मधुमल्ला (ब्लाष्ट) । गत बुधबार एक उपभोक्ताले उर्लाबारीबाट उत्पादित ‘ओजन पानी’मा लेदो भेटिएको प्रमाणसहित इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी गरे । सिलप्याक बोतलमा लेदो मिसिएको पानी उर्लाबारी–८ का गणेश विष्टले उजुरीका साथ प्रहरीलाई बुझाए । लगत्तै मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशल लिम्बू, नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला नेता रुपेश खतिवडा, अग्नी भट्टराईसहितले मानव स्वास्थ्यमा असर पु¥याउने उद्योगलाई कार्वाहीको दायरामा ल्याउन प्रहरीलाई ध्यानाकर्षण गराए । आफूले पटक पटक ओजन पानीमा अखाद्य बस्तु भेट्दा पनि उद्योगले सुनुवाई नगरेको बताए । उनका अनुसार ओजन पानीका सञ्चालकसँग निकट रहेका उर्लाबारी–१ का गोविन्द भट्टराईलाई लेदोको बिषयमा जानकारी गराउँदा उल्टै हप्कीदप्की खानु परेको थियो । प्रहरीमा उजुरी परेपछि ‘ओजन पानीमा लेदो’ शीर्षकमा राष्ट्रिय समाचार पत्र दैनिकको मुख्य पृष्ठमा बिहीबार समाचार प्रकाशित भयो । समाचारलाई सन्तुलन मिलाउन बुधबार साँझ सम्पादक केदार चौहानले पानी सञ्चालकद्वय नरकाजी श्रेष्ठ र धु्रबचन्द्र पराजुलीसँग फोनमा कुराकानी गरे । उनीहरुले एकछिनमा भेटेरै कुरा गरौं भन्दै फोन काटे । उनीहरु पत्रिकाको सम्पर्कमा नआई पत्रकारमार्फत लेदो भेटिएको जानकारी आएको उल्लेख गर्दै ‘अब के गर्ने भनी’ आफ्ना नजिकका सबैलाई सूचना प्रवाह गरिरहेका थिए । यसअघि उर्लाबारी–१ मा सञ्चालित पूर्वेली क्रसर र उर्लाबारीमै खोलिएको मावा समृद्धि बचत तथा ऋण सहकारी संस्थाका बारेमा पटक पटक समाचार प्रकाशित गरेर आफुहरुलाई बद्नाम गरेको भन्दै उनीहरुले चौहानलाई पैसा कबुल गर्न लगाएर फसाउने र त्यो रेकर्ड गर्ने रणनीति अपनाए । पूर्व योजनाअनुसार विहानै धु्रबचन्द्र पराजुलीले केदार चौहानलाई फोन गरे । पराजुलीले फोनमार्फत भने –‘हिजो भेट्ने भनेको सकिएन, अहिले भेटौं न ।’ सम्पादक चौहानले १० बजे भेटौं भने । त्यसपछि पराजुलीले पटक पटक अनुरोध गर्दै तत्काल भेट्न आग्रह गरेका थिए । तर, सम्पादक चौहानले आलटाल गर्दै भेट्न अस्वीकार गरेको फोन कलमार्फत प्रष्ट छ । त्यसपछि कति पैसा दिनु भन्दै पटक पटक अफर गरे । पराजुलीले फोनमार्फत भनेका छन्,‘ दाई कति लाग्छ भन्नु न । तपाई हामी एउटै ठाउँमा बस्ने मान्छे । कसरी मिलाउने मिलाउन । के गर्नु पर्छ भन्नु न म गर्छु ।’ सम्पादक चौहानलाई पैसा कबोल गर्न दबाब सिर्जना गरेको फोन कलमार्फत प्रष्टै बुझिन्छ । भेट्न आउन आलटाल गर्दा ओजन पानीका सञ्चालक नरकाजी श्रेष्ठ र धु्रबचन्द्र पराजुली स्वयम् घर नजिकै पुगेर मोटरसाइकलमा हालेर सम्पादक चौहानलाई भेटघाट होटलमा ल्याए । पराजुलीले चौहानलाई ल्याउनु अघि नै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनासँग ‘सेटिङ’ मिलाएर आएका थिए । उनले आफुले दिन लागेको पैसाको नोट नम्बर निरीक्षक तिम्सिनाले टिपाएर पूर्व निर्धारित प्रपन्चअनुसार सम्पादक चौहानको गोजीमा पैसा हालिदिए । त्यसपछि योजनाअनुसार सयौंको संख्यामा बोलाइएका ब्यक्तिहरुले भिडियो खिचे । भीडले भिडियोमात्र खिचेन, नाराबाजी पनि गरे । सादा पोशाकमा पुगेका प्रहरी निरीक्षक तिम्सिनाले योजनाअनुसार नै आफू ब्यावसायिक प्रहरी भएको भन्दै सम्पादक चौहानलाई थुनामा लिए । ठाडो उजुरीकै भरमा विना अनुसन्धान र प्रमाणरहित मिसिल तयार गर्दै प्रहरी निरीक्षक तिम्सिनाले चौहानलाई बिहीवारै सार्वजनिक मुद्दा दर्ता गरेका