यो वर्ष धरानमा अनगिन्ति उत्सव महोत्सवहरु भए । सुनसरी उद्योग वाणिज्य संघले लगाएको महोत्सवताका भएको कृषि यन्त्र प्रदर्शनी, होटल एशोशिएसनको फेष्टिवल, खाद्य प्रदर्शनी लगायत अरु उत्सवजन्य कृयाकलाप धरानले आयोजना गरेर आफ्नो सकृयता प्रदर्शन गर्यो । ती सबै कृयाकलाप बस्तु विनिमयमा आधारित थिए । सबै उत्सव महोत्सवमा सामान खरिद विक्रि भए, खानेकुरा बिक्रि भए । तर यी सबै भन्दा पृथक र आकर्षक अनि व्यवस्थित उत्सव भर्खरै सम्पन्न भएको छ । जसलाई इष्ट टुरिजम मार्ट २०१८ नाम दिइएको थियो । जहाँ वस्तु विनिमय हैन सेवा विनिमयको प्रयोगको अभ्यास भएको थियो । मुलुक संघीयतमा गइसकेपछि सिंहदरवारको अधिकार गाँउमा आउँछ भनियो । तर संघ (प्रदेश) सञ्चालनको दायित्व, प्रदेशका नागरिकको समुन्नतिको दायित्व चै अधिकार भन्दा पहिले आयो । यसकालागि पर्यटनलाई नागरिक र प्रदेश समृद्धिको आधार बनाउने प्रयास गरिदैछ । समृद्धिको आधार तोकेर मात्र हुदैन, प्रयास पनि जरुरी छ । यहि जरुरतलाई आत्मसात गरेर पूर्वका पर्यटन व्यवसायीहरुको सामुहिक प्रयास नै इष्ट टुरिजम मार्टको आयोजना रह्यो ।

पूर्वको पर्यटनलाई व्युँताउने प्रयासमा हामी धेरै वर्षदेखि निरन्तर सकृय छौ । यस क्रममा ुेछ ट्राभलिङको स्थापना पछि हामीले धरान र वरपरको पर्यटन प्रवर्धन गर्दै भारतको सिक्किम, दार्जिलिङ, देखि पटनासम्म र नेपालको महाकालीसम्म विभिन्न कार्यक्रममा सहभागिता जनायौं । सिलिगुडीमा आयोजना हुने टुरिजम मार्टमा दुई पटक सहभागि भयौ । ति सहभागिता हाम्रालागि सिकाई र प्रवर्धन दुवै भयो । हामीकहाँ प्याकेज किनेर आउने पर्यटकको संख्या नगण्य छ । हालसम्म आफै घुम्न आउने पर्यटकले पूर्वको पर्यटन घिस्रिएको छ । यत्तिका लामो अनुभवबाट हामीलाई लाग्यो जबसम्म प्याकेज किनेर आउने पर्यटक हुदैनन् तबसम्म हाम्रो पर्यटन उपलब्धिपूर्ण र दिगो हुदैन । प्याकेज बेच्ने पर्यटन व्यवसायीलाई हामीले जबसम्म विश्वास दिलाउन सक्दैनौ तबसम्म हामीकहाँ पर्यटकको आवागमन बढ्दैन । यसकालागि केही न केही गर्नै पर्ने आवश्यकता थियो । सेछ ट्राभलिङबाट बंगाल ट्राभल मार्टमा सहभागि भए पछि भने हामीले पनि यस्तो मार्ट आयोजना गर्न जरुरी ठान्यौ । र, केही साथीहरुले मार्ट आयोजना गर्ने निष्कर्षका साथ तयारी शुरु गर्यौ । दुईवर्ष पूर्व राजधानीको होटल सोल्टीमा भएको मार्ट बाहेक नेपालमा मार्टको अभ्यास कतै भएको थिएन । मार्ट कस्तो हुने, कसरी गर्ने भन्ने अन्यौल थियो । सबैको सहभागिता पनि जरुरी थियो । पर्यटन बोर्ड जसले मोफसलमा यस्तो आयोजना गरेकै थिएन उसलाई मनाउन र बजेट विनियोजन गराउन पनि कठिन थियो । यी सबै चरण पार गर्दा आम चुनाव र स्थानीय चुनावले