बिर्तामोड । चन्द्रगढीको शिब निर्माण सेवाले उत्पादन गरेको ‘प्रिमिक्स कार्पेटिङ’ गुणस्तरहीन भएको प्रमाणित भएको छ । त्यो उद्योगबाट उत्पादन भएको सडक कालोपत्रे गर्ने सामग्री (प्रिमिक्स कार्पेटिङ) कामै नलाग्ने अवस्थाको प्रमाणित भएको हो । उद्योगबाट उत्पादित सामग्री प्रयोग गरेर निर्माण भएका झापाका सडक बनाइनसक्दै उक्किन थालेपछि क्षेत्र नम्बर ४ का सांसद लालप्रसाद साँवाले केन्द्रिय परिक्षण प्रयोगशालामा परिक्षण गर्न लगाएका थिए । उनले गुणस्तरहीन सामग्री प्रयोग गरेर सडक निर्माण गरेको भनेर सदनमा कुरा पनि उठाएका थिए । परिक्षणका क्रममा त्यहाँ उत्पादित सामग्रीमा २ दशमलब ३४ प्रतिशत अलकत्राको मात्रा भेटिएको थियो । केन्द्रिय सडक परिक्षण प्रयोगशालाको रिपोर्टमा अलकत्राको मात्रा अति कम भएका कारण संरचना कमजोर बनेको उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता गजेन्द्र ताम्लीङले सडक निर्माण गर्ने सामग्रीमा अलकत्राको मात्र ५ दशमलब ६ प्रतिशत हुनुपर्नेमा ५० प्रतिशतमात्र अलकत्रा राखेर उद्योगले ठगी गरिरहेको बताए । उनले झापाका प्रमुख जिल्ला इन्जिनियर आफै बोक्सी आँफै धामी भएर सडकको हुर्मत लिइरहेको आरोप लगाए । गुणस्तरहीन सडक निर्माण गर्न सहयोग गर्ने श्रेष्ठलाई कारवाहीको लागि उनले माग समेत गरेका छन् । स्थानीय तहका जनप्रतिनिधी तथा सरकारी कर्मचारी समेत त्यो उद्योगको सञ्चालक भएको बुझिएको छ । झापामा प्रिमिक्स कार्पेटिङ उत्पादन गर्नका लागि कनकाइ नगरपालिकामा एउटा मात्र उद्योग छ । एकाधिकारका कारण उद्योगले गुणस्तरहीन निर्माण सामग्री उत्पादन गरेको हो । एकजना निर्माण ब्यवसायीले पहिले ८ हजार ५ सय रुपैंयाँ प्रतिघनमिटर उपलब्ध हुने सामग्रीको अहिले १० देखि ११ हजारसम्म असुल्न थालेको बताएका छन् । ५ दशमलब ६ प्रतिशत अलकत्रा आवश्यक पर्नेमा २ दशमलब ३४ प्रतिशत मात्र प्रयोग गरेर उद्योग सञ्चालन गर्दा एकदिनमा १० लाख मुल्यको अलकत्रा बचत गर्न सक्ने जानकारहरुको भनाइ छ । ‘त्यसरी कम अलकत्रा प्रयोग गर्दा सडक गुणस्तरहीन हुने हो, एकजना निर्माण ब्यवसायीले भने(‘छोटो समयमा धेरै पैसा कमाउन उद्योग सञ्चालकले यस्तो गरेको हो ।’ नाफा त छँदैछ, त्यसमाथी पनि चोरी गर्न थालेका छन्(उनले भने(‘यसरी राज्य लुटेर पैसा कमाउनेलाई कडा कारवाही गरिनुपर्छ ।’ अर्जुनधारा(जयपुर सडक खण्डमा सडक पुरै भत्किएपछि माथिबाट ‘सिल्कोट’ गरेर आँखामा छारो हाल्ने काम मात्र गरिएको निर्माण ब्यवसायीको आरोप रहेको छ ।

यसरी एकाधिकार कायम गरियो कनकाई नगरपालिका १ मा लगभग ६ महिना अघि त्यो सँगै शान्ति निर्माण सेवाको अर्काे प्लाण्ट पनि स्थापना भएको थियो । तर, शिव निर्माण सेवाका सञ्चालकको उक्साहटमा लागेर वातारबरण प्रदुषण गरेको भन्दै शान्ति निर्माण सेवाको प्लाण्टलाई त्यहाँबाट हटाइयो । एउटा मात्र प्लाण्ट भएपछि झापाको सडक निर्माणमा शिव निर्माण सेवाले एकाधिकार कायम गरेको हो । शिव निर्माण सेवाको एकाधिकारका लागि कनकाइ नगरपालिकाका मेयर राजेन्द्र पोखरेल, झापाका प्रमुख जिल्ला इन्जिनियर शुसिल श्रेष्ठले मुख्य भुमिका खेलेको बिस्थापित प्लाण्टका सञ्चालक फडिन्द्र तिम्सिनाले आरोप लगाए । श्रेष्ठले अन्य उद्योगको उ्रत्पादन ल्याएर भएको निर्माणमा बील पास गर्न आनाकानी गर्ने गरेको आरोप निर्माण ब्यवसायीको छ ।

