मोरङ (ब्लाष्ट) । किसानको असारको चटारोसंगै आर्थिक वर्ष ०७५/७६ का लागि स्थानीय निकायको नीति, कार्यक्रम तथा वजेट तय गर्ने चटारो छ । आ-आफ्ना सोच विचार, औकात, चिन्तन र ल्याकतका आधारमा नीति, कार्यक्रम र वजेट वनाउने काम भइरहेको छ । असार १० गतेसम्म नगरपालिका र गाउँपालिकाले नगरसभा गरिसक्नुपर्ने प्रावधानको परिधिमा सोही मितिमा कम्तिमा पनि मुलभूत विषयमा नीति, कार्यक्रम र वजेट छुट्याउन घोषणा चाँही गर्ने हतारो छ । पछि वजेटलाई वडागत तहमा मसिनो गरी विभाजन गर्ने गरी निर्धारित समयमा वजेट घोषणाको चटारै चटारो छ । अहिलेसम्म पालिकाहरुले निर्णय गरेको वजेट भौतिक पूर्वाधारमै केन्द्रीत देखिन्छ । हुन त भौतिक पूर्वाधार विकासको प्राथमिक पूर्वाधार हो । पहिले मानिसहरु आफ्नो घरबाट वाहिर निस्किने वाटो सवभन्दा पहिले आवश्यक हो । तर वाटो वनाएपनि त्यो वाटो संरक्षण गर्ने चेतना भएन भनें वाटोमा गाइवस्तु वाँध्ने, दलहन वोट विरुवा लगाउने, निर्माण सामग्री राख्ने भयो भनें वाटो वन्नुको अर्थ रहँदैन । वाटो वनाएपछि खेतको आली तास्ने नाममा दुवैतर्फबाट वाटो चापेर वाटोको हुर्मत काढिएको गाउँवस्तीा प्रसस्त देखिएको छ । जसले वाटो निर्माणसँगसँगै वाटो सुरक्षित र व्यवस्थित गर्ने चेतनासंगसंगै प्रवाह गर्नु आवश्यक पर्छ । यो एउटा उदाहरण मात्र हो । विकासको वुँदामध्ये भौतिक पूर्वाधार एउटा वुँदा मात्र हो । विसौं, पचासौं अन्य शिर्षकका वुँदाहरु छन् । सवैले प्राथमिकता पाउनु पर्ने मानवीय विकासको आम मान्यता छ । नीति, कार्यक्रम तय गरी त्यसका लागि वजेट निर्माण गर्दा जनसंख्या, भूगोल, आर्थिक, सामाजिक, पर्यावरणीय, गरिवीका आधार मानिन्छ । त्यसमध्ये भौतिक पूर्वाधारमा केही वढी रकम राखिएपनि मानव संसाधनका विविध पक्षमा प्राथमिकता दिएर वजेट छुट्याइनु पर्छ । भौतिक पूर्वाधारमा पनि सडक, पुल, कल्भर्ट, ड्रेन वनाउने कुरामै केन्द्रीत भइरहेको देखिन्छ । शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन, पर्यावरण, विपद् व्यवस्थापनका कुरामा प्राथमिकता वढाउने सोचको कमि नै छ । भाषा, कला, साहित्य, संस्कृतिको प्रवद्र्धन, सञ्चार, खेलकुद, युवा, ज्येष्ठ, महिला, वालवालिका, विपन्न समुदाय, असक्त अवस्थाकालाई केन्द्रीत भएको अवस्था त नगन्य छ । यो सवालमा मोरङको वेलवारी नगरपालिका अलि संवेदनशील भएको देखिएको छ । उसले चेतना पक्षलाई माथि उकास्ने पहल थालेको छ । कला, साहित्यको प्रवद्र्धनमा निकै गजवको वजेट नभएपनि अहिलेको परिस्थितीमा ठीकै खाले वजेट छुट्याएर सृजनाको मर्म बुझ्ने प्रयत्न थालेको छ । पथरीशनिश्चरेमा पनि त्यसबारेमा वहस चलेको छ । अन्य केही नगरपालिकाले पनि त्यो पाटोमा सामान्य भएपनि केही केही कुरा उठाउन थालेका छन् । लोपोन्मुख भाषा, कला, साहित्य र संस्कृतिको जगेर्ना गर्नु मानव सभ्यताकै जगेर्ना गर्नुहो । सृजना क्षेत्रले मानिस असल वन्ने सन्देश दिन्छ । पैसामुखी होइन, इमानमुखी वन्ने चेतना प्रवाह गर्छ । अरुलाई सम्मान र सहयोग गर्नुपर्छ भन्ने आचरण सिकाउँछ । अरुलाई चोट लाग्दा आफु पनि संगै रुने भावनात्मक मनको विकास गराउँछ । मान्छे हुनुको अर्थ वोध गराउँछ । सामाजमा समानता, शान्ति र सद्भावको फूलवारी सृजना गर्ने विश्वविद्यालयको काम गर्छ । चेतना प्रवाहको अर्काे माध्यमका रुपमा रहेको सूचना तथा सञ्चार क्षेत्रको प्रवद्र्धनमा भनें १ नम्वर प्रदेश सरकारले विनियोजन गरेको वजेटलाई पत्रकारहरुले पनि राम्रै मानेर प्रसंसा गरेका छन् । कम्तिमा पनि सञ्चारकर्मको मर्मलाई समेट्न थालिएको आभास भएको धारणा आएको छ । नेपाल पत्रकार महासंघ प्रदेश समितिले प्रत्येक पालिकालाई त्यसवारे स्मरण गराउँदै ज्ञापनपत्र समेत वुझाएको छ । प्रत्येक पालिकाहरुले पनि त्यसप्रकारको वजेट निर्माण गर्नु आवश्यक छ । केही पालिकाहरुले यसअघिबाट स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धनमा केही वजेट छुट्याउँदै आएको अवस्था पनि छ । तर सवैजसोले त्यसो गरिसकेका थिएनन् । अवको आर्थिक वर्षको वजेटमा त्यो पक्ष कसरी समेटिन्छ हेर्न वाँकी छ । अन्तराष्ट्यि क्षेत्रमा खेलकुदले चिनाउन थालेको अवस्थाले त्यो विषयले जानीनजानी पालिकास्तरमा केही प्राथमिकता पाउन थालेको छ । पालिकाहरुले खेलकुद विकास समिति गठन गरेर नीति, कार्यक्रम लान थालेका छन् । यसखाले केही थालनीलाई व्यवस्थित गर्दै प्राथमिकता दिने कुराको क्रमिक विकासले गति लिनु आवश्यक छ । मुलुकको नयाँ संविधान निर्माण गरी संघीयतामा गएको र संघीयताको मुल मर्मले भौतिक पूर्वाधारलाई मात्र नभएर मानव संसाधनको विकासमा जोड दिएको छ । संघीयताको मुल मर्म अनुरुप नभएपनि अघिल्ला वर्षभन्दा केही मात्रामा मानव संसाधनको पक्ष सामान्य रुपमा वढोत्तरी भएको प्रसंग मैले जोडिरहेको छु । तर जनप्रतिनिधिहरुले त्यस कुरामा त्यति धेरै ध्यान पुर्याएको देखिदैन । थोरै प्रयास मात्र भएको छ । त्यसलाई सकारात्मक त मान्नु पर्छ । तर विकासको गति अघि वढाउन यो पर्याप्त छैन । जवसम्म चेतना पक्षलाई जवसम्म प्राथमिकता दिने अवस्था हुँदैन, तवसम्म विकासले पूर्णता पाउनै सक्दैन । जहाँका लागि विकास गर्ने हो, त्यहाँका मानिसहरुको सम्पूर्ण पक्षबाट सवल वन्नु पहिलो प्राथमिकता हो । भोकाएको मान्छेलाई सवभन्दा पहिले खाना चाहिन्छ । त्यसपछि मात्र उसले टेलिभिजन हेर्ला, पर्यटकीय ठाउँमा घुम्न जाँला, आफ्नो घर अगाडिको चिल्लो सडकमा गाडि चढेर आरामसंग वजार जाला । आफ्ना ठाउँका मानिसको भोक नवुझेर विकासका नाममा सडकमा लगानी गर्नुको अर्थ हुँदैन । स्कुल जान नपाएका वालवालिकालाई सवभन्दा पहिला स्कुल आवश्यक पर्छ । गिट्टी कुट्ने महिलाका लागि धेरै ढुंगा र वलियो हथौडा उसकालागि आवश्यक हो । खाली खुट्टा भएकाहरुलाई ग्राभेल सडक विझाउँछ । त्यहाँ गाडी गुड्दा उडेका धुलोका कणहरुले उसका आँखा दुखाउँछन् । खाली खुट्टाका लागि कालोपत्रे सडकले पैताला पोल्छ । उसका लागि त्यो सडक उसको जीवनकै लागि असर गर्ने वस्तु वन्छ । हो त्यस वर्गका लागि त माटो नै प्यारो हुन्छ । जहाँ टेक्दा नरम र शितलता प्राप्त हुन्छ । उसका लागि त्यही आनन्द हो । सायद हामीले खाली पेट खाली खुट्टा र खाली आङ भएकाहरुको चाहना नवुझि आफै विकासको परिभाषा गरेर भौतिक विकासमा पैसा खन्याइरहेका त छैनौं ?