भद्रपुर/ कार्यालयका कर्मचारीले दिने सेवा प्रवाहमा अनियमितता तथा ब्यापक गुनासो आएको भन्दै झापाको एक सरकारी कार्यालयले सीसी टीभी क्यामेरा जडान गरी निगरानी शुरु गरेको छ ।

अन्य कार्यालय भन्दा सेवाग्राहीको बढी भीडभाड हुने भद्रपुर स्थित नापी कार्यालयमा केहीदिन अघिदेखि सीसी क्यामेरा जडान गरेर कार्यालयमा हुने गतिविधिको बारेमा निगरानी शुरु गरेको हो ।  कर्मचारीले घुस नखाई काम नगर्ने,कार्यकक्षभित्र पसेर सेवाग्राहीले नक्सा झिक्ने,कर्मचारीले सेवाग्राहीमाथि हातपात ,तथा गाली गलौज गर्ने,कर्मचारी फाँटमा नबस्ने लगायतको गुनासो आइरहेकोले सत्य तथ्यको लागि सीसी क्यामेरा राखेर गतिविधिलाई नियाली रहेको कार्यालयले जनाएको छ ।  कार्यकक्ष भित्र पसेर सेवाग्राहीले नक्सा चलाउने ,भीडभाड गरेर काममा बाधा पुर्याउने लगायतको समस्या सीसी क्यामेराले निश्तेज पारेको सर्वे एशोसिएशन झापाका अध्यक्ष सरोज कुमार विश्वकर्माले बताए । समाजको हेराइ नै नापी कार्यालय अनियमितता हुने कार्यालय भएको भन्ने मानशिक्ता हटाई यथार्थ बाहिर ल्याउन जरुरी भएकोले यो प्रविधि प्रभावकारी भएको उनले जनाए । सीसी क्यामेरा जडान भएपछि कार्यालयको काममा सुधार आएको उनले सुनाए ।

कर्मचारीको नियतनै खराब होकि सेवाग्राहीको आरोप हो भन्ने विषयलाई निश्कर्षमा पुग्न यस्तो प्रविधि सञ्चालनमा ल्याइएको प्रमुख नापी अधिकृत डिल्लीराज भण्डारीले बताए । कार्यालयका प्रत्येक बाह्रवटा कोठामा सीसी क्यामेरा राखिएको भण्डारीले जनाए । अनुमानित डेढलाखको लागतमा जडान गरीएको क्यामेराले कार्यालयको मुल गेटदेखि परिसर वरीपरि काम गरेको उनले जनाए । बाहिर फैलिएको हल्लाहलाई निश्कर्षमा पुग्न यो प्रविधिले सहयोग पुर्याउने उनको भनाई छ । केही महिना यता देखि कम्प्यूटरमा नक्साको तथ्याङ् लगाइसकेकोले नक्सामा कुनै समस्या नहुने र अब प्रत्येक कोठामा प्रतिव्यत्ति एक कम्प्यूटर एवम् पिन्टर उपलब्ध गराई हातले जग्गाको कित्ताकाट नगर्ने सम्मको व्यवस्था मिलाउन प्रविधि शुरु गर्न लागिएको उनले जनाए । कार्यालय प्रमुखको कार्यकक्षबाट सीसी क्यामेराको निगरानी हुने र गुनासा आएमा क्यामेराको माध्यमले पुष्टि गर्ने भएकोले प्रविधि प्रभावकारी भएको उनको भनाई छ । नयाँ भवनमा सर्न नपाउदा समस्या भवन निर्माण कम्पनीले गुणस्तरहीन सामान प्रयोग गरेको भन्दै शहरी विकास तथा भवन डिभिजन इलामले नयाँ भवन पास नगरेपछि नापीको नयाँ भवनमा सर्न नपाएको भण्डारीले गुनासो गरे । जीर्ण भएको भाडाको घरमानै कार्यालय सञ्चालन गर्दै आएको उनले बताए । कार्यालय तयारी अवस्थामा रहेपनि ठेकदार र शहरी विकासको तालमेल नमिलेका कारण जीर्ण भवनमानै कार्यालय सञ्चालन गर्दा धेरै कठिनाई झेल्नु परेको उनले बताए । पटक पटक शहरी विकासलाई जानकारी गराएपनि वास्ता नगरेको उनको आरोप छ । जीर्ण भवनमा बसेर काम गर्ने वातावरण नभएको उनले बताए । ‘कति वेला छत खस्ने हो थाहा छैन, नक्साको जस्तो काम धेरै ध्यान दिएर गर्नु पर्ने भएकोले मनस्थिती छत तर्फनै जाने उनको भनाइ छ ।’  झापाका अधिकाङ्स सरकारी भवन ठेक्का लिएका शाह इन्जिीनीयरिङ्का सञ्चालक सञ्जीव शाहले शहरी विकासले अनेकौ बहानामा दुख दिएको आरोप लगाए । नापीमा सबै काम गुणस्तरयुक्त भएको शाहले दाबी गरे । काम सच्याउनु पर्ने भन्ने विषयमा कुनै जानकारी नआएको उनको भनाई छ ।

नापी कार्यालयको भवन गुणस्तरहीन भएकोले बिल पठाउन नसकिएको शहरी विकास तथा भवन डिभिजन फिल्ड कार्यालय भद्रपुरका इन्जीनियर सुवास बस्नेतले बताए । सम्झौता अनुसार काम नभएकोले काम गुणस्तरयुक्त नभएसम्म बिल पठाउन नसकिने उनको भनाई छ । नापी भवनको विषयमा जिल्ला प्रशासन र नापी कार्यालयलाई ठेकदारले सच्याउनु पर्ने काम उल्लेख गरेर केहीदिन अघि पत्र पठाइसकिएको उनले जानकारी दिए ।