मधुमल्ला (ब्लाष्ट) । रतुवामाई नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउने भएको छ । स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिलाइने बताइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरी उक्त जानकारी दिइएको हो । यही असार ६ गतेदेखि ११ गतेसम्म घरघरै पुग्नका लागि नगरपालिकाले ४० जनाा स्वयम्सेवी कार्यकर्तालाई तालिम दिएको छ । तालिम पाएका तीनै व्यक्तिहरु खोजपड्तालमा जानेछन् । खोजपड्ताल टोलीमा महिला र पुरुष दुवै हुनेछन् । टोलीले शंका लागेमा शरीरको पूरै जाँच गरी कुष्ठरोगको लक्षण पहिल्याउनेछन् । एक व्यक्तिबाट अर्काे व्यक्तिमा हावाको माध्यमबाट सर्ने र मासु र स्नायु लट्ठिने भएकाले रोगीले उपचारमा बेवास्ता गर्दा कुष्ठरोग निवारणमा समस्या आइरहेको रतुवामाईका स्वास्थ्य संयोजक राजन पोख्रेल बताउँछन् । शरीरका विभिन्न अङ्गमा फुस्रो र नचिलाउने दाग आउनु, स्नायु लट्ठिनु, छाला वा घाउमा घोच्दासमेत नदुख्नु आदि यस रोगका लक्षण हुन् । रतुवामाईमा ५ जनाले कुष्ठरोगको औषधि सेवन गरिरहेको र नियमित औषधि सेवनबाट रोग निको हुने प्राथमिक स्वास्थ्य केन्द्र झुर्कियाका प्रमुख डा. सचिन नेपालीले बताए ।