विराटनगर,रासस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताका गास, बास र कपासको समस्याबाट अब नेपाली जनतामुक्त हुने बताउनुभएको छ ।

रहमा इन्टरनेशनल कुवेत र नेपाल डेभलपमेण्ट सोसाइटीको संयुक्त प्रयासमा मोरङको धनपाल गाउँपालिका–६ मा नवनिर्मित ८० वटा दुईकोठे पक्की घर उद्घाटनका अवसरमा उहाँले मुलुकमा तीन तहको सरकारले जनतामा रहेको विकास र समृद्धिको चाहना पूरा गरी गरिबी हटाउने छ भन्नुभयो ।

मुख्यमन्त्री राईले घर, विद्यालय, स्वास्थ्य चौकी निर्माणबाट यस क्षेत्रको समृद्धिलाई माथि उठाउने बताउँदै निर्माण भएको संरचनाको संरक्षणसहित सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले ‘मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम’ का लागि प्रदेश सरकारले रु एक अर्ब रकम छुट्याएको बताउदै अब केही वर्षमा ग्रामीण क्षेत्रमा बाटोको कुनै समस्या नहुने धारणा व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय संघसंस्थाका नाममा सहयोग गरी धर्म परिवर्तन गर्ने कार्य रोक्न सरकार अत्यन्तै चनाखो रहेको बताउँदै उहाँले सामाजिक संघसंस्थाको आर्थिक पक्ष पारदर्शी हुनु पर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री एवं सांसद शिवकुमार मण्डलले संसद् विकास कोषबाट प्राप्त हुने रु चार करोड स्थानीयको छलफल एवं सहमतिबाट नदी नियन्त्रण, आयआर्जन, सीपमूलक तालीम आदिमा खर्च गर्ने बताउनुभयो ।

रहमा इन्टरनेशनल कुवेतका मुख्यदाता शेख वलिदले आगामी दिनमा मानवीय क्षेत्रका विकास र उत्थानमा थप सहयोग गर्ने दृढता व्यक्त गर्नु भयो ।

धनपाल गाँउपालिका– ६ स्थित उक्त टोलमा गरीब, पिछडिएका मुस्लिम तथा अन्य हिन्दू समुदायका लागि रु दुई करोड २६ लाखमा ८० वटा घर निर्माण गरी आज हस्तान्तरण गरिएको हो । सोही स्थानमा आठ कठ्ठामा स्वास्थ्य चौकी, विद्यालय, प्रार्थना स्थल९मस्जिद० को समेत निर्माण गरिएको छ ।

दुई कोठे पक्की घरका साथै प्रत्येक घरमा चापाकल र पक्की शौचालयको व्यवस्था गरिएको सोसाइटीका सदस्य अफजल हुसेन ९गुल्जार०ले बताउनुभयो । यसअघि उक्त संस्थाको सहयोगमा मोरङको सुनवर्षी गाउँपालिकामा ४० घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

संस्थाले २६ वर्षदेखि आयमुलुक कामका सामग्री र सीपमूलक तालीम प्रदान गर्दै आइरहेको छ ।