धरान(ब्लाष्ट खबर) । प्रत्येक चारवर्षमा हुने फुटबल महासङ्ग्राम ‘विश्वकप फुटबल’ आजदेखि रसियामा शुरु हुँदै छ । महासङ्ग्रामको प्रतिक्षारत् देश, खेलाडी र फुटबल फ्यानहरु आजदेखि ठीक एक महिनासम्म फुटबलमा रमाउने छन् । ३२ राष्ट्रमध्ये कस्को पोल्टामा विश्वकपको ट्रफी जाने हो आजको खेलबाट निश्चित हुँदै जानेछ । महासङ्ग्रामको उद्घाटन खेल आयोजक राष्ट्र रुस र पाँचपल्ट विश्वकपमा सहभागिता जनाएको एसियन देश साउदी अरेबियाबीच भिडन्त हुँदै छ । सयम तालिकाअनुसार नेपालको ८ बजेर ४५ मिनेटदेखि खेल प्रारम्भ हुनेछ । भव्य समारोहबीच खेलको उद्घाटन हुने छ । रसियाको राजधानी मस्कोस्थित लुजेनिकी स्टेडियममा उद्घाटन खेल हुने छ । ८१ हजार दर्शक क्षमता रहेको छ । सन् १९५६ मा बनेको रसियाको सबैभन्दा ठूलो स्टेडियम हो । सन् १९३० देखि शुरु भएको विश्वकप फुटबलमा रसिया ११ औं पटक सहभागिता जनाउँदा साउदीले पाँचपटक सहभागी बन्दै छ । फिफा र्याङकिङमा साउदी ६७ औं स्थानमा छ भने रसिया ७० औं स्थानमा छ । तरपनि अनुभवको आधारमा भन्न सकिन्छ कि साउदीको लागि रसिया भारी पर्न सक्छ । यसपटकको प्रदर्शनको आधारमा रसियाको अवस्था समूह ‘ए’ मा बाट अन्तिम १६ मा पुग्ने सम्भावना झिनो छ । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले समूह उपविजेता बनेर अन्तिम १६ मा पुग्ने अनुमान लगाएका छन् । रसियाको १२ वटा स्टेडियममा एक महिनाको अवधिमा ६५ वटा खेलहरु हुने छन् । जहाँ ३२ वटा राष्ट्रहरुले होडबाजी गर्नेछन् ।

स्टेडियम जुन १४ देखि जुलाई १५ सम्म रसियाको १२ वटा स्टेडियममा खेलहरु हुने छन् । रसियाको राजधानी मस्कोस्थित लुजनिकी स्टेडियममा उद्घाटन र समापन खेल हुने छ । जहाँ फाइलनसम्म ७ वटा खेल हुने छन् । ८१ हजार क्षमताको यो स्टेडियम सन् १९५६ मा बनेको हो । यहाँ च्याम्पियन्स लिगदेखि युएफएफए कपसम्म खेलाइँदै आएको थियो । सातवटा खेल हुने सेन्ट पिटर्सवर्ग अर्को स्टेडियम हो । सन् २०१७ मा स्थापित यो स्टेडियममा ६७ हजार दर्शक क्षमता रहेको छ । यहाँ सेमिफाइलन र तेस्रो स्थानको लागि खेल हुने छ । सन् २०१३ मा सुरुवात भएको फिसेट स्टेडियममा ६ वटा खेल हुने छन् । ४८ हजार दर्शक क्षमता रहेको यो स्टेडियममा क्वाटर फाइनलका खेल हुने छन् । सन् १९५७ मा बनेको इक्तेरिनबर्ग एरिना स्टेडियममा चारवटा खेल हुने छन् । जसको क्षमता ४५ हजार हो । सन् २०१३ मा बनेको कजेन एरिना स्टेडियममा ६ वटा खेलहरु हुने छन् । क्वाटर फाइनल खेलसमेत हुने यो स्टेडियमको क्षमता ४५ हजार रहेको छ । विश्वकपकै लागि सन् २०१८ मा तयार गरिएको निज्नी नोभगोरोड स्टेडियममा ६ वटा खेलहरु हुने छन् । यहाँ पनि क्वाटरफाइलनका खेलहरु हुने छ भने यसको दर्शक क्षमता ४५ हजार नै हो । विश्वकपकै लागि तयार गरिएको ४५ हजार दर्शक क्षमताको रोस्टोभ एरिना स्टेडियममा ५ वटा खेल हुने छन् । ४५ हजार दर्शक क्षमताकै समर एरिना स्टेडिमयमा ६ वटा खेल हुने छन् । ४५ हजार दर्शक क्षमताको मोरडोभिया एरिना स्टेडियममा चारवटा खेल हुने छन् । विश्वकपकै लागि तयार गरिएको भोल्भोगार्ड स्टेडियममा पनि ४५ हजार दर्शक क्षमता नै रहेको छ । जहाँ ४ वटा खेल हुने छन् । ४२ हजार दर्शक क्षमताको स्पारटेक स्टेडियममा ५ वटा खेल हुने छन् । यो सन् २०१४ मा बनेको हो । त्यस्तै, ३५ हजार २१२ सिट क्षमताको कलिङनिङगार्ड स्टेडियममा चारवटा खेल हुने छन् । रसियाले विश्वकपका लागि ६ वटा नयाँ स्टेडियम निर्माण गरेको थियो ।