थिए । प्रहरीले अनुसन्धानको २४ घन्टे समय नगुजारी मुद्दा दर्ता गर्नुले तस्करसंग प्रहरीको मिलेमतो प्रष्ट रहेको स्थानीयले वताएका छन् । प्रहरी निरीक्षक तिम्सिनालाई नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी सहितको टोलीले कुनै जघंन्य अपराध नगरेको र अनुसन्धानको क्रममा रहेकाले हिरासतबाहिर राखेर थप अनुसन्धान गर्न प्रहरी निरीक्षक तिम्सिनालाई आग्रह गर्दा कार्यालयको प्रमुख आफु भएको र, नसिकाउन भन्दै ठाडो शैलीमा थर्काएका थिए । ‘प्रधानमन्त्री, मन्त्री जोसुकै भएपनि हिरासतमै लिन्छु’ निरीक्षक तिम्सिनाले पत्रकारको टोलीलाई धम्कीपूर्ण शैलीमा भने–‘पत्रकार मुला के हो र ?’ तीब्र दबाब र प्रलोभनमा परेका प्रहरी निरीक्षक तिम्सिनाले मोरङका प्रमुख जिल्ला अधिकारीलाई समेत कुनै जानकारी नदिई हतार–हतार सम्पादक चौहानविरुद्ध सार्वजनिक ऐनअन्तरगत मुद्दा चलाए । पत्रकार तथा सञ्चारसम्बद्ध मुद्दाहरु नेपाल सरकार मातहतकै प्रेस काउन्सिल नेपाल अन्तरगत कार्वाही हुने उल्लेख रहेपनि प्रहरी निरीक्षक तिम्सिनाले हचुवाको भरमा मुद्दा दर्ता गरेका थिए । त्यसपछि पनि मोरङका पत्रकारहरुले घटनाका बारेमा जानकारी लिन खोज्दा प्रहरी निरीक्षक तिम्सिनाले माथीको आदेश अनुसार कार्वाही अघि बढाएको जवाफ लिन्थे । नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल, पूर्व केन्द्रीय सदस्य गणेश लम्साल, मोरङ अध्यक्ष बन्धु पोख्रेल, सचिब अर्जुन आचार्य, प्रेस सेन्टर नेपाल मोरङका अध्यक्ष गोकुल पराजुली, स्वतन्त्र पत्रकार सुवास कार्कीलगायत घटनाका बारेमा जानकारी लिन प्रहरी कार्यालय उर्लाबारी पुगेका थिए । हचुवाको भरमा मुद्दा चलाएको भन्दै पत्रकारको टोलीले प्रहरी निरीक्षक तिम्सिनालाई ‘तस्करको चङ्गुल’ मा नपर्न चेतावनी दिएका थिए । अनुसन्धान गरी दोषीलाई कार्वाही गर्नुको साटो उल्टै प्रश्रय दिएको भन्दै उक्त टोलीले आपति जनायो । प्रहरी निरीक्षक तिम्सिनाले आफू ब्यावसायिक प्रहरी भएको भन्दै कसलाई के गर्नु पर्छ मलाई राम्रोसँग थाहा छ भन्दै कड्किएका थिए । टोलीले आफ्ना कुरा राखिरहेको अवस्थामा आक्रोशित हुँदै प्रहरी निरीक्षक तिम्सिनाले टेबुल ठटाएर तर्साउने प्रयास पनि गरे । उक्त टोलीले जिल्ला प्रहरी कार्यालय मोरङमा पनि प्रहरी निरीक्षक तिम्सिनाको भूमिका शंकास्पद रहेको अवगत गराएको छ । टोलीले जिल्ला प्रशासन कार्यालयलगायतमा घटनाको निष्पक्ष छानविन गर्न माग गरेको थियो । सम्पादक चौहान पक्राउ परेको भोलीपल्टै स–सम्मान रिहा भए । तर, प्रपन्च रचेर फसाउने ओजन पानीका उर्लाबारी –५ का ध्रुबचन्द्र पराजुली, वडा नम्बर १ का गोबिन्द भट्टराई र उर्लाबारीकै नरकाजी श्रेष्ठ आफुले खनेको खाल्डोमा स्वयम् आफैं परेका छन् । सम्पादक चौहान रिहा भएसँगै दूषित पानी बजारमा बिक्री गर्दै आएका ती सञ्चालकद्वारा सञ्चालित ओजन पानीमा शिलबन्दी भएको छ । सामान्य मापदण्ड पनि पूरा नगरी अशुद्ध पानी बजारमा बिक्री गर्दै आएका उनीहरुको कर्तुत यतिबेला छताछुल्ल भएको छ । आएको दुई साता पनि नहुँदै प्रहरी निरीक्षक तिम्सिनासँग यो समूहले ‘सेटिङ’ मिलाएर विभिन्न गलत कार्य गर्दै आएको जानकार स्रोत बताउँछ । निरीक्षक तिम्सिना उर्लाबारी आएदेखि नै विवादित बनेका छन् । स–साना छाप्रे होटलमा छापा मार्दै यौनकर्मी पक्राउ गरेपनि ठूला होटलमा उनको ध्यान पुग्न सकेको छैन् । यता, पराजुलीले भने आफू फसेको हो की पत्रकार चौहान फसेको समाजले मूल्यांकन गर्ने बताएका छन् ।