बिर्तामोड ब्लाष्ट। झापाको बिर्तामोडका एक ब्यक्तिले जनप्रतिनिधीबाट आफु असुरक्षित भएको भन्दै ज्यान, धनको रक्षाका लागि प्रहरीमा उजुरी हालेका छन् । बिर्तामोड २ का तीर्थराज अधिकारीले वडाध्यक्ष नगेन्द्र संग्रौलाबाट आफु असुरक्षित भएको भन्दै बिर्तामोड प्रहरीमा उजुरी हालेका हुन् । अधिकारी र उनकी श्रीमती राधिका सुवेदीबीच अंश मुद्दा जिल्ला अदालतमा बिचाराधिन रहेको छ । अदालतले अंशबण्डा नगरुन्जेलसम्मका लागि अधिकारीले मानाचामल बापतको महिनाको २ हजार ५ सय रुपैंयाँ दिनका लागि निर्देशन दिएको छ । अदालतको निर्देशन बमोजिम तोकिएको रकम आफुले प्रदान गर्ने अधिकारीले बताए । तर, कानुनी तवरबाट मात्र रकम दिन्छु भन्दै अधिकारीले सुवेदीले अदालतमा निवेदन दिएमा रकम त्यँही जम्मा गर्ने बताएका छन् । भदौको पहिलो साता जिल्ला अदालतले अधिकारीले अंश नहुन्जेलसम्मको लागि श्रीमतीको लागि मानाचामल भर्नुपर्ने निर्णय गरेको थियो । श्रीमतीले अदालतमा निवेदन दिएपछि आफुले हालसम्मको सबै रकम जम्मा गर्ने उनले बताएका छन् । अदालतमा बिचाराधिन रहेको मुद्दामा वडाध्यक्ष संग्रौलाले वडा कार्यालयमा आएर मिलाउन भन्दै दवाव दिएको आरोप पीडितले लगाएका छन् । अधिकारीले उपलब्ध गराएको फोन रेकर्डमा वडाध्यक्ष संगौलाले ‘भोली ११ बजेसम्ममा आएर रकम दिइनस भने तँलाई जानेको छु, पुलीस लगाएर ठिक गर्छु’ भन्दै हप्काएको सुन्न सकिन्छ । सग्रौलाले अदालतले तोकेको २ हजार ५ सय रुपैंयाँले नपुग्ने भएको भन्दै वडा कार्यालयमा आएर त्यो भन्दा धेरै रकम जम्मा गर्न दवाव दिएको अडियोमा उल्लेख छ । उनले वडा कार्यालयमा आएर भर्पाइ गरेर रकम जम्मा गर्न भन्दै अधिकारीलाई दवाव दिएका हुन् । वडाध्यक्षले हप्काएपछि अधिकारीले जेठ ३१ गते बिर्तामोडको ईलाका प्रहरी कार्यालयमा जिउ धनको सुरक्षाको माग गर्दै उजुरी दिएका छन् । बिर्तामोड नगरपालिका वडा नम्बर २ का अधयक्ष नगेन्द्र संग्रौलाले अदालतको निर्देशन बमोजिम श्रीमतीलाई खाइजिविकाको रकम नदिएका कारण आफुले स्थानीय सरकार सञ्चालन ऐन अनुसार समन्वय मात्र गरेको बताए । उनले अदालतले तोकेको रकम पनि अधिकारीले नदिएको बताए । जिल्ला अदालतमा मुद्दा चलिरहेको समयमा अधिकारीले श्रीमती राधिकाको नाममा अन्य स्थानमा जमिन रहेको फेला पारेपछि सो जमिन पनि भाग लाग्नुपर्ने माग राख्दै उच्च अदालत इलाममा उजुरी दिएका थिए । अदालतको फैसला आउँन बाँकी रहेको बेला वडाध्यक्ष संग्रौलाले खाइजिविकाको रकम दिन भन्दै अधिकारीलाई दवाव दिएका हुन् ।