भद्रपुर । झापाको भद्रपुर नगरपालिका सूचना मैत्री हुन नसकेको जनप्रतिनिधिले नै बताएका छन् ।

प्रेस क्लब भद्रपुरको आयोजना तथा भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा बुधबार सम्पन्न स्थानीय तहका अधिकार सुशासन एवम् सूचनामा नागरिकको पहुँच विषयक कार्यक्रममा सहभागी वडा ध्यक्षहरुले सूचना मैत्री हुन नसकेको बताएका हुन् ।

नगर कार्यपालिका भित्रका कतिपय निर्णय वडाध्यक्षले लिपिवद्ध पाउन नसकेको, विषयगत कार्यालयका काम कार्वाही जानकारीमा नआउदा वडाबासीलाई चित्त बुझाउन अप्ठेरो परेको वडाध्यक्षहरुको गुनासो छ । गतिविधिको बारेमा पत्रकारलाइ जानकारी गराउन समस्या भएकोले नगरले सबै वडा अध्यक्षलाई ध्यान दिनु पर्ने उनीहरुले बताए ।

कार्यक्रममा  वरिष्ठ पत्रकार तथा पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष तारानाथ दाहालले सूचनामा नागरिकको पहुँच लगायत सूचनाको हक सम्बन्धि प्रस्तुती गर्दै प्रशिक्षण दिएका थिए । त्यसैगरी जिल्ला समन्वय समितिका प्रशासकीय अधिकृत जय तिम्सेनाले  स्थानीय तहका अधिकार र सुशासनको विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए ।

 प्रेस क्लब भद्रपुरका अध्यक्ष गोबिन्दचन्द्र क्षेत्रीको अध्यक्षता तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले जनप्रतिनिधिले गरेका कार्यहरुको बारेमा सार्वजानिक गरेर समाजको अन्यौलता हटाउनु पर्नेमा जोड दिए । नगरले दिन हुने खाले सूचना पत्रकारलाई दिएर दुवैपक्षको सहकार्य अनिवार्य रहेको बताएका थिए ।

कार्यक्रममा वडा अध्यक्षले राखेका जिज्ञासा तथा सुझावलाई प्रशिक्षकले  सहजीकरण गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विषगत  शाखा प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो । क्लबका सल्लाहकार चिन्तामणि दाहालले स्वगत गरेको कार्यक्रमको औचित्यमाथि अध्यक्ष क्षेत्रीले प्रष्ट पारेका थिए भने क्लबका महासचिव उत्तम नेपालले कार्यक्रम सञ्चालन गरेका थिए ।