पाँचथर । समालोचक देवी पन्थीको नवीनतम कृति ‘नेपाली गजलको परिवर्तित स्वरुप’ को मंगलबार फिदिममा चर्चा गरिएको छ । किरात याक्थुङ चुम्लुङ पाँचथर र पाँचथर गजल मञ्चले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सिसेक्पा तङनाम (साउने सक्रान्ति पर्व) को शुभकामना आदान(प्रदान सँगै पुस्तकको चर्चा गरिएको हो ।

पुस्तकमाथि बोल्दै साहित्यकार प्रेम ओझाले नयाँ गजल सर्जकका लागि कृति पठनयोग्य रहेको बताए । समालोचक राज दिलाञ्जलीले पन्थीको कृति राम्रो भए पनि यस अघिका कृतिहरुको तुलनामा कमजोर रहेको टिप्पणी गरे । कार्यक्रममा कविहरु शान्ता गौतम, सिरेन वान्तावा, सेसेफुङ शेर्मा, जंग योञ्जन, धनपति ढुंगेल, चन्द्रमणी भट्टराई, विवश बेनाम, शंकर आत्मा, सुनिता केरुङ, सुनिता खजुम र सायालुङ नाम्सामल रचना वाचन गर्दै सिसेक्पा तङनामको शुभकामना दिएका थिए । कार्यक्रम किरात याक्थुङ चुम्लुङ पाँचथरका सचिव सुरेन शिशिर केरुको अध्यक्षतामा सम्पन्न भएको पाँचथर गजल मञ्चका अध्यक्ष दीपक खनालले बताए ।