हामीलाई झनै कठिन मोडमा ल्याईपुर्यायो । दशै लगत्तै गर्ने भनेको मार्ट अन्ततोगत्वा जेठको अन्तिम सातामा सम्पन्न भएको छ । तर मार्ट आयोजना भइसकेपछि भने धरान जस्तो ठाँउमा पनि यस्तो मार्ट हुन सक्ने रहेछ भन्ने प्रमाणित चै भएको छ । टुरिजम मार्टको सैद्धान्तिक पक्ष भनेको पर्यटन व्यवसाय गर्ने र सेवा प्रदान गर्नेहरु एकै थलोमा भेला भएर आ–आफ्नो व्यवसाय र सेवाको प्रदर्शनी र खरिद बिक्रिको सम्झौता गर्ने हो । हामीकहाँ आजसम्म पर्यटन बेच्ने व्यपारीहरु जसलाई टुर अपरेटर भन्छन् आएका थिएनन् । हामीले पनि आफ्नो सेवाहरु सिधै पाहुनालाई मात्र बेचिरहेका थियौ । हामीले गर्न खोजेको विल्कुलै नयाँ प्रयोग र हाम्रो पर्यटनलाई अन्तराष्ट्रिय मान्यताको बनाउनु थियो । अभ्यास नै नभएको काम गर्न कठिन र चुनौति दुवै थियो । तर गर्न चाँही जरुरी थियो । हामीले मार्टको आयोजनाका लागि नेपाल पर्यटन बोर्डलाई सहमत गरायौ । धरान उप महानगरपालिकाले पनि मार्टका लागि मन खोलेर सहयोग गर्ने आँट दियो । सुनसरी उद्योग वाणिज्य संघले पनि सहयोग गर्ने वचन पछि हामीमा मार्ट सम्पन्न हुने आशा पलायो र भविष श्रेष्ठको अध्यक्षतामा मार्ट आयोजक समिति गठन गरियो । मार्ट मात्र आयोजना गरेर हामी सफल हुने थिएनौ । यसका लागि हामीले हाम्रा सम्भावित व्यवसायीलाई निम्ता गर्न जरुरी थियो । हाम्रा ठाँउका बारेमा जानकारी दिन जरुरी थियो । हरेक गन्तव्यका साथीहरुलाई तयार गराउन पनि जरुरी थियो । छोटो समयमा यी सबै काम असम्भव र चुनौतीपूर्ण थिए । यो बिचमा समितिले १ नम्बर प्रदेशका १० जिल्लामा पुगेर मार्ट आयोजनाबारे छलफल गर्यो । यसै क्रममा हामी हाम्रा सम्भावित ग्राहक पठाउन सक्ने भारतीय व्यवसायीका घर आँगन पुग्यौं । मेची करिडोर र कोसी करिडोरका २४ पर्यटन व्यवसायी बिहारको पूर्णियाँ, कटिहार, किशनगञ्ज र पश्चिम बंगालको सिलिगुडी, भुटानको सिमाना जयगाँउ तथा सिक्किमको गान्टोक पुगेर त्यहाँका पर्यटन व्यवसायीलाई मार्टमा सहभागिताको निम्तो दिदै हाम्रा आकर्षणहरुबारे सविस्तार बताउने कार्य पनि गरियो । यत्तिमात्र पनि अझ अपुग जस्तो देखियो किनकी मार्टलाई अन्तराष्ट्रिय स्तरको बनाउने प्रयास गर्नु थियो । यसका लागि हामी व्यवसायी पनि दक्ष हुन मार्ट आयोजक समितिले आवश्यक ठान्यो । र, धरान उपमहानगर पालिकाको संयोजनमा नेपाल पर्यटन बोर्डले १४ जिल्लाका साथीहरुलाई प्याकेज निर्माण र बजारीकरणको दुई दिने तालिमको आयोजना गर्यो । ११ जिल्लाबाट तालिममा सहभागि भएका साथीहरुले मार्टमा आ–आफ्नो प्याकेज लिएर आउनुभयो । यसरी मार्टको आयोजनालाई हामीले क्रमशः उत्कृष्टता तर्फ लैजादै गयौं । मार्ट त गर्ने तर निम्तालु विदेशी पाहुनालाई