बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्ष २०७४÷०७५ मा सञ्चालन गरेको योजना, कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई गरेको छ ।

नगरपालिकाले सोमवार शनिश्चरेमा कार्यक्रमको आयोजना गरी नगर भित्र भए गरेका कार्य विवरणका विषयमा जानकारी गराएको हो । कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले खानेपानीबाट बञ्चित हुँदै गरेकालाई खानेपानी पुर्याउन सफल भएको दाबी गरे । उनले व्यवस्थित बसोबासका लागि पेरुङ्गे खोल्सीको ८ वस्तीलाई स्थान्तरण कार्य अगाडि बढाइएको बताएका छन् । उनले अर्जुनधारा नगरलाई वितेको एक वर्षमा गरेका केही प्रयत्नका रुपमा १४ बुँदा प्रस्तुत गरेका थिए । नगर प्रमुख रानाले नगरपालिका सबै विषयगत समितिलाई संक्रिय बनाएको , नगरमा रहेका ६ वटा सामुदायिक वन, सहकारीसहित निजी क्षेत्रसँग नगरको समृद्धिको लागि प्रक्रिया अगाडि बढाएको बताए । नगरलाई सरसफाईयुक्त, सामाजिक सूरक्षा भत्ता बैकिङ प्रणालीबाट सुरु गरिएको, सबैका लागि शिक्षा, विद्यालय विकास र विस्तारको काम, दिर्घरोगीहरु उच्च रक्तचापसहित मधुमेह रोगीहरुलाई औषधीहरु वितरण, प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेमा २४ सैं घण्टा आपत्तकालिन सेवा परीक्षणको रुपमा सुरुवात भईसकेको लगायतका विषयमा उनले जानकारी गराएका थिए । कसरी आयात घट्छ र निर्यात बढ्छ ? कसरी कृषक सुरक्षित रहन्छ र उत्साहित हुन्छ भन्ने सन्दर्भमा ठोस योजना बनाउँदै कार्यान्वयन गरिने मेयर रानाले जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राधाकृष्ण खतिवडाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा नगर प्रमुख रानाले नगरस्तरिय, वडास्तरिय, विभिन्न निकायबाट प्राप्त, आगामी आर्थिक वर्षमा भुक्तानी हुने योजनाहरुसहित विभिन्न समिति र विषयगत कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत उपप्रमुख कमला आचार्यले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन विजय तिम्सिनाले गरेका थिए ।