भद्रपुर । पाठ्य पुस्तक भन्दा व्यवहारिक शिक्षामा जोड दिने उद्देश्यले ब्रिटिस काउन्सिलसित सहकार्य गरी सुरु गरिएको शिक्षण प्रविधि विद्यार्थी केन्द्रित हुने गरेको पाइएको छ । काउन्सिलले सन् २०१२ बाट नेपालका विद्यालयलाई अन्र्तराष्ट्रिय शिक्षणसित समन्वय गरी विद्यार्थी केन्द्रित बनाउने अभियान सुरु गरेको तेस्रो चरणसम्म आउँदा सवल भएको सहभागी विद्यालयले जनाएका छन् । प्रविधिको प्रयोग गरिरहेको भद्रपुर स्थित प्रज्ञा एकाडमीले सन् २०१८ मा उत्कृष्ट विद्यालय सम्मान प्राप्त गरेपछि यो प्रभावकारी भएको पाइएको छ । काउन्सिलको प्राविधिक सहयोग रहने यस पद्धतिमा सहभागी विद्यालयले प्रविधि मैत्री तथा बाल केन्द्रित शिक्षणमा जोड दिने हुँदा बाल बालिकाको सर्वाङ्गीण विकास हुने गरेको विद्यालयले जनाएका छन् । प्रविधिमा सिकाइ गर्ने विद्यार्थी अन्तर देशीय संस्कृति, सभ्यता पहिचान गर्न परियोजना कार्यमा निपूर्ण हुने गरेको अनुभव प्रिन्सिपल इशुभ पाण्डेले सुनाए । नेपालका संस्कार संस्कृति अन्य देशमा परिचित हुने, स्थानीय विषयले पाठ्यक्रमको रुप धारण गर्ने अवसर प्राप्त हुने हुँदा सवल नागरिक उत्पादनमा योगदान पुग्ने उनले विश्वास गरेका छन् । नेपाल भरीबाट ७७ वटा विद्यालयले कार्यक्रममा सहभागिताको निवेदन दिएकोमा ४२ वटाले मात्र परियोजना प्रतिवेदन बुझाएका थिए । जसमा १९ वटा विद्यालयले उत्कृष्ट हुन पाएकोमा झापाबाट भद्रपुरको प्रज्ञा एकाडमी र दमकको झापा मोड सफल भएको काउन्सिलका पूर्वाञ्चल कार्यक्रम संयोजक चूडामणि निरौलाले जानकारी दिए । कार्यक्रमको मूल उदेश्य विद्यालयमा हुने पाठ्यपुस्तकको बोझ घटाइ विद्यार्थी केन्द्रित शिक्षणका लागि एक कम्प्युटर एक शिक्षक प्रविधि लागू हुने वातावरण तयार गर्नु रहेको बताए । काउन्सिलकी कोअर्डिनेटर उर्वसी चौहान खड्काको ले कार्यक्रम लागू गर्न विद्यार्थीमा अतिरिक्त खर्च नलाग्ने तथा प्रविधिमैत्री स्थानीयकरणको पाठ्यक्रम विकासमा योगदान हुने उल्लेख गरिन् ।अबको शिक्षा प्रणाली आधुनिकता तर्फ लैजानु पर्ने भएकोले अन्य विद्यालयले पनि ध्यान दिनु पर्ने उनले जनाइन् ।