झापाको भद्रपुर नगरपालिका, हल्दीबारी गाउँपालिका र भारतको विहार स्थित किसनगन्ज जिल्लाको सीमासँग जोडिएको समुन्द्र सतहबाट ५८ मीटर उचाईमा रहेको नेपालकै सबैभन्दा होचो ठाउँ कचनकवलले परिचित छ ।

भद्रपुर । चन्द्रगढीबाट अन्दाजी २५ किलोमीटर दक्षिणमा रहेको साविक केचना ,घेराबारी, पथरिया , पाठामारी , बनियानी र बालुवाडी गरी ६ वटा गाविस मिलेर कचनकवल गाउँपालिका निर्माण भएको छ । नेपालकै होचो स्थानमा रहेको यो गाउँपालिकामा कसैको ध्यान नपुगेकोले अन्य क्षेत्रको तुलनामा विकासको दृष्टिकोणले पछि परेको छ । शिक्षा, स्वास्थ्य ,कृषि लगायतका क्षेत्रमा कमजोर रहेको यो गाउँपालिकामा हालसम्म पक्की सडक छैन ।मेची बिरिङ्ले बर्षेनी कटान तथा डुवान गर्दै आएको छ ।

 स्थानीय तहको निर्वाचन सम्पन्न भएको पनि एकबर्ष पुरा भइसकेको छ । अब यो क्षेत्रले कस्तो काचुली फेर्ने हो भन्ने विषयमा त्यहाँका जनता अन्यौलमा परिरहेको अबस्थामा निर्वाचित भएर आएका गाउँपालिका अध्यक्ष अन्जार आलमसँग गरिएको कुराकानी :-

 

 निर्वाचित भएर आइसकेपछि के के विषलाई प्राथमिक्तामा राख्नु भएको छ ?

नेपालकै होचो भागमा हामी बसेका छाैं । बिकासको चौतर्फीमा यो क्षेत्र पछि परेको छ । शिक्षा,स्वास्थ्य,कृषिमा झनै पछि परेको छ भने यातायातको विषयमा हालसम्म पक्की सडक पुगेको छैन । पर्यटनको हिसाबमा नेपालकै होचो भाग परेकोले सबैलाई ध्यानमा राखि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर नमुना गाउँपालिका बनाउने उद्देश्य लिएको छु । साथै पर्यटकीय क्षेत्र कचनकवलको दशबर्षे गुरुयोजना बनिसकेको जानकारी गराउँछु । कार्यभार सम्हालीसकेपछि साढेँ ६ हजार घरमा सौचालय निर्माण गराएको छु । अब केही दिन पछि खुल्ला दिसामुक्त गाउँपालिका घोषण गर्नेछु ।

बजेट योजना तथा तर्जुमामा कुन विषयलाई महत्व दिनु भएको छ ?

चालुबर्षको बजेट सडकमानै बढी लगाएको छु । निर्वाचित भएर आउदा एम्बुलेन्ससम्म जाननसकेको स्थिती देखिएकोले हाल गाउँपालिकाभरी एम्बुलेन्स जानसक्ने गरीको बाटो निर्माण गराएको छु । पहिलो सडक, दोस्रो शिक्षा र तेस्रो मा स्वास्थ्यलाई बढी महत्व दिएर बजेट तयार पारेको छु । प्राथमिक्ता हेरेर बजेट विनियोजन गरेको छु । नीति तथा कार्यक्रम भइसकेकोले ०७५/७६को लागि २७ करोडको बजेट तयार पारिसकेकोले आर्थिक बर्षको पहिलो हप्ताभित्र सार्वजानिक गर्नेछु ।

एक बर्षको उपलब्धी के के छन् ?

यो सबै प्रकारले पछि परेको गाउँपालिका हो । यहाँ कुनै तथ्याङ् थिएन । आउने बित्तिकै तथ्याङ् सङ्कलन गरेर पिछडिएको समुदाय, विपन्न वर्गको हितमा कार्ययोजना बनाएको छु । कचनकवल पर्यटकीय स्थललाइ योजना बनाएर बजेट छुट्याएको छु । एकगाउँबाट अर्को गाउँमा जाननसकिरहेको अवस्थामा पुल पुलेसा राखेर गाउँजोडने योजना बनाएको छु । बर्षेनी डुवानमा पर्ने यो गाउँपालिकामा विपद् व्यवस्थापन लागायतका पूर्व तयारी गरिसकेका छौं । उद्धारको लागि एउटा डुङ्गाको समेत व्यवस्था गरिसकेका छौ । यसको लागि बजेट पनि छुट्याएको छु ।

निर्वाचनको समयमा जनतासँग गरेका बाचा पुरा गर्नु भयो त ?

