मधुमल्ला (ब्लाष्ट) उर्लाबारी–७ को चन्द्रमा चौक–डिपु मार्ग र विष्णुप्रसाद आचार्य मार्ग सडक ग्राभेल मापदण्ड विपरित भएको भन्दै स्थानीयबासीले आक्रोश पोखेका छन् । उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताहरुबाट प्रतिफिट ३० रुपैयाँको दरले रकम उठाएर स्पेशल ग्राभेल गरिएको थियो । तर, स्थानीयले मापदण्ड विपरित काम भएको भन्दै आपत्ति जनाएका हुन् । उर्लाबारी नगरपालिकाबाट उक्त सडक ग्राभेलका लागि ३ लाख रुपैयाँ रकम विनियोजन भएको थियो । ४ सय १७ मिटर लम्बाईको सडक ग्राभेलका लागि उर्लाबारी–४ आइतबारेका प्रेम याख्याले ठेक्का पाएका थिए । मापदण्ड विपरितको सडक ग्राभेल गरेर ठेकेदारले नगरपालिकाबाट भुक्तानी लिइसकेको स्थानीय गणेश दाहालले जानकारी दिए । दाहालले भने–‘६ इन्च मोटाईको ग्राभेल भनेर कतै २ इन्च त कतै ३ इन्छ मोटाईमा ग्राभेल गरिएको छ, यो सडक कसरी मापदण्डअनुसार भयो ?’ ठेकेदार मनोमानीविरुद्ध अवगत गर्दासमेत नगरपालिकाबाट सुनुवाई नभएको दाहालको भनाई छ ।

सामान्य मापदण्डसमेत पूरा नगरी ग्राभेल गरिएको उर्लाबारी–६ का अमृत तामाङको गुनासो छ । ‘सडक ग्राभेल गरेको स्थानमा कतै झार उम्रेको छ’ उनले भने–‘ नियमक निकाय किन आँखा चिम्लेर बसेको छ ।’ मापदण्ड अनुसार सडक ग्राभेल भए वा नभएको बिषयमा इन्जिनियरहरुले अनुगमन नै नगरी हचुवाको भरमा काम गरेको सडक उपभोक्ता रामबहादुर तामाङले बताए । स्थानीयबासीले ठेकेदार पक्षले मनोमानी गरेको भन्दै तत्काल सच्याएर मापदण्डअनुसार काम गर्न माग गरेका छन् । यता, सडक अनुगमन समितिका संयोजक एबं उर्लाबारी वडा नं. ६ का सदस्य अम्बिका तामाङले मापदण्डअनुसार सडक ग्राभेल गरिएको दाबी गरेका छन् ।