धनकुटा(ब्लाष्ट) । सशस्त्र प्रहरी वल अरुण गुल्म चैनपुरको सवारी साधनमा सखुवाको काठ तस्करी गरिएको घटनाका मुख्य व्यक्ति डीएसपी रामप्रसाद भण्डारी सहित तीन जवानलाई निलम्बन गरिएको छ । संखुवासभाको चैनपुर स्थित् अरुण गुल्मको बा.१ झ १६६९ नंबरको सशस्त्र प्रहरीको ट्रकमा राखेर धनकुटा हुदै विराटनगरतर्फ करिब सात लाख मुल्य पर्ने ९२.९८ क्यू. फिट बढि सखुवाका काठ तस्करी गरिएको थियो । मुख्य आरोपित डिएसपी राम प्रसाद भण्डारी सहित सशस्त्रका जवान विनोद कट्टेल, मिलनकुमार राई र दिपेन्द्रकुमार कर्माकार निलम्बनमा परेको वाहिनी स्रोतले जनाएको छ । घटनाको अनुसन्धानका लागि सशस्त्रको पुर्व क्षेत्रीय बराह वाहिनी पकलीका प्रहरी उपरिक्षक गुणाखर खनालको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो । तर पुनः सशस्त्रको हेडक्वाटरले डीआइजी सुरजकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेपछि प्रतिवेदन मुख्यालयमा पठाएको छ । छानविन समितिले घटनाबारे स्थलगत वस्तुस्थिति अध्ययन गर्दै दोषि उपर विभागिय कारवाहि गरिने पनि स्रोतले उल्लेख गरेको छ । सखुवाको काठ सहित आफ्नै विभागको सवारी साधन सशस्त्र प्रहरी मुलघाटका इन्चार्ज इन्सपेक्टर दुर्गा भट्टले नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएको चार दिनपछि वरामद गरिएको काठ जिल्ला वन कार्यालय धनकुटालाई बुझाईएको छ । काठ वुझाइए पनि काठ ओसार पोसारमा प्रयोग गरिएको ट्रक भने वन कार्यालयमा वुझाइएको छैन । यता जिल्ला वन कार्यालय धनकुटाले सहायक जिल्ला वन अधिकृत शिवशंकर ठाकुरलाई काठ तस्करीका विषयमा अनुशन्धान गर्न अनुशन्धान अधिकृतको रुवन ऐन २०४९ अन्तर्गत कार्वाहीको प्रक्रिया अघि वढाएको जनाएको छ । वन कार्यालयले भने काठ तस्करीमा प्रयोग भएको गाडी सरकारी परेकाले सम्वन्धित कार्यालयमा नै रहने र आवश्याक परको वेलामा गाडी, मुख्य अभियुक्त र चालकलाई झिकाइने जनाएको छ ।