भद्रपुर । स्थानीय जनप्रतिनिधि तथा कर्मचारीले खुल्ला दिसा मुक्त क्षेत्र घोषणा कागजमा मात्र सीमित राखेको पाइएको छ । झापाको भद्रपुर नगरपालिका अन्र्तगत रहेका १० वटा वडामध्ये पछिल्लो पटक घोषणा गरिएको वडा नम्बर ९ मा चर्पीनै नबनाई घोषणा गरेपछि उनिहरुको कागजी घोषणा बाहिर आएको हो । साविक चन्द्रगढी गाविस हाल भद्रपुर ९ का अधिकाँस घरमा चर्पी नबनाएको पाइएको छ । आर्थिक अवस्था दयनिय भएको घर होस वा सक्षम दुवै बासिन्दाको घरमा चर्पी पाइएको छैन । मङ्गलबार ब्लाष्टकर्मीले केही वस्तीमा गरेको अनुगमनमा रिङ् ल्याएर राखेको पेना नदिएको, कसैलाई पेना दिएको वनाउने खर्च नदिएको पाइएको छ ,भने कुनै वस्तीमा तीन घरको एउटै चर्पी भएको समेत फेला परेको छ । त्यसैगरि वस्तीमा बारम्बार वडाअध्यक्षलाई फोन गर्दा नगरपालिकाको साधन खाली छैन आफैले साधन लिएर सामान लैजाने सम्मका गुनासाहरु बाहिर आएका छन् ।‘ रिङ् त पाए तर टिना र ग्याँस पाइप नपाएका कारण चर्पी अधुरै रहेको लुक्की हस्ता बताउँछिन् ।’ पेनासहितको टङ्की भएकाले भरपर्दो नहुने उनले बताइन् । प्रत्येक घरमा चर्पी हुनु पर्नेमा एउटै चर्पीमा तीन घरको भएकोले घोषणाको कुनै औचित्य नरहेको घनश्याम रेग्मी बताउँछन् । हालसम्म जनप्रतिनिधिहरु चर्पी बनाउ भन्दै नआएको उनले बताए । हचुवाको भरमा कागजी घोषणा भएको उनले आरोप लगाए । स्थानीय दोर्जे बास्केको घरमा रिङ् बाहिरै अलपत्र अवस्थामा फेला परेको पाइएको छ । चर्पी बनाउन थालेमा भरे खाने सामान नहुने भएकोले घरका मान्छे सवै काममा गएको छिमेकीले जानकारी दिए । अर्का हर्क बहादुर विश्वकर्मा भने नजिकै रहेको हडिया खोलामा दिसा गर्ने गरेको बताउँछन् । ‘बनिबुतो नगरे मुखमा माड लाग्दैन ,सडकमा ल्याएर तीनवटा रिङ् फालिदिएका छन् ।’ ‘म सग बनाउने पैसा पनि छैन, र सामान घरसम्म ल्याउन नसकेको उनले सुनाए ।’ ‘हिउँदमा त ठिकै छ, घर गहिरो ठाउँमा भएकोले बर्षाको समयमा घर डुब्दै आएको हुदाँ त्यस्तो समयमा चर्पी गर्न समस्या भएको उनले बताए ।’ चर्पीको लागि बारम्बार वडाअध्यक्षलाई जानकारी गराउदा सुनुवाइ नभएको देउनारायण पराजुलीले गुनासो गरे । वडा अध्यक्षले रिङ्मा पानी हाल्न जानु भनेपछि दुइदिनसम्म घरदेखि टाढा बनाउदै गरेको रिङ्मा पानी हाल्न गएको उनले सुनाए । रिङ् तयारी भइसकेपछि घरैमाम गएर जानकारी गराउदा नगरपालिकाको ट्रयाकटर खाली छैन आफ्नै साधन प्रयोग गरेर लैजानु भनेपछि तीनवटा रिङ्लिन जान ट्रयाक्टर भाडा कहाँबाट ल्याउनु भन्दै लिन नगएको उनले बताए । अहिले चिया बगान तथा खोला छेउ मा चर्पी जाने गरेको उनले बताए । ‘वडा घोषणा भयो भन्ने चै सुनेको हुँ तर, धरै वस्तीमा चर्पी नभइ वडा घोषणा गरेकोमा दुःख लागेको उनको भनाइ छ ।’ वडा सर्भेक्षण गर्दा एकसय असी घर धुरीमा चर्पी नभएको पाइएकोले आर्थिक अवस्था कमजोर भएकालाई सिमेन्ट,रिङ् वनाउने फर्मा दिएपनि बेचेर खाइदिने गरेकोले चर्पी निर्माण गराउन धेरै समस्या भएको वडा नम्बर ९ का वडा सदस्य नेत्रप्रसाद पौडेलले बताए । उनिहरुलाई गिटी,वालुवा समेत घरछेउ पुर्याउदा पनि चर्पी नबनाइ बसेकोले हैरान भएको उनको भनाइ छ । हर प्रयास गर्दापनि अझै केही घरमा चर्पी नबनेको उनले स्वीकारे । उनिहरु दैनिक ज्यालादारीमा जाने भएकोले आफ्नो काम गरे ज्याला नपाइने भन्दै काम गर्न मन नलागेको बताउने गरेको उनको भनाइ छ ।

