बेलबारी  मोरङको केराबारी गाउँपालिका वडा नं. ९ बेलचौरी स्थित घंघरु बेलचौरी जोड्ने पुलको निर्माण कार्य ठेकेदारले अधुँरो राखेपछि अहिले योजना अलपत्र बनेको छ । पुल निर्माण कार्य लथालिंग भएपछि स्थानीय वासिन्दाहरुलाई वर्षातको समयमा आवत जावत गर्न कठिनाई परेको हो । केराबारी ९ भलुवा, घंघरु, लाख लगायतका वासिन्दाहरुलाई बेलबारी आवत जावतका लागि बाढीका कारण सास्ती नै खेप्नु परेको छ । त्यस समस्याबाट मुक्त हुन २०७१/७२ सालमा पुल निर्माणको लागि केन्द्रिय योजना परेको थियो । सोही पुल निर्माणको लागि निलगिरी कम्पनीले योजना तीन वर्ष भित्रमा योजना सम्पन्न गर्नेगरि सम्झौता भएको थियो । तर ठेकेदारको लापरवाहीको कारण पुल निर्माण हुन नसक्दा पुल निर्माण कार्य अधुरो रहेको अनुगमन समितिका अध्यक्ष सुरेन्द्र गुरुङले बताए । कम्पनीले तीनवटा आधा पीलर खडा गरेर ठेकेदार नै वेपत्ता भएपछि निर्माण कार्य अधुरो रहेको स्थानीयवासिन्दाहरुको भनाई छ । योजना अलपत्र भएपछि स्थानीय वासिन्दाहरु ठेकेदार प्रति रुष्ट भएका छन् । तीन करोड ६० लालको योजनाको पुल निर्माणका लागि स्थानीय स्तरमा सुरेन्द्र गुरुङको संयोजकत्वमा अनुगमन समिति निर्माण भएको थियो । समितिले ठेकेदार र कम्पनिलाई पटक पटक ताकेता पनि काम सुचारु हुन सकेको छैन । निर्माण कार्य शुरु भएको एक वर्ष पछि योजना अलपत्र अवस्थामा छ । गएको केहि महिना ठेकेदारले कामदारहरुलाई पठाएर काम गरेता पनि पूर्णता हुन सकेको छैन । खोलामा निर्माण स्थलमा ल्याएका निर्माण सामाग्रीहरु यत्रतत्र छाडेर कामदार पनि सम्पर्क विहीन छन् । त्यहाँका रडहरु पनि चोरी भएको र निर्माण स्थलमा ल्याएका बालुवा अरु सामाग्री खोलाले बगाएका छन् । पुल निर्माण कार्य सम्पन्न नहुँदा यसको अशर केराबारी ९ को भलुवा,घंघरु,भालुगौंलडे लगायतका वासिन्दाहरुले प्रत्यक्ष रुपमा भोग्नु परिरहेको छ । तुकेखोलामा बाढी आउन साथ दैनिक रुपमा चल्ने यातायातका साधन अवरुद्ध हुँदा स्थानीय वासिन्दाहरु सास्ती झेल्दै आउनु परेको छ । दैनिक जसो पाँचवटा निजी र एउटा सरकारी विद्यालयका विद्यार्थी बोक्ने सवारी साधन चल्ने यो बाटोमा बाढीका कारण कहिले विद्यार्थीहरु स्कुलै जान नपाउने समस्या छ । अझ सबै भन्दा ठूलो समस्या त विरामी परेको अवस्थामा खोलामा बाढी आएको खण्डमा त्यस क्षेत्रका वासिन्दाहरु ठूलो घेरामा पर्ने गरेको छ । बाढीमा एम्वुलेन्स जान नसक्ने भएकाकारण स्थानीय वासिन्दाहरु उपचारको समस्या पनि झेल्दै आएका छन् । यस विषयमा केराबारी ९ का वडाध्यक्ष भुपतिन्द्र प्रताप मल्ला सहितको टोलीले केहि दिन अगाडि सडक डिभिजन कार्यालयमा पुल निर्माणको ढिलाई बारे जानकारी गराएका थिए । उता प्रदेश सांसद उपेन्द्र घिमिरेले सो पुलको निर्माणका लागि ठेकेदार ठेकेदारलाई मैले पनि छिटो निर्माण गरिदिनु प¥यो जनताले यसबारे सम्वन्धित निकायमा उजुरी गरिसकेका छन् भनेर भनेको घिमिरेले बताए । घिमिरेका अनुशार पुल निर्माणका लागि थप रकम प्रदेशबाट पनि छुट्टिएको उनले बताए । उता पुल निर्माण कार्यमा ढिलाई भएको विषयमा निलगिरी कम्पनीका प्रवन्धक युवराज गाँगी भने सरकारले पुलको रि डिजाईन गर्दा ढिलो भएको बताएका छन् । उनले वर्षा समय गएपछि असोज देखि कार्य थालनी गर्ने बताएका छन् ।