न्युज डेस्क (ब्लाष्ट)/ नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनामा परेको कोशी करिडोर (रानी–धनकुटा–किमाथाङका सडक) निर्माणको काम अझै २०० किमी बाँकी रहेको छ । ३४५ किमी लम्बाई रहेको यो सडकलाई २ लेनमा कालोपत्रे गर्न २० अर्ब लाग्नेछ । सरकारले आफ्नै स्रोतबाट निर्माणकार्य अघि बढाइरहेको यो आयोजना चिनियाँ नाका जोड्ने ५ वटा सडकहरु मध्येको एक हो । कोशी करिडोरसँगै कालीगण्डकी करिडोर र कर्णाली करिडोर छन् । यी योजना नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनामा पर्छन् भने सरकारले यी तीन सडकमा अरु २ वटा सडक थपेर महत्वकांक्षी चिनियाँ पूर्वाधार परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई)मा समावेश गराउन लागेको छ । १ हजार ६९७ किलोमिटर लामो हुने यी पाँच वटा सडकले भारतीय नाकादेखि चिनियाँ नाकासम्म छुन्छन् । न्युनतम ‘डबल लेन’ स्तरमा कालोपत्रे हुने यी सडकको कुल निर्माण लागत १ खर्ब ६२ अर्ब ७५ करोड हुने प्रारम्भिक अनुमान गरिएको सडक विभाग उत्तर–दक्षिण सडक आयोजनाका प्रमुख बलराम मिश्रले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा चिनियाँ नाका जोड्ने यी पाँच वटा सडकलाई नेपालले बीआरआई परियोजनाका लागि प्रस्ताव गर्नेछ । त्यसमा तीन वटा गौरवका सडक बाहेक २८० किलोमिटर लामो भिट्टामोड–लामाबगर–लाप्चा सडक र १९० किलोमिटर लामो ठोरी–केरुङ सडक रहेका छन् । कर्णाली करिडोरका रुपमा रहेको ५२७ किलोमिटर लामो जमुनाह–सुर्खेत–हिल्सा सडकको लागत २३ अर्ब रूपैयाँ हुनेछ । यसमा अब २८२ किलोमिटर मात्रै निर्माण गर्न बाँकी छ । कालीगण्डकी करिडोरका रुपमा रहेको बेलहिया–बेनी–जोमसोम–कोरला सडकको लम्बाई ३५५ किलोमिटर छ भने यसको निर्माण लागत ६३ अर्ब रूपैयाँ अनुमान गरिएको छ । यो सडकमा २१ अर्ब रूपैयाँको सुरुङ तथा पुलहरु निर्माण गर्ने तयारी छ । ठोरी हुँदै गल्छी–रसुवागढी पुग्ने १९० किलोमिटर लामो सडकको कुल निर्माण लागत २१ अर्ब रूपैयाँ हुनेछ । भिट्टामोड–बर्दिबास–सिन्धुली–खुर्काेट–तामाकोशी–लामाबगर हुँदै लाप्चा पुग्ने २८० किलोमिटर सडकको निर्माण लागत ३५ अर्ब ३० करोड रूपैयाँ हुनेछ । यो सडकमा अब ९० किलोमिटर मात्रै बनाउन बाँकी छ । नेपालको लगानीबाट अघि बढिरहेको निर्माणको काममा चीन सरकारले बीआरआईअन्तर्गत लगानी गर्न सक्छ । चीनले सहुलियत ऋणमा बीआरआईको काम अघि बढाउने संकेत गर्दै आएको छ । उत्तर–दक्षिण जोड्ने यी सडकले दुई छिमेकीसँगको व्यापारसँगै धार्मिक पर्यटन, कृषि तथा औद्योगिक क्षेत्रको विकास गर्न टेवा पुग्ने विश्वास लिइएको छ ।