तेह्रथुम । जिल्लाका स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवाप्रति नागरिक सन्तुष्ट छैनन् । जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा समृद्ध अभियानका लागि तेह्रथुमले गरेको विभिन्न १७ वटा स्वास्थ्य चौकीको सामाजिक परीक्षक प्रतिवेदनअनुसार ती स्वास्थ्य चौकीले धेरै पक्षमा सुधार गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सार्वजनिक गरेको हो । जिल्लामा रहेका बसन्तपुर र सक्रान्ति स्वास्थ्य केन्द्र, चुहानडाँडा, छातेढुङ्गा, खाम्लालुङ्ग, सम्दु, पोक्लावाङ्ग, ओयाक्जुङ्ग, पौठाक, मोराहाङ्ग, आम्वुङ्ग, सोल्मा, हमरजुङ्ग, फाक्चामारा, ओख्रे लगायतका स्वास्थ्य सस्थामा अध्ययन गरिएको थियो । ति मध्ये धेरै स्वास्थ्य सस्थामा सुधार गर्नुपर्ने पाईएको सस्थाका निर्देशक लक्ष्मीनारायण मिश्रले बताए । ‘स्थलगत अध्ययन, प्रश्नावली, सामुहिक छलफल लागायतका आधारमा तयार पारेको प्रतिवेदनमा गत वर्षको परीक्षणमा देखिएका त्रुटि सुधार गर्न दिएको सुझाव समेत कार्यान्वयन भएको देखिएन ।’ मिश्रले भने । यस वर्षको अध्ययनमा स्वास्थ्य चौकीको आवस्था पनि सामान्य देखि जटिल सम्मका पक्षमा समेत सुधार गर्नुे पर्ने देखिएको छ । परीक्षणको क्रममा गत वर्षका प्रतिवद्धता जनाएका स्वास्थ्य सस्थाले यस वर्षमा पनि पुरा नगरेको, नागरिक वडापत्र नभएको, खानेपानीको अभाव, वर्थिङ सेन्टर सञ्चालन भए पनि प्रभावकारी नभएको, सुझाव पेटिका नराखिएको, ब्यवस्थापन समितिको बैठक नियमित नवसेको, निशुल्क वितरण हुने ३८ प्रकारका औषधिमा आधापनि नभएको, विहान १० बजे देखि ५ बजे सम्म सञ्चालन हुनुपर्नेमा २ बजे नै बन्द गर्ने गरिएको लगायतका त्रुटि पाईएको सस्थाका अध्यक्ष महेन्द्र काफ्लेले बताए ।