पथरी(ब्लाष्ट) । मोरङ कानेपोखरी गाउँपालिका अहिले आर्थिक बर्ष २०७५/०७६ को योजना छनौटमा व्यस्त रहरेको छ । गाउँपालिककाको कार्यपालिका बैठकले असार ५ गते सम्म वडाहरुलाई योजना छनौट गर्ने मिति तोके पछि अहिले वडामा वडासदस्य, विभिन्न राजनिति दलका प्रतिनिधिहरु सवै वडाहरुमा आगामी विकासे योजनाहरु छनौटमा व्यस्त रहेका छन् ।

यसैक्रममा वडा नं. ४,ले आइतबार वडाकार्यालयमा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु बोलाई आगामी योजना सम्बन्धि सुझाव लिएका थिए । आगामी योजनाहरुको बारेमा सहभागीहरुले बुंदागतरुपमा टिपाएका थिए । गत बर्ष विनियोजन गरेर आधा भएको बयरवन बजार–क्याम्पा घाट कालो पत्रे सडक यस पटक निरन्तरता दिदै पुरा गर्नु पर्ने, वडाकार्यालयमा जग्गा सिमाङकन गरी भवन निमार्ण गर्नुपर्ने, २० लाखे बजेट हस्तीनापुर देखि गैरीगाउँ निस्कीने कालो पत्रे गर्नु पर्ने, प्रगती चौक देखि खोरिया हुदै क्यम्पा घाट सम्म सडक स्तरउन्नती र खानेपानी व्यवस्था गर्नु पर्ने लगाएतका मुख्य एजेण्डा टिपाएका थिए । विकासे योजनाको काम लगभग एक सय भन्दा बढी योजना १० करोड खर्च हुने योजना वडामा टिपाएका छन् ।गत बर्ष सबै वडाकार्यालयमा एक करोड बजेट बिनियोजन गरेका थिए । तर यसपालि गत बर्षको भन्दा आधा रकम मात्र वडाकार्यालयमा जाने भएका छन् । यस पटक स्थानीय गाउँसरकारले जनसंख्याको आधारमा रकम विनियोजन गर्ने भएको छ । वडा नम्बर ४ मा गत बर्ष बाढी र पहिरोको कारण सबै रकम पुल र कल्र्भट निमार्णमा विनियोजन गरेका थिए । तर यस पटक २० लाखे (एउटा योजना सडक कालो पत्रे गर्ने) रहेको र १५ लाख निमार्णधिन भलुवाखोलाको पुललाई दिएपछि अन्य रकम थोरै बचेको र भने जस्तो काम गर्न नसकिएको वडाध्यक्ष धनबहादुर राईले बताए ।

वडाध्यक्ष राईले गत बर्षको काम राम्रो गर्न सफल भएको र विकासे योजनामा कानेपोखरी गाउँपालिकामै वडा नं. ४ पहिलो भएको दावी गरेका छन् । वडाले एक हप्ता अघि देखि वडा नं. ४ को नारायण चौक, गैरीगाउँ,त्रिबेणी चौक र हस्तीना पुरमा टोल भेलागरेर आगामी बिकासे कामको योजना संकलन गरेका थिए ।