चक्रघट्टि/शारिरिक रुपमा अशक्त भएपनि हरेक पक्षमा सफल राजकुमार ६ वर्षको कलिलो उमेरदेखि पोलियो रोगबाट ग्रसित भई ढाड नचल्ने समस्याका कारण हात र खुट्टा टेकेर हिडडुल गर्ने राजकुमार बस्नेत अहिले आफै आत्मनिर्भर बनी मासिक ६० हजार आम्दानी गर्छन ।

बि.स. २०३९ सालमा प्रकाशपुरको भगवती टोलमा जन्मेका बस्नेत ६ वर्षको उमेरमा ज्वरो आई झाडापखाला लागेपछि हात र खुट्टाको सहायताले हिँड्न थाले । २ बिघा जमिन बिक्रिगरेर औषधी उपचार गराउँदा पनि उनको उपचार सम्भव भएन ।  एस.एल.सी सम्मको अध्ययन गरेका बस्नेतलाई सधै साथीभाई र आफन्तको छिछि र दुरदुरको व्यवहारले शारीरिक तनावको साथै मानसीक तनाव पनि बढेन थाल्यो । एस.एल.सी दिएको ७ दिनका दिन आमाको बाकसबाट ५ सय निकालेर घरमा कसैलाई थाहै नदिइकन उनी घरबाट बाहिरिए । राजविराज,पुनौरी बोडर हुदै दिल्ली पुगेर पञ्जाव,कलकत्ता, मध्य प्रदेश घुमेर पुन नेपालगन्ज हुदै जनकपुरबाट १ महिना १७ दिनका दिन आफ्नो घर प्रकाशपुर आइपुगेका थिए । आमाको बाकसबाट निकालेर लगेको ५ सय फर्किदा उनको साथमै थियो । बसमा आरक्षण सिट र अन्य व्यक्तिले खानको व्यवस्था गरीदिएकाले आफ्नो खर्च गर्नुपरेन । घुम्न जाने क्रममा उनले आफै जस्ता अशक्त कुन अवस्थामा रहेका छन् भनी ठाउँठाउँमा पुगेर खोजी गरे । आफुजस्ता अशक्तहरुले पनि सबल जसरी नै काम गरेको देखेर आत्मबल र हिम्मत बढ्यो ।

आफैले केही गर्नु पर्छ ,लाचार भएर बस्नुहुदैन भन्ने लाग्यो । अब केही गर्छु ,आत्मनिर्भर बन्छु भन्ने आत्मविश्वासका साथ धरानमा ३ बर्ष घरेलुमा काम गरे । छालाको जुत्ता ज्याकेट बनाउने ,वेतवाँसको झोलुङगो , आरमचियर (कुर्सी) ,अगरबत्ती ,थुप्पा बनाउने लगायतको काम केही वर्ष गरी जिविको पार्जन गरे । ८ वर्ष सहकारी संस्थामा पनि काम गरे । विगत ४ वर्षदेखि प्रकाशपुरमा सिटि सफारी कुदाइरहेका राजकुमार बस्नेत २ वटा कृषि सहकारीमा पनि काम गर्छन । विगत १ वर्षदेखि प्रकाशपुरको डोभर इङलिस बोडिङ स्कुलका विद्यार्थीलाई सिटि सफारीमा बिहान र बेलुका विद्यालयमा पुर्याउने ल्याउने काम गरे बापत मासिक १८ हजार तलब बुझछन् । अन्य समयमा सफारी कुदाए बापत दैनिक ८ सय कमाई हुने बस्नेत बताउछन् । २ वटा कृषि सहकारीमा काम गरे बापत मासिक १० हजार कमाई गर्छन ।  ५ जनाको परिवार रहेको राजकुमारले १ छोरीलाई काठमाडौँमा १२ कक्षामा पढाइरहेका छन् । सम्पुर्ण खर्च कटाएर मासिक ३५ हजार बचत गर्न सफल रहेका बस्नेतले झुम्कामा ८ धुर जमिन पनि किनेका छन् ।

राजकुमार भन्छन् जिवन संघर्ष हो । जीवनमा कहिल्यै हार खानु हुदैन ।हिम्मत आँट र आत्मविश्वास भएमा सफलता हासिल गर्न सकिन्छ ।