पानवारी । इटहरीबाट झुम्का जाने क्रममा बसमा यात्रा गर्दा धरान–१६ अन्नपूर्ण चोकका राजन लिम्बूले आइफोन हराए । त्यस्तै मोरङ रंगेलीका देवराज राजवंशीले धरान बरगाछीमा मोटरसाइकल चालकले अफ्टेरो परेको भनेपछि फोन गर्न दिएको मोबाइल नै लिएर फरार भए । त्यस्तै धरान चतरालाइनमा दुर्गा श्रेष्ठको मोबाइल पनि राती झ्यालबाट हात छिराएर चोरले चोरेर लग्यो ।

माथिका घटना विभिन्न समयमा भएको मोबाइल चोरीको हो । यस्तै यस्तै चोरीका मोबाइलहरु इलाका प्रहरी कार्यालय धरानले ६ महिनाको अवधिमा १ सय ५ वटा फेला पारेर सम्बन्धित मोबाइल धनीलाई फिर्ता गरिसकेको छ । शनिबार मात्रै इलाका प्रहरी कार्यालय धरानले कार्यालयमा नै मोबाइल धनीहरुलाई बोलाएर ९ थान मोबाइल फिर्ता गर्यो । करिब २ महिना अघि धरान–१६ अन्नपूर्ण चोक निवासी राजन लिम्बूले ७० हजार मूल्यपर्ने एप्पलको आइफोन झुम्का जाँदा गाडीमा नै हराए । मोबाइल हराए पश्चात उनले इलाका प्रहरी कार्यालय धरानमा मोबाइल हराएको जानकारी दिदै खोजीदिन निवेदन दर्ता गरे । फलस्वरुप उनको मोबाइल धरान प्रहरीले करिब २ महिनापछि खोजेर फिर्ता गरिदिएको छ ।

त्यस्तै घर निर्माणमा लेबर काम गर्ने मोरङ रंगेलीका देवराज राजवंशीको मोबाइल एक मोटरसाइकल चालकले आफुलाई अफ्टेरो परेको भन्दै एक कल गर्न मागेर मोबाइल लिएर फरार भए । उनले लगत्तै इलाका प्रहरी कार्यालयमा पुगेर आफ्नो मोबाइल चोरी गरेको भनेर उजुरी गरेपछि उनको मोबाइल पनि करिब २ महिनापछि प्रहरीले फेला पारेर फिर्ता गरिदिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलका अनुसार फ्रान्सका नागरिकले धरान घुम्न आउँदा हराएको मोबाइल समेत पत्ता लगाएर फ्रान्स पठाइदिइएको छ । हराएको मोबाइल एक न एक दिन पक्राउ गर्न सक्ने भन्दै डिएसपी पौडेलले भने –‘मोबाइल चोरी भएको तथा हराएको भनी उजुरी आएका मध्ये ८० प्रतिशत भन्दा बढी फेला पारेर सम्बन्धितलाई बुझाइएको छ ।’ उनले मोबाइल धेरैको चोरी हुने तथा हराउने भएता पनि कमैले मात्र उजुरी गर्ने गरेको बताए । उनले मोबाइल हराएमा तुरुन्त प्रहरी कार्यालयमा आएर उजुरी गर्न समेत सुझाएका छन् ।

कसरी गर्ने उजुरी ?

आफ्नो मोबाइल हराए वा चोरी भए तुरुन्त प्रहरी कार्यालयमा आएर आइएमइआइ नम्बर सहित उजुरी दिने यदी आइएमइआइ नम्बर नभए आफुले सो मोबाइलमा प्रयोग गरेको मोबाइल नम्बर लिएर आएर उजुरी दिए मोबाइल पत्ता लगाउन सकिने डिएसपी पौडेलले बताए ।

मोबाइल भेटीन्छ चोर भेटिन्न

प्रहरीले मोबाइलको आइएमइआइ नम्बरको आधारमा कुनै पनि मोबाइल कुन मोबाइल नम्बरको सिममा प्रयोग भएको छ भनेर पत्ता लगाउछ । यदी कसैले चोरेको मोबाइलमा सिम हालेर चलाउछ भने तुरुन्त प्रहरीले त्यो मोबाइल नम्बरको मान्छेलाई पहिचान गरी पक्राउ गर्छ । तर मोबाइल पक्राउ गरेपनि मोबाइल प्रयोग गर्ने बास्तविक चोर नभइ अरुसँग किनेर प्रयोग गर्ने भएकोले उसलाई पक्राउ गर्न नमिल्ने प्रहरीको भनाइ छ । यदि कोही अपरिचित व्यक्तिले कुनै पनि बहानामा सस्तो मुल्यमा मोबाइल विक्रि गर्न खोज्छ भने त्यस्तो मोबाइल नकिन्न समेत इप्रकाका डिएसपी रामेश्वर पौडेलले सुझाव दिएका छन् । यदी चोरीको मोबाइल परेमा प्रहरीले सो मोबाइल सहित किन्ने मान्छेलाई समेत पक्राउ गर्ने पौडेलले बताए ।

एउटाले चोरेको मोबाइल अपरिचितलाई विक्री गर्छ र अपरिचितले किनेपछि सो मोबाइल कसले चोरेको हो भन्ने पत्ता लगाउन नसकिने प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय धरानले मोबाइल चोरी गर्ने ७ जनालाई पक्राउ गरी सकेको छ । यस अघि मोबाइल चोरीमै संलग्नको आरोपमा प्रहरीले ललितपुर हात्तिवन–७ का निक्सन साह, उदयपुर पुरनदह–३ का बिशाल कार्की, मोरङ ढंग्राहा–६ का अनुप ऋषिदेव, धरान–११ का सुविन राई, बिकल राई, धरान–१७ का आसन मग्राती र धनकुटा पाख्रिबास–५ का कुमार कटुवाल पक्राउ गरिसकेको छ ।