पानवारी । मोरङको केराबारी देखि सिंहदेबी जोड्ने १२ किलोमिटर सडक निर्माणका क्रममा ठेकेदार र प्राबिधिकहरुले मनोमानी ढङगले काम गरेपछि सडकको ड्रेनले सर्वसाधारणको घर खेत जोखिममा परेको छ ।

ठेकेदार कम्पनी गिताञ्जली कन्ट्रक्सनले निर्माण गरेको सडकको ड्रेनले आफुहरुको खेतियोग्य जमिनमा हालिदिएको र सो ड्रेनमा आउने पानीले घर तथा खेतीयोग्य बारी बगाउने जोखिम भएको भन्दै स्थानीय त्रसित बनेका छन् । केराबारी–सिंहदेवी सडक खण्डको साई डाँडा क्षेत्रमा निर्माण गरिएका डे«न सर्वधारणका जग्गामा छाडिएपछि ड्रेनमा आउने वर्षाको पानीले खेतियोग्य जमिन र घरहरु बगाउने जोखिम बढेको छ । स्थानिय जग्गाधनि राजु भण्डारीले सडकको ड्रेनमा आएको भेलले वर्षा सुरु हुनुभन्दा अघि नै जमिन काट्न सुरु गरेकोले वर्षाको समयमा घर नै बगाउने त्रास आफुहरुलाई भएको बताए ।

‘अहिले २ घण्टा परेको पानीले त जमिन काट्न थालेको छ, दिनभरी रातभरी पानी आउँदा के होला ?’ उनले प्रश्न गरे ।

ड्रेनमा भेला भएर आउने पानीको उचित व्यवस्थान नगरी जहाँतहीबाट कल्भर्ट बनाएर पानी कटाउदा समस्या भएको स्थानीय बताउँछन् । सानो ड्रेन बनाएर जहाँ पायो त्यही कल्भर्ट बनाउदा त्यहा आउने भेलले हाम्रो खेतीयोग्य जमिन बगाउँछ । स्थानीयका अनुसार ड्रेनको जोखिमबारे बारम्बार जानकारी गराउँदा समेत ठेकेदारले व्यवस्थापन नगर्दा आफुहरु जोखिममा नै बस्न बाध्य छौं ।

जिल्ला समन्वय समितिका सुपरभाइजर शिवशंकर चौधरीले भने अहिले वर्षाको समय भइसकेको र समस्या भएका ठाउँहरुमा बनाउने कोशिस गर्दा समेत वर्षाको पानीले समस्या भएकोले वषापछि मात्र बनाइने बताए ।

यसअघि जिल्ला समवन्य समिति मोरङका इन्जिनियर श्रवण चौधरीले सर्वसाधरणलाई समस्याहुने गरि कुनैपनि निर्माण कार्य नहुने भन्दै त्यस्तो भेटिए तत्काल समस्या समाधान गरिने बताएका थिए । तर बर्षाको समय लागीसक्दा समेत काम नहुँदा स्थानीयबासी अहिले त्रसित बनेका छन् । मोरङका जिल्ला समन्वय समितीका सभापती नरेश पोख्रेलले खेतियोग्य जमिनमा सडकको ड्रेन छोड्न नमिल्ने भन्दै तत्काल यो बिषयमा जानकारी लिने बताएका थिए । तर अहिलेसम्म ड्रेनको व्यवस्थापन नहुदा यसपालीको वर्षाले पुरै रामपुर, नागपोखरी र साइडाडामा बाढी तथा पहिरोको जोखिम बढेको भन्दै स्थानीय त्रसित छन् ।