रिपोर्ट मान्दिनः सञ्चालक शिब निर्माण सेवाका सञ्चालक उपेन्द्र सिंहले केन्द्रिय सडक प्रयोगशालाको रिपोर्ट पत्याउन नसकिने बताए । उनले २ दशमलब ३४ प्रतिशत अलकत्रा मिसाएको सामग्री कालो नदेखिने दावी गरे । ‘रिपोर्ट कहाँको, कुन सामग्रीको हो, त्यो मलाइ था छैन, सिंहले भने(‘हाम्रो उद्योगको रिपोर्ट त्यो होइन, इटहरीमा जाँच गराउँदा गुणस्तरीय हुने र काठमाण्डौमा गराउँदा गुणस्तरहीन नहुने भन्ने हुँदैन ।’ उनले उद्योगको बदनाम गर्न केही ब्यक्ति लागेको आरोप समेत लगाए ।

कारवाही हुँदैनः श्रेष्ठ झापाका प्रमुख जिल्ला इन्जिनियर शुसिल श्रेष्ठले आफ्नो अनुपस्थितीमा संकलन गरिएको नमुना परिक्षणको रिपोर्ट स्विकार नगर्ने बताए । उनले यसअघि ब्लाष्टसँग प्रतिक्रिया दिंदै गुणस्तरहीन निर्माण गरेको पाइए कारवाही गर्ने बताएका थिए । तर, गुणस्तरहीन भएको प्रमाणित भएपछि उनले आफ्नो अनुपस्थितीमा नमुना संकलन गरिएको भनेर पन्छिन खोजेका छन् । ‘के रिपोर्ट आयो म जान्दिन, स्याम्पल लगेको मलाइ नै था छैन, अर्काे कुरा चारवटा सडकको एउटै रिपोर्ट आउँदैन ।’ त्यस उद्योगबाट उत्पादित सामग्रीको प्रयोग गरेर झापाको अर्जुनधारा-हात्तिकिल्ला-जयपुर, धरमपुर-पारावारी, लक्ष्मीपुर र मेचीनगर नगरपालिकाको केही सडकमा कालोपत्रे गरिएको थियो ।

उद्योगमा पालैपालो ताला गुणस्तरहीन सामग्री उत्पादन गरेको भन्दै युवा संघले असार २२ गते उद्योगमा तालाबन्धी गरेको थियो । गुणस्तर परिक्षणको लागि सम्बन्धित निकायले सडकमा रहेको सामग्रीको नमुना संकलन गरेपछि ताला खोलिएको युवा संघका केन्द्रिय सदस्य पर्वत भण्डारीले बताए । युवा संघले ६ दिनपछि उद्योगमा लगाएको ताला खोलेको थियो । उनले इटहरी र काठमाण्डौबाट आएको फरक फरक रिपोर्ट छानविन गरी कारवाही गर्न माग समेत गरेका छन् । युवा संघका केही सदस्यले सुटुक्क ताला खोलेपछि त्यहाँभित्र खटपट शुरु भएको बुझिएको छ । युवा संघले ताला खोले लगत्तै वाइसिएलले त्यो उद्योगमा ताला लगाएको छ ।

वाइसिएलले गुणस्तरहीन उत्पादन गरेको भन्दै उद्योगमा ताला लगाएको हो । उद्योगबाट उत्पादित सामग्री प्रयोग गरेर सडक निर्माण गर्दा कमसल सडक बनेको भन्दै तालाबन्धी गरिएको वाइसिएल नेपालका जिल्ला उपाध्यक्ष कुमार आचार्यले बताए । उनले गुणस्तरहीन निर्माण सामग्री उत्पादन गर्ने उद्योगलाई कडा कारववाही गर्न माग समेत गरेका छन् । गुणस्तरहीन सामग्री उत्पादनलाई प्रोत्साहन दिने इन्जिनियर श्रेष्ठलाई कडा कारवाही गर्न उनले माग गरेका छन् ।