बिर्तामोड । आयआर्जन तथा क्षमता अभिवृद्धि लक्षित वर्ग उपभोक्ता समिति अर्जुनधारा–७ को आयोजनामा दुई वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई विहिबार विद्यालय सामग्रीहरु वितरण गरिएको छ । चालु आर्थिक वर्षमा अर्जुनधारा–७ बाट विनियोजित बजेटबाट उक्त सामग्रीहरु अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालय र अरुणोदय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई वितरण गरिएको हो । समितिका अध्यक्ष पुनम पोख्रेल सुवेदीको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा वितरण गरिएको सामग्रीहरुमा झोला २८२ थान, पोशाक २२ थान रहेको बताइएको छ । विद्यार्थीहरुका लागि आवश्यक टाई र बेल्ट पनि वितरण गर्ने समितिका अध्यक्ष सुवेदीले जानकारी दिइन् । कार्यक्रममा अर्जुनधारा–७ का वडाध्यक्ष नवराम ढुंगाना, वडा सदस्यद्धय ऐतराज नेम्वाङ र गोमा पर्वते, नगर पूर्वाधार विकास समितिका संयोजक रमेश त्रिखत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्धय अम्बिकाप्रसाद खतिवडा र राजकुमार बराइलीलगायतको आतिथ्यता रहेको थियो ।