घरदैलोमा जादै गर्दा गाउँपालिका सबै क्षेत्रमा अस्तव्यस्त भएको थियो । सौचालय, शिक्षा, स्वास्थ्य सडक लगायतको बिषयलाई म सफल बनाउने छु भनेर बिश्वास दिलाएको थिए । सोही अनुरुप पूर्ण खोप घोषणा गराइसकेको छु भने खुला दिसामुक्त क्षेत्रपनि केहीदिनमा घोषणा गर्नेछु । मेचीनदीमा तटबन्धन, बाढी छिर्ने होचो भागमा कच्ची तटबन्धन शुरु गरेको छु । जनतालाई डुवानबाट बचाउन राष्ट्रिय स्तरमा योजना माग गरेका छौं । हात्ती आतङ्को समसया भएकोले तत्कालको लागि पराकिलो नाला बनाएर हात्ती नियन्त्रणको लागि प्रयास गरेको छु । नियन्त्रणको लागि गुरु योजना तयार पारेर नेपाल सरकारसँग माग गरेपछि यो बर्ष २ करोड रकम विनियोजन भएको छ ।

नेपालकै होचो स्थान कचनकवललाई कसरी हेर्नु भएको छ ?

यो क्षेत्र पर्यटकको लागि अतिनै महत्वपूर्ण भएकोले पर्यटक भित्र्याउनका लागी पर्यटकसँग गरिने व्यवहारको विषयमा ज्ञान नभएकोले स्थानीय युवाहरुलाइ तालिम दिएर पुनः आउने वातावरण सिर्जनाको लागि व्यवस्था गरेको छु । नौ विगाहामा फैलिएका ठुला –ठुला तलाउ भएकोले नाउ सञ्चालनमा ल्याउने र वरीपरी पार्क बनाउने तयारी गरिरहेको छौं । स्थानीय युवालाई नै पचिालन गरेर रोजगारीको भरपुर आनन्द दिलाउने पक्षमा छु । विभिन्न स्थानमा पर्यटक लोभ्याउने प्रकारका पार्क निर्माण गराएर बढी भन्दा बढी पर्यटक भित्र्याउने कुरामा अगाडि बढेको छु ।

धान सुपरजोनको क्षेत्रमा इँटा उद्योग पनि सञ्चालनमा आइरहेका छन् अब यस्को व्यवस्थापन कसरी गर्नुहुन्छ ?

सुपरजोनले गरेको कामका कारण यो क्षेत्रका किसानहरु कृषिमा उत्साहित भएका छन् । धेरै क्षेत्रमा सिंचाइको व्यवस्था पुर्याएको अवस्थामा गाउँपालिकाले पनि कृषि क्षेत्रमा लगानी बढाएको छ । कृषिमा आधुनिकिकरणसँगै आर्गेनिक खेतीतर्फ लैजाने सोच बनाएका छौं । यो क्षेत्रमा सञ्चालनमा रहेका इँटा उद्योगलाई आधुनिक तर्फ लगेर अब नयाँ इँटा उद्योगलाई भने स्वीकृत नदिइने योजना बनाएको छु । जग्गा बाजो नराख्ने अवधारणा अघि सारेको छु ।

अन्त्यमा केही भनाई छ?

ब्लाष्टलाई धेरै धेरै धन्यबाद दिन्छु र कचनकवलवासीलाई केही कुरा भन्न चाहान्छु । यो भारतको सीमासँग जोडिएर भारतमा मुलसडक पक्की भएपनि यो गाउँपालिकामा कुनै पक्की सडक छैन । यो क्षेत्रमा अतिनै गरिब, आदीवासी, मुश्लिमसँगै आदीवासीको बढी बाहुल्यता रहेको छ । हालसम्म ४० हजारको हाराहारीमा जनसङ्ख्या छ । चेतना नभएका धेरै नागरिकहरु बसोवास गरिरहेका छन् । मेची र बिरिङ्को कटान भएका कारण जबसम्म यी नदीलाइ दिर्घकालिन तटबन्धन गरिदैन तबसम्म यो क्षेत्रमा बिकासको सम्भाव्यता भएपनि माथि उठ्ननसक्ने निश्चित छ । चारकोसे जङ्गल पनि यहीँ परेकोले यो गाउँपालिकामा समृद्धि हुने प्रवल सम्भावना रहेको छ । जनप्रतिनिधिले मात्र केही नहुने भएकोले विकासमा सबैको सहभागिता अनिवार्य रहेकोले एकजुट हुन गाउँबासीलाई अनुरोध गर्दछु । आएको बजेटलाइ सहीसदुपयोग गर्नु प्रमुख रहेको जानकारी गराउछु । नेपालकै होचो भाग कचनकवलको मात्र नभएर नेपाल सरकारको सम्पत्ती भएकोले यसको संरक्षण र सम्बद्र्धन गर्न सरकार समक्ष अनुरोध गर्दछु ।