भद्रपुर । इँटा उद्योग स्थापना भएको गाउँपालिकामा नेपाल सरकारले धान सुपरजोन क्षेत्र घोषणा गरेको दुइ वर्षको अवधिमा गाउँपालिकाभरि चैते तथा हिउँदे धान खेतीमा आर्कषण बढेर गएको छ । नेपालकै सवैभन्दा होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिकामा स्थानीय कृषकले अरु बाली भन्दा धान खेतीमा ध्यान दिएका कारण त्यसतर्फ आकर्षित हुन थालेका हुन् । साविक वनियानी,पाठामारी,पथरिया ,केचना,घेराबारी र वालुवाडी गाविस मिलेर सात वटा वडामा बनेको कचनकवल गाउँपालिकामा रहेका स्थानीयहरु पछिल्लो समय धानखेतीमा रमाउन थालेका छन् । कृषकहरुलाई मध्यनजर गरि दुइवर्ष अघि सञ्चालनामा आएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ धानसुपरजोन लागू भएपछि यो वर्ष सातैवडामा गरि सातसय विगाहामा चैतेधान लगाएका छन् । माघको दोस्रो हप्तासम्म लगाइएको धान अहिले धमाधम भित्र्याउनेमा कृषक व्यस्त रहेका छन् । गाउँपालिका क्षेत्रभरी ९३ समुहमध्ये ५५ वटा समूहले मिलेर सामूहिक धानखेती लगाएको कृषि प्राविधिक सहायक अम्बिका प्रसाद लुइटेलले जनाए । उनले दिएको जानकारी अनुसार कृषि सहकारीमा साना किसानले ९३,अमरावतीले ३६,नौलो भविश्य ७०,नुरी स्लाम १८,गैरीगाउँ १२,लालीगुराँसले २५ लगायत अन्य कृषि सहकारी तथा व्यक्तिगरि सातसय विगाहामा खेती लगाएको उनले जनाए । कृषकले हर्दिनाथ,डल्लेपुसा,खुमल जातका धान लगाएको उनको भनाइ छ । कृषकलाई मध्यनजर गरि एक सय पैतालिस वटा पानी तान्ने डिप वोरिङ् वितरण, ५० प्रतिशत अनुदानमा १५ टन बिउ,८० टन कृषि चुना,माटोलाई प्राङ्गारिक बनाउन ढैचा,सनइ गरि २५ सय किलो बिउ समुह तथा व्यक्तिलाई बितरण गरिएको उनले बताए । अबको तीन वर्षभित्र सवै जग्गामा सामुहिक खेती हुने गैरीगाउँ कृषि सहकारीका सचिव हेमराज पौडेल बताउँछन् । यो सुरुवात हो ,तर इँटा उद्योगका कारण नजिकमा रहेका खेत तथा घरमा भने प्रदुषित भएकाले खेती नहुने उनको भनाइ छ । अब सवै उपकरण मार्फत खेती हुने भएकोले गाउँपालिकामा बाजो खेत नरहने उनले जनाए । धानखेतीसगै रसाइनिक मललाई विस्थापित गरि प्राङ्गारिक मल स्थापित गर्न भकारो सुधार कार्यक्रमलाई अघि सारिएको धानसुपरजोन सञ्चालन समितिका अध्यक्ष नवराज भट्राई बताउँछन् । गहुँत र मल सङ्लनको लागि गोठ तयार पारेमा प्रति किसानले ५ हजार रकम उपलब्ध गराउने नियम रहेपनि रकम कम भएकोले किसान सन्तुष्टि नभएको उनको भनाइ छ । गतवर्ष भकारो सुधारका लागि आएको २० लाखमध्ये १२ लाख फिर्ता गएको उनले जानकारी गराए । यो वर्ष पनि भकारो सुधारमा चारसय कृषकको लागि २० लाख ८० हजार रकम आएकोले मापदण्ड अनुसार भकारो सुधार पुरा भइसकेपछि प्रति कृषक ५ हजारका दरले रकम भूत्तानी गरिदै आएको जनाइएको छ । हालसम्म ९१ जनाले लगिसकेको र आउनेक्रम जारी रहेको उनको भनाइ छ । भकारो सुधारबाट उत्पादन भएको मल प्रति किलो २० रुपैयाका दरले बिक्री हुने गरेको उनले जनाए । बितरणमुखी भन्दा पनि परिणाममुखी भई व्यवसायिक रुपमा भकारो सुधार गरिनु पर्ने कृषको माग रहेको छ । धान सुपरजोन स्थापना भइसकेपछि कृषको जीवनस्तरमा परिर्वतन आएको सुपरजोन इकाइ प्रमुख तथा कृषि अधिकृत मेघनाथ तिमल्सेनाले बताए । अबको खेती उपकरण मार्फत गर्नु पर्ने भएकोले खेतीमा आवश्यक पर्ने सवै उपकरण उपलब्ध रहेको तिमल्सेनाको भनाइ छ । कृषकले लगाएको चैतेधान हालसम्म ६० प्रतिशत कटान भइसकेको र हिउँदे धानको लागि सुख्खा खेतमा छरुवा र हिलोमा धानको दाना रोप्ने काम अन्तिम चरणमा पुगिसकेको उनले बताए । अब बेर्ना तयार भएको विउ रोप्नको लागि जमिन तयार हुदै गरेको उनको भनाइ छ । मेसिनको प्रयोग गरि लागत घटाएर उत्पादन बढाउने मुख्य उद्देश्य रहेकोले कृषकलाई मेसिनको प्रयोग गर्नका लागि विभिन्न क्षेत्रमा तालिम दिइरहेको उनले जनाए ।