नगरपालिकाबाट पाइने एकलाख रकम सिमेन्ट,फर्मा,बाँस किन्दै सकिएपछि स्थानीय सङघसंस्था, उद्योगी, समाजसेवी लगायतबाट सहयोग लिएर जनसङ्ख्याको आधारमा चर्पी सामाग्री उपलब्ध गराएर चर्पीबिहीन बनाउने प्रयास गरिएको उनले जनाए । टोल विकास संस्थाको आधारमा चर्पीको तथ्याङ् निकालेको हुँदा संस्थाका संयोजकमा पनि भर पर्ने उनले बताए । सवैभन्दा बढी समस्या राजवंशी समुदायमा पर्ने गरेको उनले सुनाए । ‘आज घर झगडा भयो भने अर्कोदिन बाँसको किलो गाढेर बसेपछि चर्पीको समस्या जस्ताको तस्तै भइरहेने उनले जनाए ।’ खुल्ला ठाउँमा दिसा गर्नेलार्ई प्रहरी मार्फत पहिलो पटक चोकीमा कागज गराउने, सोही परिवार पुनः फेला परेमा एक हजार देखि तीन हजारसम्म जरिवाना हुनेगरि तर्साएपनि अटेर गरेको उनको भनाइ छ । यो विषयमा वडा नम्बर ९ का वडा अध्यक्ष शनिलाल राजवंशीसँग पटक पटक फोन सम्पर्क गरेपनि सफल भएन । वडा नम्बर ९ मा १८सय ७३ घरधुरी,१४वटा टोल विकास संस्था र ८ हजार ८ सय ११ जनसङ्ख्या रहेका छन् । घोषणा भएको वडाका प्रति टोल विकास संस्थालाई टोल सुदृढीकरणका लागि २५ हजारका दरले रकम पाउने र कुनै वडा खुल्ला दिसामुक्त घोषणा भएमा सो वडा,नागरिक सचेतना केन्द्र,टोल विकास संस्था तथा बाल क्लबको सुदृढीकरणका लागि एक लाख रुपैया बराबरको पुरस्कार पाउने नगरपालिकाको नीति बनेको छ । वडा नम्बर ९ लाई जेठ ३० गते खुल्ला दिसा मुक्त वडा घोषणा गरिएको खुल्ला दिसामुक्त क्षेत्र घोषणाका कार्यक्रम अधिकृत फणीन्द्र दाहालले वताए । अन्य वडाको तुलनामा वडा नम्बर ९ मा धेरै मेहनत गरेको दाहाल बताउँछन् । केही घर मात्र बाँकी रहेपनि प्रगति राम्रो भएर व्यवहारमानै घोषणा गरिएको उनले जनाए । चिया वगान र इँटा उद्योग छेउमा केही समस्या आएपनि तत्काललाई प्लाष्टिकले बेरेर भएपनि चर्पी निर्माण गरेको उनको भनाइ छ । हालसम्म वडा नम्बर १०,१, २ र ३ को आंशिक र ९ नम्बर पुरै घोषणा भएको उनले जनाए । त्यसैगरि ०७४ चैत्र ९ गते वडा नम्बर १० घोषणा गरिएको वडा सचिव मन कुमार डाँगीले बताए । सर्भेक्षणमा १ सय ७३ घरमा चर्पी नभएको फेला परेको थियो । त्यसपछि अवस्था हेरेर रिङ्, पेना,टिना र रोगीलाई पुरै सामग्री दिएर चर्पी बनाएकोले यो वडामा चर्पीविहीन देखिएको डाँगीले ठोकुवा गरे । एक टोलले अर्को टोलमाथि अनुगमन गरेर पूर्ण चर्पी विहीन बनाइने उनको भनाइ छ । यो वडामा १९ सय ७९ घर धुरी,८ हजार ७ सय ५५ जनसङ्ख्या र १२ वटा टोल विकास संस्था रहेको जनाए । तर,केही वस्तीहरुमा चर्पी नवनाइएको अनुगमनका क्रममा पाइएको छ । भद्रपुर नगरपालिकालाई बैशाख ३१ गतेको खुल्ला दिसा मुक्त घोषणा गर्न मिति तोकिएको थियो । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले बैशाख ३१ गते झापालाईनै खुल्ला दिसा मुक्त गर्ने घोषणाको मिति तोकेपनि झापा खुल्ला दिसा मुक्त घोषणा हुन सकेन । नेपाल सरकारले सन् २०१७ को मिति तोकेको थियो । समितिले यसअघि चैत २२ र त्यसपछि चैत मसान्त सम्मको मिति पनि तोकिसकेको थियो । त्यसअवधिमा अभियान सफल नभएपछि बैशाख ३१ गते तोकेका थिए । पछिल्लो समय जेठ ३१लाइ मिति तय गरेपनि झापा खुल्ला दिसामुक्त हुनसकेको छैन । तर अब झापा कहिले खुल्ला दिसामुक्त घोषणा हुनेमा अन्योल छ । कागजमा घोषणा भएपनि व्यवहारमा नहुने पुष्टि भइसकेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापा र ग्लोबल स्यानिटेसन फन्डसहित सगरमाथा सामुदायिक विकास केन्द्र, साहारा नेपाल, विराट सामुदायिक अध्ययन केन्द्र र मानव विकास केन्द्रले झापालाई खुल्ला दिसा मुक्त घोषणा गर्ने अभियानमा जुटेका छन् ।