शनिश्चरे ब्लाष्ट । भूटानी शरणार्थी प्रभावित क्षेत्र भएको नाताले मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा विकास निर्माणका कामहरुमा दातृ निकायहरुबाट सहयोग पुगेको छ । जसअन्तर्गत पछिल्लो पटक नगरको १० नम्वर वडामा २ वटा महत्वपूर्ण आयोजना आएका छन् । शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग (युएनएचसीआर) ले भूटानी शरणार्थी प्रभावित क्षेत्रका रुपमा रहेको शिविर दक्षिणको वस्तीमा सौर्य सडक वत्ती र खानेपानीको आयोजना अघि बढाएको छ । नयाँ मंगलवारेतिर जाने कालोपत्रे वनेको सडकको दायाँ र वाँया शरणार्थीको शिविर छ । शरणार्थीको वसोवासको व्यवस्थापनमा सघाउँदै आएको लुथरन विश्व फेडेरेशन् मार्फत युएनएचसीआरले त्यही गान्धिमनमोहन मार्गमा सन् २०१६ मा २२ वटा र ०१७ मा २२ वटा गरी ४४ वटा सौर्य सडक वत्ती जडान गरेको छ । ९० प्रतिशत वढी शरणार्थी तेस्रो मुलक पुनर्वास भइसकेपछि उनीहरुलाई सघाउने युएनएचसीआर सहितका दातृ निकायले आफ्ना कार्यक्रम पनि कटौती गर्दै लगेका छन् । जुन महिनादेखि लुथरनको कार्यक्रम सकिने भएकाले सो सडक वत्ती स्थानीयवासी समेतलाई हस्तान्तरण गर्न लागेको छ । शिविर वाहेक झण्डै त्यतिनै जसो भाग वस्तीमा समेत सडक वत्तीले उज्यालो दिइरहेको छ । अव त्यसको दिगो व्यवस्थापनका लागि प्रेम ढकाललाई अध्यक्ष वनाएर स्थानीय र शरणार्थी सम्मिलित समिति निर्माण भइसकेको छ । सो आयोजना स्थानीयलाई हस्तान्तरण गर्नेबारे नगरपालिका कार्यालयमार्फत सोमवार छलफल भएको छ । छलफलमा युएनएचसीआर दमककी प्रोग्राम अफिसर आत्सु सहितले केही दिनभित्र सडक वत्तीको योजना समुदायमा हस्तान्तरण गरिने वताइन् । ‘हामीले अहिलेसम्म सहयोग गर्यौं, अवका दिनमा हाम्रो कामको निरन्तरता भई स्थानीयमा सेवा पुगिरहोस् भनेर दिगो व्यवस्थापनका लागि अनुरोध गर्दै हस्तान्तरण गर्दैछौं ।’ उनले नगर प्रमुख दिलीपकुमार राईतर्फ फर्किदै भनिन् । त्यसमा नगरप्रमुख राईले सहमति जनाए । वत्ती मर्मत सहितको दिगो व्यवस्थापनका लागि निर्माण गरेको कार्यविधि नै जिम्मा लगाइयो । एकै ठाउँ सोलार उपकरण र व्याट्ी राखेर त्यहाँबाट आपूर्ति गरिएको वत्ती सामान्यत ५ वर्षमा मर्मत गर्नुपर्ने हुन्छ । अर्थात ५ वर्षमा व्याट्रीकाे आयु सकिने भएकाले व्याट्रीका लागि ३ लाख २० हजार र अन्य समेत गरी ५ लाख ६१ हजार रुपैयाँ खर्च लाग्ने अनुमान समेत पेश भयो । त्यो खर्च जुटाउन २ सय घरपरिवार उपभोक्ताबाट न्यूनतम शुल्क उठाउने उपाय पनि उल्लेख भयो । आवश्यक रेखदेखका लागि लुथरनले ४ जनालाई प्राविधिक तालिम पनि प्रदान गरिसकेको छ । वस्तीका अरु ठाउँमा पनि यसखाले कार्यक्रममा सहयोग पुरयाइदिए स्थानीयलाई थप राहत पुग्ने वडाध्यक्ष सागर राई र समिति अध्यक्ष प्रेम ढकालले अपेक्षा पेश गरे । भूटानी शरणार्थीका लागि बनाइएको खानेपानी तेस्रो मुलुक पुनर्वासले शरणार्थीको संख्या घटेपछि आसपासको वस्तीमा समेत वितरण गर्ने अर्काे आयोजना पनि छ । पहिले २४ हजार शरणार्थीले उपयोग गर्दै आएको १ लाख लिटर र ७० हजार लिटरका खानेपानीका २ वटा ओभरहेड ट्याङ्की छन् । हाल १ हजार ४ सयको संख्यामा रहेका शरणार्थी तथा वस्तीका वासिन्दाका लागि ६० लिटर प्रति व्यक्तिका दरले पानी वितरणको योजना राखेको छ । अव ७ सय घर परिवारका लागि वस्तीमा खानेपानी विस्तार गर्न ४ हजार ८ सय ७९ मिटर पाइप आवश्यक पर्छ । पाइप लाइन विछ्याउन ११ लाख ४३ हजार तथा पाइप विछ्याउन खन्ने सहित सम्पूर्ण कामका लागि २३ लाख ३४ हजार खर्च लाग्ने लुथरनका क्षेत्रीय संयोजक राजेन्द्र राउतले अनुमानित योजना नगरपालिकालाई जानकारी गराए । ट्याङ्की र पम्प हाउसको मर्मत समेत आवश्यक छ । जसमा पाइप विछ्याउँदा लाग्ने खर्च स्थानीयले व्यहोर्ने प्रस्ताव लुथरनको छ । त्यसमा स्थानीयको स्वीकारोक्ति रहेको खानेपानी समिति अध्यक्ष चन्द्र तामाङले जनाए । लुथरनले पाइप विछ्याउने सहितका काम असारको अन्तिमसाताबाट सुरु गर्ने भएको छ । दातृ निकायले सहयोगको कार्यक्रम छोड्दै जाने क्रममा स्थानीय र शरणार्थीबीचको समन्वय स्वरुप मानवीयताका आधारमा नगरका विद्यालयहरुमा उनीहरुको पठन पाठनको व्यवस्था भएको छ । वजेट् घट्दै गएको तथा तेस्रो मुलुकतर्फ गएका कारण विद्यार्थी पनि घटेकाले विद्यालय सञ्चालन गर्न कठिनाई भएको कारितास नेपाल दमकका कार्यक्रम प्रवन्धक देवेन्द्र पोखरेलले जनाए । कारितास नेपालको सहयोगमा शिविरमा सञ्चालन भएका विद्यालयमा कक्षा ४ भन्दा माथिका कक्षा वन्द भएको छ । शनिश्चरे शिविरमा रहेका ५ देखि ९ कक्षासम्मका १ सय २२ जना विद्यार्थी हिरक, सुनाखरी र पञ्चायत विद्यालयमा पढ्न थालेका छन् ।