मधुमल्ला । गत २०७४ चैत्र २६ गते बेलुका मोरङको उर्लाबारी–४ विशाल टोलमा १६ बर्षे विशाल शर्मालाई मरणासन्न हुने गरी आक्रमण भयो । साथीको घरमा पुराणमा गएका शर्मालाई ज्यान मार्ने उद्देश्यले आक्रमण भएको थियो ।

शर्माको टाउको र शरिरमा गम्भिर चोट लागेको छ । उर्लाबारी–४ का कालुङ्गे भनिने सन्तोष लिम्बू, गोपीलाल तामाङ, दिनेश राजवंशी, विशाल लिम्बू, अमित राउत, दिवस निरौला, प्रिन्स भण्डारी, सुमन राई, पथरीशनिश्चरेका निखिल भन्ने नविन लिम्बूलगायत समूहले धारिलो हतियार र रडको प्रयोग गरी शर्मालाई मरणासन्न अवस्थामा पुर्याएका थिए ।

शर्मालाई बिना कारण उनीहरुले निर्ममतापूर्वक आक्रमण गरी गम्भिर घाइते बनाएको थिए । एक महिना न्यूरो हस्पिटल विराटनगरमा आईसियूमा राखेर शर्माको उपचार गरिएको र उपचारमा कुनै सहयोग नपाएको भन्दै शर्मा परिवार यतिबेला न्यायको खोजीमा भौतारिएको छ ।

शर्मा परिवारले बुधबार सञ्चार क्लब नेपालमा पत्रकार सम्मेलन गरी घटनाका दोषीलाई हदैसम्म कार्वाही गर्न माग गरेका छन् । पीडितको उपचारको क्रममा ९ लाख रुपैयाँभन्दा बढी खर्च भईसकेको र आर्थिक अभावका कारण उपचारमा समस्या भएको पीडितकी आमा रिनादेवी शर्माले गुनासो पोखिन् ।

छोराको उपचार गर्ने क्रममा परिवारको उठिबास हुन लागेको भन्दै उनले भावुक हुँदै भनिन्–‘हामीजस्ता गरिबले न्याय पाउँदैनन् ।’ उर्लाबारी–६ निवासी शर्माको हाल आर्थिक अभावको कारण उपचार गर्न सकिएको छैन ।

पीडितका आफन्त प्रेम शर्माले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताएका छन् । ज्यान मार्ने उद्देश्यले घटना भएकाले सरोकारवाला निकायले यस घटनालाई गम्भिर लिनु पर्ने उनको भनाई छ । उर्लाबारी वडा नं. ४ का वडाध्यक्ष लक्ष्मी धिमालसहित जनप्रतिनिधिको उपस्थितिमा पीडितको सम्पूर्ण उपचार खर्च पीडत परिवारले ब्यहोर्ने कागजातसमेत भएको पाइयो । तर, अहिलेसम्म पीडित अन्यायमा परिरहँदा ती जनप्रतिनिधि मौन छन् । उक्त घटनामा संलग्न दिवस निरौला, अमित राउत र दिनेश राजवंशी जिल्ला अदालत मोरङबाट ५०/५० हजार धरौटीमा छुटेका छन् भने उर्लाबारी–४ का कालुङ्गे भनिने सन्तोष लिम्बू, गोपीलाल तामाङ पुर्पक्ष थुनामा छन् । अन्य अहिलेसम्म फरार छन् । घटनामा दोषीहरु धरौटीमा छुट्न थालेपछि पीडित परिवार न्याय नपाउने हो की भन्ने चिन्तामा छ भने फरार रहेकाहरुको खोजीमा प्रहरीले चासो नदिएको शर्मा परिवारको आरोप छ ।