बेलबारी । चारदशकदेखि चलिरहेको कान्छा कुमालको ‘चक्र’ केही दिनयता चल्न छाडेको छ । त्यही चक्रले परिवारको जीवनको चक्र चल्थ्यो । कुमालको जीवन चक्रलाई डो¥याउने चक्र माटो अभावमा चल्न छाडेको छ । मोरङ केराबारी–९ देवीझोडाका कान्छा कुमाललाई माटो निकाल्न प्रतिबन्ध लगाइएको छ । त्यो प्रतिबन्धले दैनिक जीवनमा प्रतिबन्ध लागेको छ । उनको पेशा भनेकै माटोको सामान बनाउने र बजारमा लगेर बेच्ने हो । कुमाले टोलमा उनीलगायत १२ घर कुमाल परिवार पण्डित परिवारहरु यहि पेशाबाट आफ्ना जिविकोपार्जन गर्दै आएका छन् । माटोको गमला, खुत्रुके, घैला बनाउने उनीहरुको परम्परागत पेशा नै हो । तर दुईवर्ष देखि खोलाबाट माटो ल्याउन नदिएपछि उनीहरुको पेशा व्यवसाय यतिखेर प्रभावित बन्न पुगेको छ । उनीहरु बेलबारी,विराटचोक , केराबारी , लेटाङ बजारमा माटोका सामानहरु बनाएर बेच्न लान्छन् । पछिल्लो समयमा नयाँ पुस्ताहरु डूाईभिङ, वैदेशिक रोजगार तिर लागेता पनि घरमा बस्ने पण्डितहरु यहि माटोको काम गर्दै आएका छन् । उनीहरुको खेतीपाती नै यहि हो यहि सामानबाट आएको पैसाले उनीहरुले जिविका चलाउदै आएको स्थानीय युवा मोती पण्डितले बताएका छन् । तर अहिले खोलामा माटो ल्याउन नदिएपछि माटोका सामाग्री बनाउन समस्या परेको र भारतबाट गमलाहरु ल्याएर बेच्न वाध्य भएको उनले बताए । कुमालेहरुले केराबारी ९ कै धरधरे छेउको लोहोन्द्रा खोलाबाट यस अघि माटो ल्याउदै आएका थिए । पहाडबाट बगेर आएको चिप्लो माटो सामान बनाउन उपयुक्त रहेको उनीहरुको भनाई छ । हामीहरु भुक्षय वा कुनै पनि प्राकृतिक वस्तुहरुलाई असर नपारीकन आफूहरुले माटो ल्याउदै थियौं । अहिले चुरे क्षेत्र घोषणा भएको छ रे त्यसले रोकेको छ भनि माटो ल्याउन नदिएको पण्डितले गुनाशो गरे । उनीहरुले खोलामा उत्खनन् नगरी पहाडबाट बगेर आउने लेदो उठाउने गरेको भनाई छ । खोलामा संकलन गरिएको माटो टूयाक्टरमा संकलन गरि ल्याउन पाएमा करिब आठ दश टिप माटाले वर्ष भरि रोजगार मिल्ने उनीहरुको भनाई छ । बरु हामी स्थानीय सरकारलाई कर पनि तिर्न तयार छौं , हामीले पेशा व्यवसाय गरेर खाने वातावरण मिलाईदिन सम्वन्धित पक्ष संग पण्डितले अनुरोध गरेका छन् । माटोको अभावमा अहिले कुम्हाले परिवारको दैनिक आय आर्जनमा समस्या परेको उनीहरुको भनाई छ । प्लाष्टिकका सामानहरु यत्रतत्र आएपनि अझै पनि माटो सामानहरु विक्री हुने गरेको उनीहरुको भनाई छ । गमलाको अझै पनि बजारमा राम्रो खपत हुने गरेको छ । यसै विषयमा केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले यो विषयमा उनीहरु म कहाँ पनि आएका हुन् । उहाँहरुको लिखित रुपमा निवेदन आएपछि सरोकारवाला निकायहरुलाई छलफल गरि पेशालाई निरन्तरता दिने वातावरण बनाउने अध्यक्ष कार्कीले बताए ।