तीनै तहका सरकारले कृषि उत्पादन र त्यसको आधुनिकीकरण गर्ने कुरालाई प्राथमिकताका साथ आफ्नो नीति कार्यक्रममा राखेका छन् । यसका लागि केही बजेटहरु पनि विनियोजन भएको छ । सरकारले कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरेको छ । अहिले स्थानीय तहहरु पनि आफ्नो क्षेत्रको कृषि उत्पादन बढाउने नीतिमा छन् । विश्वका कयौं मुलुकहरु कृषिमा आत्मनिर्भर हुन नसक्दा दोस्रो वा तेस्रो मुलुकसँग निर्भर रहनुपर्ने बाध्यता छ । नेपालकै कुरा गर्ने हो भने पनि हामी दोस्रो र तेस्रो मुलुकसँग निर्भर छौं । कतिपय देशहरुले आफूलाई कृषिमा आत्मनिर्भर बनाएर समृद्धि हासिल गरेका छन् । कृषि मानिसको आधारभूत आवश्यकतासँग जोडिन्छ । त्यसकारण पनि विकसित र विकासोन्मुख देशहरु कृषिमा आत्मनिर्भर बन्ने प्रयासमा छन् ।

पछिल्लो समय कृषिजन्य उत्पादनमा अत्यधिक विषादीको प्रयोग बढ्न थालेको छ । यो सकारात्मक पक्ष हैन । कृषिजन्य उत्पादनले मानिसको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने हुनाले कृषिजन्य उत्पादनमा प्रयोग गरिएको विषादी हाम्रो खानपानमा समेत प्रयोग भएको छ । यो आफैमा घातक हो ।  अब कृषिजन्य उत्पादनमा विषादीको प्रयोगलाई निर्मूल गर्नुपर्छ । पछिल्लो समय ग्रामीणक्षेत्रमा सक्रिय भएका कृषक समूह तथा महिला समूहहरुले जैविक विषादी उत्पादन र प्रयोग गर्न थालेका खबरहरु प्राप्त हुन थालेका छन् । यस्ता कार्यहरुलाई प्रोत्साहित गर्नुपर्छ । जैविक मल उत्पादन र प्रयोग गर्ने उत्पादक र कृषिकलाई प्रोत्साहन गर्दै प्राविधिक सीप र पूर्वाधारमा सहयोग गर्नुपर्छ । कृषिमा गरिएको लगानी तत्काल उपलब्धि हासिल हुने लगानी पनि हो ।

त्यसकारण पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक विकासको रेखा कोरिनु आवश्यक छ । अहिले स्थानीय तहलाई ‘अग्र्यानिक क्षेत्र’ घोषणा गर्ने होड चलेको छ । यो स्वागतयोग्य हो तर यसलाई व्यवहारमा देखाउन सक्नु पर्छ । अग्र्यानिक क्षेत्र घोषणा गर्नुपूर्वका तयारीहरु नगरिकनै घोषणा गर्नु हतारो हुन जान्छ । त्यसकारण कुनै कदम चाल्नु अगाडि त्यसका पूर्वतयारीहरु पूरा गर्नु आवश्यक छ । नेपालमा परम्परागतरूपमा हुँदै आएको अग्र्यानिक खेती प्रणाली रासायनिक मल र विषादीको सहज उपलब्धताले बिग्रिएको छ, अन्तरबाली प्रणाली हराउँदै गएका कारण अहिले बीउसमेत लोप हुने अवस्था छ । रासायनिक मल र विषादीको प्रयोग नहुनासाथ अग्र्यानिक भन्ने चलन छ । तर, अग्र्यानिक खेतीका लागि अन्तरबाली प्रणाली पनि उत्तिकै जरुरी छ । अहिले सरकारले रासायनिक मल र विषादीमा दिएको अनुदान अग्र्यानिक उत्पादनमा लगानी गर्नुपर्छ ।

विश्वबजारमा अग्र्यानिक उत्पादनको व्यापार पाँचौं स्थानमा पर्छ । नेपालमा उत्पादन भएका अग्र्यानिक सामानको बजार अन्तर्राष्ट्रिय क्षेत्रमासमेत राम्रो रहेको छ । त्यसकारण सरकारले कृषिमा आत्मनिर्भर बन्ने अफ्नो लक्ष्यलाई पूरा गर्न कृषकसँगको प्रत्यक्ष सम्बन्ध कायम गर्न सक्नु पर्छ । कृषकसँगको प्रत्यक्ष सम्बन्ध र सहकार्य बिना कृषिमा आत्मनिर्भर हुने र अग्र्यानिक उत्पादनलाई प्रोत्साहन गर्ने विषय पूरा नहुन पनि सक्छ । त्यसैले यसतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।