धरान । रुसमा जारी विश्वकप फुटबलमा शुक्रबार रातिको खेलमा उरुग्वे र इरानले नाटकीय जित हात पारेका छन् ।

रुसको इक्तेरिनवर्ग एरेना रङ्गशालामा शुक्रबारको पहिलो खेलमा उरुग्वेले इजिप्टमाथि १–० गोलले पराजित गरेको छ । उरुग्वेले ३ अङ्क जोडेको छ । इजिप्ट समूह ‘ए’ मा ‘डेन्जर जोन’ मा परेको छ । इजिप्टलाई अवका दुई खेल जित्नै पर्ने दवाव छ । किनकी आयोजक राष्ट्र रुसले साउदी अरेबियामाथि ५–० को रवाफिलो जित दर्ता गरेको छ । उसले पनि ३ अङ्क जोडेको छ ।

उरुग्वेका लागि ९१ औं मिनेटमा रक्षापङ्क्तिका खेलाडी जोसे गिमेनेजले हेडमार्फत् उत्कृष्ट गोल गरे । सि सान्चेजको फ्रिकिकमा जोसेले गोलमा परिणत गरे । खेलको ९१ औं मिनेटमा गरेको गोलका कारण इजिप्ट दवावमा परेको थियो । इजिप्टका स्टार खेलाडी मोहम्मद सालह भने खेल्न सकेनन् । च्याम्पियन्स लिगको क्रममा रियल मड्रिडका रक्षापंक्तिका खेलाडी सर्जियो रामोसले लडाएपछि चोटग्रस्त बनेका सालह बेन्चबाट खेल अवलोकन गरेका थिए ।

गोल खाएपछि उनी निकै चिन्तित बने । खेलमा उरुग्वेले केही अवसर गुमाए । पिएसजी स्टार कभानीको फ्रिकिक माथिल्लो बारमा लागेको थियो । उरुग्वेले सन् २००६ मा इजिप्टमाथि २–० गोलले जितेको थियो । विश्वकपमा इजिप्टको यो तेस्रो पटक हो । सन् १९९० मा पछिल्लो विश्वकप खेलेको इजिप्टले छनौट राउण्डमा इङ्ल्याण्डसँग १–० गोलले पराजित भएको थियो । उरुग्वेले विश्वकपको पहिलो खेलमै इजरायलमाथि सन् १९७० मा जितेको थियो ।

शुक्रबारकै दोस्रो खेलमा पनि इरानले मोरोक्कोमाथि नाटकीय जित हासिल गरेको छ । खेलको ९५ औं मिनेटमा अजिज बहुवाड्युजले निर्णायक गोल गरे । उनले पनि हेडमार्फत् उत्कृष्ट गोल गरे । इहसन हाजि साफीको फ्रिकिक प्रहारमा जाली चुमाए । इरानले २० वर्षपछि छनौट चरणको खेलमा तीन अङ्क जोडेको छ ।