इलाम । आर्थिक वर्ष २०७४/०७५ मा इलाममा राहदानी बनाउने कुल संख्या चार हजार नौ सय ९५ रहेको छ भने सिफारिस भएर काठमाडौँ जानेको संख्या १५ सय चार रहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार यस वर्ष जेठ मसान्त सम्मको तथ्यांक अनुसार राहदानीबाट कुल दुइ करोड ४२ लाख ५२ हजार पाँच सय रुपैँया राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्षमा जिल्लाबाट राहधानी बनाउनेको संख्या पाँच हजार ७४ रहेको थियो । जसमा सिफारिस लिई काठमाडौँ जाने संख्या १३ सय ६० रहेको थियो ।

यसवर्ष जिल्ला मार्फत राहदानी बनाउनेको ७९ संख्या कम छ भने सिफारिस लिई काठमाडौँ जानेको संख्यामा एक सय ४४ ले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ मा राहदानी बनाउने संख्या पुरुष ७८.०६ प्रतिशत रहेको थियो भने महिला २१.९४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७४ /०७५ मा भने महिलाको संख्या वृद्धि भएको तथ्यांकमा उल्लेख छ । कुलमध्ये पुरुष ७० र महिला ३० प्रतिशत रहेकाले तथ्यांकका अनुसार वर्षेनी राहदानी बनाउने महिलाहरुको संख्या वृद्धि भइरहेको छ ।

राहदानी बनाउनेमध्ये अधिकाशं युवाहरु वैदेशिक रोजगारीका निमित्त मलेसिया,कतार,दुबै,साउदीअरब लगायतका मुलुक जाने जाने गरेका छन् भने केही मात्रामा अमेरिका,अस्ट्रेलिया,जापान जाने गरेको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलले बताए ।