रोचक एसिया, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका र युरोपले विश्वकपमा सहभागिता जनाउने गरेको छ । तर युरोप र दक्षिण अमेरिकाबाहेक अन्यले विश्वकपको ट्रफी उचाल्न सकेको छैन । युरोपले ११ पटक उपाधि उचाल्दा दक्षिण अमेरिकी देशले ९ पटक उपाधि जितेका छन् । क्लब फुटबलमा चर्चामा आउने खेलाडीहरु मेस्सी, रोनाल्डो, नेइमारजस्ता खेलाडीहरुले देश फुटबलमा सर्वाधिक गोल गर्न सकेका छैनन् । हालसम्म जर्मनका मिरास्लाभ क्लोजको नाममा सर्वाधिक गोल देशका लागि गरेका छन् । उनको खातामा १६ गोल छ । त्यस्तै, ब्राजिलको रोनाल्डोको नाममा १५ गोल छ । यो विश्वकपमा जर्मनका थोमस मुलर मात्रै एक यस्ता खेलाडी हुन् जसको खातामा १० गोल छ । उनले आफ्नै देशका क्लोजको रेकर्ड तोड्न ६ गोल गर्नुपर्ने हुन्छ । त्यसपछि कोलम्बियाका हामेर रोद्रिगेसले ६ गोल गरेका छन् । उनी पनि यसपटकको विश्वकपमा सहभागी बन्दै छन् । उरुग्वेका लुइस स्वारेज, अर्जेन्टिनाका लियोनल मेसी, अर्जेन्टिनाकै हिग्विन, अष्ट्रेलियाका काहिलको नाममा ५–५ गोल गरेका छन् । उनीहरु पनि यसपटक विश्वकपमा सहभागी बन्दै छन् ।

प्रतिस्पर्धी देशहरू युरोपबाट आयोजक राष्ट्र रुस, बेल्जियम, क्रोएसिया, डेनमार्क, इङ्ल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल, सर्बिया, स्पेन, स्वीडेन, र स्वीटजरल्याण्ड छन् । दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, उरुग्वे, कोलम्बिया, र पेरु रहेका छन् । त्यस्तै उत्तर अमेरिकाबाट मेक्सिको, कोष्टारिका र पानामा रहेका छन् । एसियाबाट अष्ट्रेलिया, इरान, जापान, साउदी अरेबिया, दक्षिण कोरिया रहेका छन् भने अफ्रिका महादेशबाट इजिप्ट, मोरोक्को, नाइजेरिया, सेनेगल र ट्युनिसियाले स्पर्धा गरिरहेका छन् ।