पानवारी । एक नं. प्रदेश स्तरीय पहिलो इनरुवा गोल्डकपको उपाधी छिमेकी युवा क्लब धरानले जितेको छ । शनिबार इनरुवामा भएको फाइनल खेलमा बराह ट्रेनिङ सेन्टर बराहक्षेत्रलाई १–० गोल अन्तरले पराजित गरी उपाधी जितेको हो । दिपज्योती समुह इनरुवाको आयोजनामा भएको प्रथम इनरुवा गोल्डकपको उपाधीसँगै छिमेकी युवा क्लबले नगद रु १ लाख, ट्रफि, मेडल समेत जितेको छ । उपविजेता भएको बराह ट्रेनिङ सेन्टरले नगद रु ५० हजार सहित ट्रफि र मेडल जितेको छ । फाइनल खेलको दोस्रो हाफको १५ औ मिनेटमा धरानका मिलन राईले गरेको गोल नै निर्णायक बनेको थियो भने राई म्यान अफ द फाइनल घोषित हुँदै नगद रु २ हजार र ट्रफि समेत पुरस्कार हात पारेका छन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बराहका रोशन भूजेल घोषित भएका थिए उनले नगद रु ५ हजार सहित ट्रफि जितेका छन् । प्रतियोगिताको बेष्ट मिडफिल्डर बराहका अस्मिन ठटाल, बेष्ट गोल किपर धरानका प्रकाश कार्की, बेष्ट डिफेन्स धरानकै हेम गुरुङ र प्रतियोगितामा ४ गोल गरेका धरानका वर्तमान राई हाइ स्कोरर घोषित भएका थिए । उनीहरुलाई जनही रु ३ हजार सहित ट्रफि पुरस्कार प्रदान गरिएको थियो । १ नं. प्रदेश भरीका विभागीय टिम सहित विभिन्न ८ टिमको सहभागीता रहेको प्रतियोगिता जेठ २५ गतेदेखि सञ्चालन भएको थियो ।