कालिकाेट । जिल्ला अस्पताल कालिकोटमा डाक्टरको चरम लापरबाही देखिएको छ । एक बालिकाको दायाँ हात प्लास्टर गर्नुपर्नेमा बायाँ हात प्लास्टर गरिएको छ । साबिक राम्नाकोट ४ हाल पचालझरना गाउँपालिका वडा नम्बर ५ निवासी ४ वर्षीया दैनाकुमारी बमको बायाँ हात प्लास्टर गरिएको छ ।

डाक्टरले आकस्मिक कक्षमा लगेर चेकजाँच गर्दा दायाँ हात फ्याक्चर भएको पुष्टि भए पनि लापरबाहीले बायाँ हात प्लास्टर गरिएको छ । प्लास्टर जिल्ला अस्पतालका डाक्टर विज्ञान प्रजापतिले गरेका हुन् ।

‘हामीले त छोरीको दायाँ हात भाँचियो भनेको हुँ’, बिरामीको बुवा धीरबहादुर बमले भनेका छन्, ‘तर डाक्टरले बायाँ हात प्लास्टर गरिदिनुभयो ।’

डाक्टरले लापरबाही गरेको स्थानीय रत्न शाहीले बताए । बिरामीको एक्सरे गरेको र चेकजाँच गरेको आधिकारिक रिपोर्टमा भने दायाँ हातको विवरण छ ।

तर डा. प्रजापतिले बावुले नै बायाँ हात भनेकाले प्लास्टर गरेको बताए । चेकजाँच गर्नेभन्दा पनि बिरामीका आफन्तको कुरा सुनेर प्लास्टर गरेको उनको भनाइ छ ।