वताए । उनले धिमाल जातिको गौरवका ५ वटा योजना उल्लेख गरेर संघ र प्रदेश सरकारमा पेश गरेको सुनाए । दमकमा धिमाल संस्कृति संग्रहालयका लागि पर्यटन मन्त्रालयबाट ७० लाख सहित प्रदेश र नगरपालिका समेत गरी १ करोड हाराहारीको योजना बनेको उल्लेख गरे ।

प्रकृतिपूजक धिमालको आफ्नै भाषा छ । लिपी पनि भर्खरै बनेको छ । सार्वजनिक थलोका रुपमा धिमालका ९८ वटा टोल छन् । परापूर्वकालदेखि मुख्य रुपमा मोरङ र झापामा धिमाल जातिको बसोबास गर्दै आएका उनीहरुको जनसंख्या ३५ हजारको हाराहारी मात्रै छ । मोरङको तात्कालिन भोगटेनी गाविसको हालको लेटाङमा पर्ने राजारानी क्षेत्र उनीहरुको जन्मथलो मानिन्छ । दमक र पथरीशनिश्चरेमा पहिलो जाति धिमाल घोषणा भएपछि उर्लावारी, लेटाङ, कानेपोखरी, बेलवारी क्षेत्रमा पनि धिमाल नै पहिलो जाति भएकाले घोषणाको माग हुन थालेको छ ।