पानवारी (ब्लाष्ट) । तेस्रो किर्तिपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी धरान फुटबल फ्यान क्लबले जितेको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका किर्तिपुरमा जेठ २५ गतेदेखि सञ्चालन भएको फुटबल प्रतियोगिताको फाइनल खेलमा एकता युवा क्लब विराटचोकलाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजीत गरी धरानले उपाधी जितेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । निर्धारित समयको पहिलो हाफमा एकता युवा क्लबका निरज बस्नेत र लाम्पार्ड राईले गोल गरी २–० को अग्रता दिलाएका थिए । धरानले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा नै धरानका मनिष राईले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए । खेल सकिन ७ मिनेट बाँकी हुदा धरानका तर्फबाट वर्तमान राईले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । त्यसपछि खेलमा कुनै गोल नहुँदा निर्धारित समय बराबरीमा खेल सकिएको थियो ।

उपाधीसँगै धरानले नगद रु १ लाख, ट्रफि र मेडल पुरस्कार जितेको छ भने उपविजेता विराटचोकले नगद रु ५० हजार, ट्रफि र मेडल पुरस्कार जितेको छ । विजयी टिमलाई पथरीशनिश्चरे नगरपालिकाका मेयर किशोर राईले पुरस्कार प्रदान गरेका थिए । जेठ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रदेश नं. १ का विभिन्न आठ वटा टिमले सहभागिता जनाएका थिए ।