[caption id="attachment_87958" align="alignleft" width="300"] फायलफाेटाे[/caption]

बेलबारी/ जिल्ला सरकारी वकिल कार्यालय मोरङ र उच्च अदालत मोरङ्गले बुधबार बेलबारी नगरपालिकामा समुदायमा सरकारी वकिल विषयक अन्तरक्रिया कार्यक्रम राखेर नगरका जनप्रतिनिधि तथा नागरिकसँग छलफल गरेका छन् ।

मुद्धाका प्रकृति,पीडितले उजुरी गर्ने र न्याय पाउने तरिकाको विषयमा जानकारी गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विशेषगरी बालिका बलात्कार, घरेलु हिंसा, सम्बन्ध विच्छेद र बहुविवाह जस्ता मुद्धाहरुमा केन्द्रित रहेर छलफल भएको थियो । कार्यक्रममा सहभागीहरुले बहुविवाह सम्बन्धि कस्तो नीति आउँछ भन्ने राखेको सवालमा उच्च अदालतका अधिवक्ता चिरंजीवी पराजुलीले विद्यमान कानुनले बहुविवाहको सन्दर्भमा विवाह गरेर आउने कान्छी श्रीमतीलाई श्रीमतीको अधिकार दिलाउदै आएको छ भने अब आउने कानुनले कान्छी श्रीमतीलाई श्रीमतीको रुपमा मान्यता नदिने प्रष्ट पारेका छन् । आगामी भदौ देखि लागू हुने कानुन अनुशार अब कान्छी श्रीमती भनेर विवाह नै दर्ता नहुने अधिवक्ता पराजुलीले बताए । हिजोको परिस्थिति जस्तो कान्छी श्रीमती भएर आएपछि हक खाने प्रावधन हटाईएको बताए । कार्यक्रममा निषेधाज्ञा, प्रहरी अनुसन्धान, वैकल्पिक वकिलको विषयमा परिचर्चा गरिएको थियो भने सरकारी वकिलको भूमिका बारे नागरिकहरुलाई सचेतना गराईएको थियो ।

बेलबारी नगरपालिकाका जनप्रतिनिधि,नागरिक समाज,संघसंस्थाका प्रतिनिधीहरुको उपस्थितिमा भएको कार्यक्रममा कार्यपालिका सदस्य खिना थापा , गीता शिवा,केशव ढकाल लगायतले वालिका वलात्कार,घरेलु हिंसा लगायतको विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय र उच्च अदालतका अधिवक्ताहरुले उठेका सवालहरु बारे प्रष्ट पारेका थिए । कार्यक्रम नगरका उपमेयर ढाका पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।