बेलबारी । सामजिक बिकास मन्त्री जिवन घिमिरेले कागजी रुपमा बिद्यार्थी संख्या देखाएर विद्यालय संचालन गर्ने समय सकिएको बताउदै अब बिद्यालय अनुगमन कार्यलाई तिब्रता दिने बताएका छन् । सोमवार बेलबारी नगरपालिकाले आयोजना गरेको बिद्यालय तथा शिक्षक सम्मान कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले बिद्यालय गाभीने मर्च हुने त्रासले विद्यार्थीको संख्या कागजी रुपमा बढाउने गरेको बताएका छन् । शैक्षिक गुणस्तरको प्रश्न अहिले निकै पेचिलो पनि बनिरहेको हुँदा प्रदेश तथा स्थानिय सरकारले अनुगमन गरेर फर्जी विद्यार्थी अभिलेख राख्ने विद्यालयलाई कारवाही गर्ने र गुणस्तरीय शिक्षा प्रदान गरि विद्यार्थी संख्या बढाउने विद्यालयलाई सम्मान गर्ने मन्त्री घिमिले समेत बताए । सम्मान तथा दण्डित गर्ने अधिकार स्थानीय तथा प्रदेश सरकारलाई छ ,राम्रो काम गर्नेलाई सम्मान गर्नु होस् , नराम्रो काम गर्नेलाई ठाउको ठाउ कारवाही गर्न उनले निर्देशन दिए । विद्यालयले शिक्षण सिकाईमा गरेको उपल्लब्धी मापन तथा मुल्यांकन गरी नगरपालिकाले शिक्षक तथा बिद्यार्थीलाई समेत कार्यक्रममा सम्मान गरेको छ । कार्यक्रममा दुईवटा बिद्यालय तथा बिषयगत १० जना शिक्षकलाई नगरपालिकाले सम्मान गरेको छ । सम्मान हुनेमा बेलबारी ११ को लक्ष्मी मा.वि र वडा नं. ७ का रामजानकी आधारभूत विद्यालय रहेको छ । त्यसैगरी शिक्षकहरुमा मेघराज घिमिरे, टंकप्रसाद ओझा,छगनलाल तिम्सीना, संजीबबहादुर कार्की धर्मकुमारी कालाखेति रहेका छन् । त्यसैगरी अनिता तिम्सिना, माया दर्जी,अजम्बर विश्वकर्मा लगायत १० जना बिषय गत शिक्षकहरु रहेका छन् । उनीहरुलाई १० हजार नगद, कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । पुरस्कृत हुने विद्यालयलाई नगद १ लाख सहित कदरपत्रले सम्मान गरेको छ । आर्थिक वर्ष ०७४÷०७५ मा शैक्षिक गुणस्तर बढाउन नगरपालिकाले बिभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना बनाएको छ । नगरपालिकाले शिक्षक सम्मान, बिद्युतीय हाजीरी लगायतका कार्यक्रम गरेको बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुबेदीले बताए । सामुदायिक बिद्यलायमा शैक्षिक गुणस्तर बढाउनका लागि नगरपालिकाले विशेष कार्यक्रमहरु संचालन गर्ने नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए ।