इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–९ बबियाका कृषक जसलाल यादवलाई कसरी धान रोपाइँ गर्ने भने चिन्ताले सताएको छ । धान रोपाइँ गर्ने सिजन सुरु भए पनि धान खेतमा पानीको अभाव छ ।

जिल्लाको विभिन्न नदी खोलामा बाढी आएको छ तर धान खेतमा पानी छैन । यादवजस्तै जिल्लाका दर्जनौँ किसानको समस्या एउटै छ । असार बित्न लागेको भएपनि नहरमा पानी नछाडिएका कारणले धान रोपाइँ गर्न समस्या भएको कृषकहरूको भनाइ छ । इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपलिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका सहितका आधा दर्जन गाउँमा धान रोपाइँ गर्न समस्या भएको स्थानीय सीताराम यादवले बताए । सुनसरी जिल्लामा ४२ हजार हेक्टर क्षेत्रफलमा सिंचाई पुगेको दावी गरेपनि नहर मर्मत नभएको, मर्मत भएपनि पानी नपुगेको र केही ठाउँमा नहर नै बगेकाले धान रोपाइँ गर्न समस्या भएको स्थानीय किसान वीरेन्द्र मेहताले बताए । जिल्लामा ५३ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । समयमा धान रोपाइँ गर्ने खेतमा पानी नभएका कारण अब विकल्पको रूपमा भूमिगत पम्पसेट (बोरिङ्ग) लगाएर भएपनि धान रोपाइँ गर्ने सोचमा कृषक छन् । एकातर्फ जन (मजदुर) को अभाव, अर्कोतर्फ खाद्य मलको अभावको सामना गर्दै आएका कृषकले रोपाइँको समयसमा धान खेतमा पानी नहुँदा तनाव झेलिरहेका छन् । धान रोपाइँ गर्ने बेलामा नहर भएको ठाउँमा समयमै पानी छाड्नका लागि सम्बन्धित निकायको ध्यान जानु पर्ने कृषकहरू बताउँछन् ।