जिरोपोइन्ट । लिम्बुवान आन्दोलनको इतिहास समेटेको लेखक विजय लुम्फुङवा लिम्बको “लिम्बुवान आन्दोलन (विकास क्रमः विगत र वर्तमान)”नामक पुस्तक बुधबार एक कार्यक्रम गरी विमोचन गरीएको छ । लेखक विजय लुम्फुङवाले लागुपदार्थ दुव्र्यशन र परामर्षमा कमल तिगेलासंग र लुम्फुङवा थर मिलानबारेमा नरप्रसाद लुम्फुङवासंग गरी तीन कृतिमा सहलेखन गरेका छन् । पुस्तक साहित्यिक पाटोतर्फ भन्दापनि खोजमुलक र विवेचनात्मक रूपमा भएकोले साहित्यमा रूचि हुनेले भन्दापनि इतिहास जान्न चाहनेहरूका लागि उपयुक्त रहेको लेखक लुम्फुङवाले बताएका छन् । लिम्बुवानको राजनीतिक इतिहासमा चासो हुने र लिम्बुवान आन्दोलनको इतिहास के रहेको थियो ? के हुदैछ भन्ने विषयमा जान्न चाहनेहरूको लागि उपलब्धिमुलक रहेको र वि.सं. १८३१ देखि वि.सं. २०७२ असोज ३ गतेसम्मको घटनाहरूलाई तथ्यगत रुपमा प्रस्तुत गरीएको लेखक लुम्फुङवाले बताएका छन् । कार्यक्रममा उपप्राध्यापक डा. रमेश इजम, उपप्राध्यापक सूर्यकुमार राई, सहप्राध्यापक आनन्द आचार्य र लेखक युग पाठकले कृतिबारे चर्चा गर्दै राजनीतिक र एतिहासिक दुबै पक्षलाई समेटेर सरल शब्दको प्रयोग गरी लेखिएकोले पुस्तक पढ्दा पठनिय रहेको बताएका छन् ।इतिहासका कुराहरूले उर्जा प्रदान गर्ने भएको भोतिक सामग्री झै संग्रह गर्न लायक पुस्तक रहेको बताएका छन् ।