ताप्लेजुङ । जिल्लाको फुङलिङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७५/७६ का लागि ४९ करोड ८६ लाख ८ हजारको बजेट आइतबार पारित गरेको छ । संघबाट पाप्त हुने ४६ करोड २४ लाख ९२ हजार चार सय, प्रदेशबाट दुई करोड १६ लाख १४ हजार र फुङलिङ नगरपालिकाबाट १ करोड ४५ लाखको बजेट तेश्रो नगरसभाले पारित गरेको हो । बजेट सर्वसम्मतले पारित भएको नगरपालिका प्रमुख छत्रपती प्याकुरेलले बताए ।

नगरपालिकाले चालुतर्फ ३२ करोड ६७ लाख ४५ हजार चार सय र विकास (पुजीगत) तर्फ १७ करोड १८ लाख ६१ हजार रुपैंया विनियोजन गरेको छ । चालुतर्फ ६५.३५ प्रतिशत बजेट छुट्याउदा विकास तर्फ भने ३४.४७ प्रतिशत मात्रै छुट्याइएको हो । सामाजिक सुरक्षा भत्ता र सशर्त अनुदानको ठुलो रकम चालुतर्फ समावेस भएकाले बजेट बढ्न गएको नगरपालिकाले प्रष्ट्याएको छ । सामाजिक सुरक्षा भत्तामा ३ करोड ६९ लाख ३८ हजार चार सय रुपैंया राखिएको छ ।

नगरपालिकाले पदाधिकारीको सेवा सूविधामा १ करोड दुई लाख ७६ हजार रुपैंया छुट्याएको छ । कर्मचारीको पारिश्रमिकमा तीन करोड ६८ लाख ४८ हजार गरी पदाधिकारी र कर्मचारीको सुविधा तथा पारिश्रमिकमा चार करोड ७१ लाख २४ हजार रुपैंया खर्चहुने भएको छ । कार्यालय सञ्चालन तथा ब्यवस्थापनमा दुई करोड ७० लाख ३२ हजार छुट्याइएको छ भने वडा कार्यालयको प्रशासनिक खर्च ३८ लाख ५० हजार रुपैंया रहेको छ । नगरपालिकामा ११ वटा वडा रहेका छन । कार्यालय ब्यवस्थापनमा ९९ लाख रुपैंया छुट्याइएको छ । यो पुँजीगत तर्फको ब्यवस्थापन खर्च रहेको उल्लेख छ । नगरस्तरिय योजनामा चार करोड ५९ लाख ६१ हजार, लक्षित कार्यक्रममा एक करोड, बिषयगत कार्यक्रममा एक करोड १९ लाख छ भने समपूरक कोषमा दुई करोड रुपैंया रहेको छ ।