भद्रपुर ।भारत सिलगुढी डिपोसंग गरिएको खरिद प्रक्रियामा समस्या उत्पन्न भएपछि पूर्वका अधिकाश पम्पहरुमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव भएको छ । पम्पहरुमा पेट्रोलियम पदार्थ नियमित रुपमा विक्री वितरण हुन छाडेपछि उपभोक्ता थप मारमा परेका छन् । अहिले कतिपय पम्पहरु बन्द गरिएको छ, भने केही पम्पहरुले डिजेल मात्र विक्री वितरण गरिरहेका छन् । पेट्रोल पाउन छाडेपछि बजारमा पेट्रोलियम पदार्थको कालाबजारी सुरु भएको छ । प्रतिलिटर १ सय ८ रुपैया पर्ने पेट्रोल बजारमा १ सय २० देखि ३० सम्म बिक्री वितरण भइरहेको छ । भद्रपुरस्थित सन्तोष टे«डिङमा आइतबारदेखि पेट्रोल नभएकोले उपभोक्ताहरु फर्किरहेका छन् । पेट्रोल आउने बारेमा कर्मचारी अनभिज्ञ छन् । केहीदिन देखि भारत सिलगुढी डिपोसंग गरिएको खरिद प्रक्रियामा समस्या उत्पन्न भएपछि मेचीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव भएको नेपाल मेची पेट्रोलियम डिलर्स एसोसिएनका बरिष्ठ उपाध्यक्ष लय भण्डारीले जानकारी दिए । इण्डियन आयल कर्पोरेशन (आइओसी) अन्तरगत पश्चिम बंगालस्थित सिलगुढी डिपोबाट पेट्रोलियम पदार्थ खरिद गरी पूर्वका पम्पहरुलाई बिक्री बितरण गर्दै आइरहेको उनले जनाए । नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशन बीच भएको खरिद प्रक्रिया बमोजिम मेचीनगर स्थित चाराआली डिपोले सिलगुडी डिपोसंग पेट्रोलियम पदार्थ फाइनल बोइलिङ पोइन्ट (एफबीपी) २०० सेलमा खरिद गर्दै आइरहेका थिए । तर, अहिले सिलगुडी डिपोले २०० सेलको ठाउँमा २०५ देखि २२५ सम्म बिक्री गर्दै आइरहेको छ । जुन खरिद प्रक्रिया नेपाल आयल निगमसंग गरिएको भन्दा फरक हो । उनले भने, ‘नेपाल आयल निगमले खरिद प्रक्रियालाई परिमार्जन नगरे दैनिक मेचीमा पेट्रोलियम पदार्थको अभाव भइरहने छ ।’ सोमबार बेलुका २०० सेल पेट्रोलियम पदार्थ भित्रिएकोले केही दिनदेखिको समस्या बुधवारदेखि केही दिनका लागि सहज हुने उनले बताए । चाराआली डिपोका कार्यालय प्रमुख सनम कार्कीले खरिद प्रक्रियाकै कारण पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या भएको बताए । समाधानका लागि नेपाल आयाल निगमलाई जानकारी गराइसकेको उनले बताए । झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी मासिक २५ देखि ३० लाख लिटर सम्म पेट्रोलियम पदार्थ बिक्रीवितरण भइरहेको निगमले जनाएको छ ।