झापा/समाजमा एकप्रतिशत लगानी गर्नुपर्ने राष्ट्र बैंकको सर्कुलरलाई निजी बैंकले अटेर मात्रै गरेका छैनन्, समाजप्रतिको उत्तरदायित्व पनि भुलेका छन् । राष्ट्र बैंकको अनुमति लिएर खुल्ने अधिकांस निजी बैंकहरु सामाजिक उत्तरदायित्व भन्दा पनि मुनाफा कमाउन व्यस्त छन् । वार्षिक करोडौंको कारोबार गर्ने निजी बैंकहरु समाजप्रतिको उत्तरदायित्व भुलेर कमाउने धन्दामा लागेका छन् । राष्ट्र बैंकले मुनाफाको १ प्रतिशत समाजमा लगानी गर्न सर्कुलर जारी गरेको छ । तर, त्यस्ता निजी बैंकले समाजका लागि कुनै ठूलो योगदान दिएका छैनन् । सामाजिक उत्तरदायित्वमा रक्तदान पहिलो नम्बरमा राख्छन् । त्यस्तै वृक्षारोपणलगायत गरेर समाजमा लगानी गरेको आभाष दिलाउँछन् । कतिपय बैंकले यस्ता कार्यक्रमसमेत गरेको देखिदैन । झापाको बिर्तामोड, भद्रपुर, काँकडभिट्टा, दमक, बुधबारे, अर्जुनधारा लगायतका क्षेत्रमा क बर्गका एकसय भन्दा बढी बैंकका शाखा छन् । बिर्तामोडमा मात्रै ५० को हाराहारीमा छ । झापामै मुख्य कार्यालय भएका ‘ख’ बर्गका बैंकको संख्या उस्तै छ । तर, समाजमा लगानी सुन्य देखिने स्थानीयको बुझाइ छ । त्यस्ता बैंकलाई नियमनकारी निकायले पनि कुनै ध्यान दिएको पाइदैन । बिर्तामोडका ‘क’ वर्गका निजी बैंकका कार्मचारीहरु सामाजिक काम गर्न अवसर नै नपाएको भन्दै उत्तर दिन्छन् । एनएमबि बैक बिर्तामोड शाखाका प्रमुख मेघराज तिम्सिनाले शाखाले आफ्नो हिसावमा सामाजिक कार्यमा संलग्न हुन नपाउँने केन्द्रीय कार्यालयको नीति रहेको बताए । यद्यपी उनले बैंकको कार्यक्षेत्रमा रहेका समाजका पक्षमा काम गर्न उचित वातावरण नपाएको बताए । उनले भने–‘समाजका लागि केही गर्न हामी तयार छौं, त्यस्तो प्रस्ताव आयो भने तत्काल निर्णय लिन सक्छौं ।’ बिर्तामोडमा हालै स्थापित गरिमा बिकास बैंकका प्रमुृख कार्यकारी निर्देशक गोविन्दप्रसाद ढकालले झापाको कृषि क्षेत्रमा लगानी गर्ने बताउँछन् । वचतमा आर्कषक व्याज दिने बताउँदै आएको बैंकले सामाजिक काममा के–के योजना छन् भन्ने विषयमा भने स्पष्ट पार्न सकेनन् । ‘समाजको आवश्यकतालाई हेरेर हामी काम गर्छौ ।’ निर्देशक ढकाल भन्छन् । झापाको भद्रपुरमा सञ्चालित आधा दर्जन भन्दा बढी वैंकको पनि उस्तै अवस्था छ । भद्रपुर र चन्द्रगढी आसपासका एनएमबी, प्राइम, एनआइसीएसिया, नेबिल, सिद्धार्थ, सेन्चुरी, सनराइज बैंकले समाजको लागि ठोस कार्यक्रम गरेको पाइदैन । अधिकांशको केन्द्रीय कार्यालय काठमाडौमा छ । उनीहरु मुनाफा केन्द्रीत छन् । यसबारे ब्लाष्टले केही प्रतिनिधि बैंकलाई बुझ्दा अव केही गर्नुपर्ला भन्दै आश्वासन दिन्छन् । शाखाहरुलाई छुट्टै काम गर्ने अधिकार नभएको दाबी गर्छन् । चन्द्रगढीको एनएमबी बैकले नगरपालिका क्षेत्रभित्र फोहोर व्यवस्थापनका लागि डस्टविन राख्ने सोच छ । त्यो सोच कहिले पूरा होला त्यो यकिन भन्न सकिने अवस्था छैन् । बैंकका शाखा प्रबन्धक सन्दीपकुमार चौधरी भने समाजको लागि एक लाख खर्च गरिने दाबी गर्छन् । राज्य संघीय संरचनामा गइसकेको छ । तर, निजी बैंकहरु अहिले पनि केन्द्रीय नीति र नियममै केन्द्रीत भएको छ । जसका कारण समाजले बैंकबाट प्रतिफल पाउनु त कता कता मुनाफा केन्द्रीत भएको स्थानीयको बुझाइ छ । शाखा प्रबन्धक चौधरीले केन्द्रमा कार्यक्रम भइरहे पनि शाखामा नभएको आफै स्वीकार गर्छन् । शाखालाई यही कार्यक्रम हो भन्ने कुनै जानकारीसम्म नभएको प्राइम वैंकका शाखा प्रवन्धक हेमन्तराज न्यौपानेले बताए । नाफाको ३ प्रतिशत कर्मचारी तालिम र एक प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गरिनु पर्ने वैंकको नीतिमै उल्लेख भएको उनी आफै स्वीकार छन् । हाल खोलिएका बैंकहरु ग्रामिणमुखी हुन नसकेको नेपाल वैंकका पुर्व शाखा प्रवन्धक विजय भट्टराई बताउँछन् । वैंकले गरिवको हितमा हुने कार्यक्रम ल्याउन आवश्यक रहेको उनी बताउँछन् । ‘सहकारी संस्थाहरुले सामाजिक क्षेत्रमा जति लगानी गरेको छ’ उनले भने, ‘त्यति नीजि वैंकले गरेको पाइदैन ।’ निजी वैंकहरुको अनुगमन गरेर उनीहरुले गरेका कार्यक्रमको गतिविधि हेर्न आवश्यक रहेको उनी बताउँछन् । वैंकहरुले आफ्नो कार्यालय परिसरमा सेवाग्राहीलाई जानकारी हुने गरि वडापत्रसमेत राखेको पाइदैन । ‘यस्ता अनेकौ समस्या नीजि वैंकमा छ ।’ उनी भन्छन् ।