धरान / अर्थमन्त्रालयले आइतबार युवा उद्यमका लागि प्रमाणपत्रका आधारमा ऋण सहयोग कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ पारित गरेपछि अब उच्च शिक्षा लिएका युवाले प्रमाणपत्रका आधारमा ऋण पाउने छन् । परिषदको अगुवाई तथा युवा स्वरोजगार कोष र श्रम मन्त्रालयको सहभागितामा प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने कार्यक्रम कार्यान्वय हुने भएको हो । कार्यक्रमका लागि परिषदले चालु आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरेको थियो । राष्ट्रिय युवा परिषदले असार भित्रै शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण दिने भएको छ । परिषदले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत शैक्षिक योग्यताको प्रमाण पत्र धितोमा राखेर ३५ जनालाई ऋण दिन लागेको हो । परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले १५ दिन भित्र जिल्ला कार्यालयहरुबाट आवेदन दिन आव्हान गरेको बताए । आगामी अािर्थक वर्षको बजेटमा भने ७ लाख ऋण कार्यान्वयन सम्बन्धी कार्यक्रम परिषदले नै गर्ने ढुंगेलले जानकारी दिए । तत्काल प्रदेशका पाँच जनालाई ऋण परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलका अनुसार प्रमाणपत्र धितो राखेर प्रत्येक प्रदेशका पाँच–पाँच जना युवा उद्यमीलाई अधिकतम २ लाख रुपैंयाँसम्म ऋण दिने योजना छ । यो ऋण युवाले सहकारी संस्थाहरुमार्फत प्राप्त गर्न सक्ने छन् । स्नातक उत्तीर्ण वा प्राविधिक शिक्षामा डिप्लोमा गरेका विद्यार्थीहरुले आफ्नो व्यवसायिक योजना पेश गरेर ऋण माग्न सक्नेछन् । जिल्ला कार्यालयहरुबाट १५ दिन भित्र आवेदन दिन सकिने परिषदले जनाएको छ ।