रंगेली/प्रदेश १ सरकारले विराटनगरस्थित कोशी अञ्चल अस्पतालाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने भएको छ । प्रदेश सरकारले काठमाण्डौको विर अस्पतालसंग सहकार्य गरी यसै वर्ष देखि एमडीको कक्षा संचालनको तयारी गर्न लागेको हो ।

सामाजिक बिकास मन्त्रालयले विहिबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा सामाजिक बिकास मन्त्री जीवन घिमिरेले साउनको अन्तिम साताबाट एमडीका लागि विधार्थी भर्ना लिएर अस्पतालमा पठन पाठनको तयारी भईरहेको जानकारी दिए । ‘शिक्षण अस्पतालका रुपमा विकास गर्नका लागि आवश्य विद्यार्थी लगायतका कुरामा विर अस्पतालसँग सहमति भईसकेको छ ।’ मन्त्री घिमिरेले भने ‘एमडी पढाईका लागि सबै विद्यार्थी विर अस्पतालले पठाउने छ । कोशी अञ्चल अस्पताललाई प्रयोगात्म कक्षका रुपमा ती विद्यार्थी प्रयोग गर्नेछन ।’  मन्त्री घिमिरेका अनुसार यो वर्षको एमडीका लागि ५ देखि १० जना विद्यार्थी विर अस्पतालले कोशी अञ्चल अस्पतालका प्रयोगात्मक अभ्यासका लागि पठाउने छ । साथै अर्को वर्षदेखि एमबिबिएसको पढाइ सञ्चालन गरिने मन्त्रीले जानकारी दिए । त्यसै गरी सामाजिक विकास मन्त्रालयले ग्रामिण क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विषेश सहुलियत दिएर एमबिबिएस अध्ययन गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।यसरी अध्ययन गर्ने चिकित्सकले कम्तिमा ५ वर्ष ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्नु पर्ने प्रावधान मन्त्रालयले बनाएको छ ।

मन्त्री घिमिरेले पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयले चारवटा विधेयकको मस्यौदा तयार पारेको बताए । पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालय गठन भएदेखि हालसम्म भएको काम कार्वाहीको बारेमा जानकारी गराएको थियो ।