भद्रपुर । वर्षायाम शुरु भएसगै झापाको भद्रपुर स्थित मेचीनदी हुदै भारत जान समस्या हुन थालेको छ । सीमावर्ती नाकामा जोड्ने मेची नदी पुलको दुवै तर्फ अस्थायी रुपमा बनाइएको ग्राभेल सडकको गिट्टी र बालुवा पानीले बगाउन शुरु गरेपछि वारीपारी गर्न समस्या हुने भएको हो । केही दिनदेखि मनसुन शुरु भएपछि नदीमा पानीको सतह ह्वतै बढेको छ । नदीमा बनाइएको अस्थायी बाँसे पुल पानीले बगाएपछि स्थानीय नागरिक नदी तर्नु भन्दा उद्घाटन नभएको पुलबाटै आवतजावत गर्न थालेका छन् । तर, पुल जोड्नलाई बनाइएको केही मिटरको सडक कटान भएपछि पुलमाथिबाट स्थानीयको आवतजावत ठप्प हुने भएको छ । पुलको उद्घाटन कहिले हुने हो थाहा छैन तर स्थानीयले भने प्रयोग गर्न थालिसकेका छन् । तीन बर्षमा बन्ने पुल झण्डै सात बर्ष लगाएर निर्माण कम्पनीले सम्पन्न गरेपनि पुल जोड्ने सडक समयमै विस्तार नहुदाँ स्थानीयको पीडा कम भएको पाइदैन । सात दशकदेखि वर्षायामको समयमा डुङ्गा र राँगा गाडा प्रयोग गरि आवत जावत तथा व्यापारिक कारोवारको लागि सामान ओसार पसार समेत गरिरहेको पाइन्छ । भारत र नेपाल दुवै तर्फको ग्राभेल सडक अहिले ठाँउ÷ठाँउमा खाल्डो परिसकेको छ । पुल निर्माण कम्पनीले नेपालतर्फ सडकलाई लक्षित गरि बनाएको ढुङ्गाको तटबन्धन समेत धसिसकेको छ । भद्रपुर लगायत दक्षिणी झापाबासीको लामो सर्घषपछि नदीमा पुल त बन्यो तर पक्की सडक निर्माण नहुदा ठूलो पानी वा बाढी आए अहिले बनेको ग्राभेल सडक काम नलाग्ने व्यवसायी भेषराज नेपाल बताउँछन् । समयमै नेपालतर्फका घरधनीलाई मुआब्जा वितरण नगर्नु र भारततर्फ जोड्ने सडकको बिषयमा आवश्यक कदम नचाल्दा फेरी यो बर्खामा पूरानै समस्या आइपर्ने उनले जनाए ।

सडक निर्माण कार्यले पूर्णता नपाउँदा यो बर्खामा पनि नदीनै प्रयोग गर्नुपर्ने भएकोले बर्खालाई मध्यरनजर गरी भत्किन लागेको सडक मर्मत हुन जरुरी रहेको समाजसेवी राजेन्द्र घिमिरेले बताए । दुवै तर्फका प्रशासनले छलफल गरेर आउन लोको समस्यालाई समाधान गर्नु पर्ने उनको भनाइ छ । नेतृत्व वर्ग अघि नलागेसम्म भद्रपुरमा यस्तै समस्या आइरहने उनको भनाइ छ । हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय इटहरीका प्रमुख विजयकुमार महत्तोले बनाइएको ग्राभेल सडक भत्किएको स्वीकार गरे । पुलमाथि चढन बनाइएको ग्राभेल सडक भत्किए पनि सडक विस्तारसँगै यसले तिव्रता पाउँने उनले आश्वासन दिए । पुल जोड्ने सडक भारत तर्फको बंगाल राज्यलाई छोएको छ । अहिले यु ट्रन आकारको ग्राभेल सडक बंगालमा गएर टुंगिएको छ । तर, सडकको प्रयोग विहार राज्यस्थित गलगलियासंग गर्नु भन्दै भारतीय एसएसबीले पुलबाट आवतजावत गर्ने स्थानीयलाई सास्ती दिन थालेका छन् । मेची पुल हुदै भारत तर्फ जादा एसएसबीले सीमामै बंगालको बाटो प्रयोगमा रोक लगाएको छ । मोटरसाइकल तथा साइकलमा आवतजावत गर्ने स्थानीयलाई खेतको बाटो वा पुनः नदीको बाटो प्रयोग गरी गलगलिया चेकपोष्टतर्फ जान भनि रहेका छन् । एसएसबीको आदेश बमोजिम स्थानीय खेतको हिलो र नदीको पानी भएकै ठाउँबाट आवतजावत गर्न बाध्य छन् । बंगालको बाटो प्रयोग गर्न दिएको भए कुनै समस्या हुदैन थियो, तर एसएसबीले रोक लगाएकाले समस्या भएको स्थानीयले गुनासो गरेका छन् । पुल निर्माण कार्य पाँच महिना अघिनै सम्पन्न भएपनि नेपाल तथा भारत दुवैतर्फको सडक निर्माण कार्य अलपत्र बनेको छ । पुलको पूर्व पट्टि अर्थात भारतीय भुमि (१०३ नम्बर सीमा पिलरसंग) जोड्ने सय मिटर सडकलाई विहार राज्यसंग जोड्ने पहल भएपनि कुनै समय अवधि तोकिएको छ । पुलको पश्चिम पट्टि भद्रपुरमा १ सय ८० मिटर लम्बाई र ३० मिटर चौढाई भएको सडकको निर्माण कार्य पुल कम्पनीले अधुरो बनाएर छाडिदिएका छन् । भद्रपुरतर्फको सडकको जमिन खाली गराउन तीन सरकारी कार्यालयसहित २२ घरपरिवारलाई जमिन वापतको मुआब्जा वितरण गरिसकेको आयोजना कार्यालयले जनाएको छ । घर तथा भवनको मुआब्जाका लागि अर्थ मन्त्रलायमार्फत बजेट आइसकेकोले केही दिन भित्र रकम वितरण गरिने जनाइएको छ ।