पाँचथर । पाँचथरमा लिम्बू भाषामा (याक्थुङ पान्दाङ) कक्षा ६ र ७ को पाठ्य पुस्तक निर्माण भएको छ ।

जिल्ला पाठ्यक्रम समन्वय समिति पाँचथरले पाठ्यपुस्तक प्रकाशनमा ल्याएको हो । प्रकाशित पाठ्य पुस्तकलाई पठन पाठनमा ल्याइएको छ ।याक्थुङ पान्दाङ कक्षा–६ को पाठ्युपस्तक शैक्षिक सत्र २०७४ मै पठन पाठन हुने गरी प्रकाशित भएको हो ।

कक्षा–७ को पाठ्य पुस्तक भने हालै प्रकाशित गरिएको छ । कक्षा–६ मा याक्थुङ पान्दाङ जिल्लाका १४ र कक्षा–७ मा नौ विद्यालयमा ऐच्छिक बिषयको रुपमा पठनपाठन भइरहेको पाठ्य पुस्तकका संयोजक तथा सम्पादक हरि चन्द्र लाओतीले बताए ।

यस अघि कक्षा १ देखि ५ सम्म लिम्बू भाषाको पाठ्य पुस्तक निर्माण भई ऐच्छिक बिषयको रुपमा पठन पाठन हुँदै आए पनि कक्षा ६ र ७ को पाठ्य पुस्तक भने पाँचथरमा नेपालमै पहिलोपल्ट निर्माण गरिएको हो । नेपाल भाषा आयोगका सदस्य समेत रहेका पाठ्य पुस्तकका सम्पादक आलोतीका अनुसार पाठ्य पुस्तकमा ५० प्रतिशत लिम्बू भाषा र संस्कृति भाषा, ३० प्रतिशत पेशा र प्रविधि, १० प्रतिशत विज्ञान र १० प्रतिशत गणित बिषयलाई समावेश गरिएको छ ।

लिम्बू भाषा कक्षा ६ देखी ८ सम्मको पाठ्य पुस्तक निर्माणका लागि २०७२ सालमा लिम्बू विद्यार्थी मञ्चको संयोजनमा पहल सुरु भएको थियो । मञ्चका तत्कालीन अध्यक्ष आङबुहाङ अबोध अविरलको अध्यक्षतामा लिम्बू भाषा–साहित्यको बिकासमा सक्रिय संघ–संस्थाका प्रतिनिधिहरुको फिदिममा सम्पन्न बैठकले पाठ्यक्रम निर्माणका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयमा पत्र लेखेको थियो ।

त्यसपछि जिल्ला पाठ्यक्रम समन्वय समितिका सदस्य हरि चन्द्र लाओतीको संयोजकत्वमा लिम्बू भाषा कक्षा ६–८ को पाठ्यक्रम तयार भएको थियो । त्यहीं पाठ्यक्रमको आधारमा २०७४ मा कक्षा–६ र २०७५ मा कक्षा–७ को पाठ्य पुस्तक निर्माण भएको हो । आगामी बर्ष कक्षा–८ को पाठ्य पुस्तक तयार गरिने सम्पादक मण्डलका सदस्य तथा याक्थुङ प्रज्ञा प्रतिष्ठानका कूलपति राजेन्द्र कुमार जबेगुले बताए ।

नेपालमै सबैभन्दा बढी ४०.१२ प्रतिशत लिम्बू समुदायको बसोबास रहेको पाँचथर जिल्लामा पहिलोपल्ट पाठ्युपस्तक तयार गरी कार्यान्वयनमा समेत ल्याइएको हो । अहिले कक्षा–७ मा ऐच्छिक बिषयको रुपमा ५० जना विद्यार्थी याक्थुङ पान्दाङ अध्ययन गरिरहेको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङ स्थित सत्यहाङमा माविका भाषा शिक्षक लालबहादुर नेम्बाङले बताए ।