बेलबारी । मोरङ बेलबारी नगरपालिका वडा नं. २ लालभित्तीका सन्तबहादुर लिम्बूको मानसिक सन्तुलन गुमेको झण्डै १५ वर्ष भयो । उनी लालभित्तीको चोकमा, बाटोमा कैंयौ पटक फोहोरी अवस्थामा ओहोर दोहोर गरेता पनि उनको बारेमा कसैले चासो चिन्ता राखेनन् ।

सफा सडकमा फोहोर अवस्थामा रहेको सन्तबहादुरलाई नजिकबाट भने पूर्व सांसद हर्कमान तामाङले नियाली रहेका थिए । उनले धेरै मानिसहरुलाई उनको सरसफाई र स्वास्थ्यको बिषयमा केहि काम गरौं भनेर अनुरोध गरे । तर मानसिक सन्तुलन गुमाएका मान्छेको भर हुँदैन ढुंगाले हान्छ । थप समस्या हुन्छ भनेर तामाङको कुरामा खासै चासो देखाएनन् ।

पछिल्लो समयमा पूर्व सांसद तामाङको अनुरोध बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य खिनादेवी थापालाई भने ठिक लाग्यो । पूर्व सांसद तामाङको सल्लाहमा खिना थापाले स्थानीय सहयोगी संस्थाहरु मायालु हातहरु र हेल्पिङ हेण्डस्का टिम संग सल्लाह गरे । त्यसैगरी प्रवासमा रहेका लालभित्ती युवा समुह कतारका टिम संग पनि सरसल्लाह गरिन् ।

प्रवासमा रहने युवा समुहका टिमले आर्थिक सहयोग गर्ने वचन बद्धता गरेपछि सन्तबहादुरलाई विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नोवेल अस्पतालमा उपचार गएका छन् । सन्तबहादुरको सरसफाईमा मायालु हातहरु र हेल्पिङ हेण्ड्सका युवाहरु लागि परेको थापाले बताएकी छिन् ।

हिलो मैलो अवस्थामा लोहोन्द्रा पुलमुनीमा बस्दै आएका सन्तबहादुरको उपचार पछि सामान्य रुपमा परिवार संग सम्वाद गर्ने भएका छन् । उनलाई करिब एक महिना सम्म अस्पतालमा राखेर सहयोगी संस्थाले उपचारको खर्च जुटाएका थिए । उनको उपचारका लागि प्रवासबाट १ लाख ६६ हजार ५ सय १ रुपैया संकलन भएको थियो ।

उनको उपचार खर्च कटाएर बचेको रकम सन्तबहादुरकी छोरी निशा लिम्बूको नाममा खाता खोलेर राख्ने सहयोगी संस्थाहरुले पत्रकार सम्मेलन गरि जनाएका छन् । सहयोगी संस्थाहरुले सन्तबहादुरको उपचार पश्चात मंगलबार उनका परिवारलाई बुझाएका छन् ।

ताप्लेजुङबाट श्रीमती सहित लालभित्तीमा आएर आफ्नो दाजुको घरमा बस्दै आएका सन्तबहादुरको एकाएक मानसिक सन्तुलन गुमेपछि उनलाई श्रीमतीले पनि छाडेर गएको स्थानीयहरु बताउँछन् । उनका छोरी भने सन्तबहादुरको दाजुको मै आश्रय लिएर बस्दै आएका थिए ।

मानसिक सन्तुलन गुमेपछि सन्तबहादुर सडकमा फालिएको फोहोर खादै , सुँगुरको चारो लगायतको फोहोर खाँदै हिडेका थिए । सहयोगी संस्थाहरुको पहलमा उपचार भएपछि अहिले आफै ब्रस गर्ने, नुहाई धुवाई गर्ने भएका छन् । अहिले सामान्य मान्छे जस्तै हिडडुल गर्ने भएका छन् सन्तबहादुर ।