विर्तामोड ।  जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बजेट कुम्ल्याउनका लागि अघिल्लो आर्थिक वर्षमा सक्नु पर्ने कार्यक्रम चालु आर्थिक वर्षमात्रै सम्पन्न गरेको छ । असार २८ गतेको व्यानरलाई केरमेट गरेर बुधबार कार्यक्रम सम्पन्न गरेको छ । पत्रकारहरुलाई भत्तासमेत दिएको छ । गत आर्थिक बर्षभित्रमा गर्नुपर्ने कार्यक्रम बजेट अपचलनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको प्रष्ट भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका हेल्थ एसिस्टेन्ट लीला पोखरेलको नेतृत्वमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा झापाका करिब १० जना पत्रकारले भाग लिएको पोखरेलले बताए । गत आर्थिक बर्ष्भित्रमा उक्त कार्यक्रम सम्पन्न गरिनुपर्ने भए पनि साउन २ गते कार्यक्रम गरिएको पोखरेलले बताए । उनले भने, ’त्यस्तै भएर २८ गतेको व्यानर राखेर आज कार्यक्रम गरिएको हो ।’ सहभागीलाई भत्तासहितको उक्त कार्यक्रमको समाचार नबनाइदिन पोखरेलले आग्रह गरेका थिए । असार २८ गतेको व्यानर राखेर साउन २ गते कार्यक्रम गर्न मिल्छ? भनेर सोधिएकोमा पोखरेलले भने, ’के गर्नु भ्याइएन । मिल्ने त होइन । तर पहिला पनि त्यसरी कार्यक्रम गर्ने गरिएको रहेछ ।’