पूर्वको एकिकृत संस्मरणात्मक सामग्री के दिने भन्ने पनि समस्या थियो । यसकालागि या त डकुमेन्ट्री चाहिन्थ्यो या बुकलेट । डकुमेन्ट्री बनाउने समय छदै थिएन । यो समस्याको समाधान पनि पर्यटन बोर्डले गरिदियो । मेची पहाडी पर्यटन प्रवर्धन विकास समितिलाई बोर्डले पूर्वको बुकलेट प्रकाशन गर्न खर्च जुटाईदियो । समितिका केशव धौरालीसहित फणिन्द्र अधिकारी र पंक्तिकार बुकलेट प्रकाशन गर्न राजधानी पुगेरै मेहेनत गर्यौ । धरानबाट एलिना मगरले अधिकांश जिल्लाका फोटाहरु संकलन गरेर पठाईदिनु भयो । अन्ततोगत्वा पहिलो पटक पूर्वी नेपालको सुन्दर सचित्र बुकलेट तयार भयो ग्रीन इष्ट नेपालका नाममा । मार्ट आयोजना उपलब्धीमूलक बनाउने धेरै प्रयासहरु भए । धरान उपमहानगरपालिकाको टिमले यसलाई आफ्नो प्रतिष्ठा ठान्यो र प्रमुख, उपप्रमुख प्रशासकीय अधिकृत पर्यटन समितिका सहसंयोजक सहितको पुरै टिमले मार्ट सम्पन्न गर्न अहोरात्र खटियो । हामी व्यवसायी त लागेका थियौं नै । मार्टमा भारत, बंगाल, भुटान र चीनका पर्यटन व्यवसायीलाई निम्ता गरिएको थियो । मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको मार्टमा अन्तिममा बिहारबाट २५ जना सिलीगुडीबाट ३ पत्रकारसहित १३ जना आसामबाट १ पत्रकार सहभागी भएका थिए । त्यस्तै जयगाँउ र फुन्चोलिङ (भुटान) बाट ६ जना सिक्किमबाट ४ जना र बंगलादेशबाट ३ जना पत्रकार पाहुनाका रुपमा सहभागी थिए । करिब ४० व्यवसायिक स्टल र ११ जिल्लाका स्टल सहभागी थिए । पर्यटनको सेवा बिक्रेता र खरिदकर्ताको मात्र व्यवसायिक क्रियाकलाप हुने यस्तो प्रकारको मार्टलाई हामीले आम नागरिकको पनि बनाउने प्रयास गरेका थियौं । पत्रपत्रिकामा विज्ञापन र स्वागत व्यानरहरु राखेर मार्टलार्ई सबैको बनाउने हाम्रो प्रयासलाई धरानबासीको साथ र सहयोग पनि रह्यो ।

पाहुनालाई हाम्रो ठाउँ देखाउने, उत्कृष्ट आतिथ्यता गराउने र प्रभावित बनाउने हाम्रो उद्देश्य थियो । ताकी उनीहरु राम्रो अनुभव लिएर जाउन् र आफ्ना ग्राहकहरु हामीकहा पठाउन यो भावनालाई धरान १४ का वडाअध्यक्षले राम्ररी बुझ्नु भयो र नगर दर्शन (साइडसिन) कार्यक्रममा पिण्डेश्वर बाबाधाममा स्वस्तिक वाचन, रुद्राक्षको माला, विजयपुर चोकमा सांस्कृतिक भेषभूषासहित आम विजयपुरवासीद्वारा गरिएको स्वागतलाई पाहुनाहरुले साह्रै धेरै प्रशंसा गरेका छन् । हामीले देखायौं हाम्रो आतिथ्यता मुखले मात्र हैन हृदयबाट हुन्छ । पर्यटनमा यही कुरा नै मुख्य हो । पूर्वाधार त हामी कहाँ भन्दा हजारौं गुणा पर्यटकहरुकै ठाउँमा छदैछ । आएका ट्राभल एजेण्ट र पत्रकारबाट हाम्रो पर्यटनको राम्रै प्रवर्धन हुने हामीले अपेक्षा गरेका छौं । यसका लागि वहाँहरुलाई भेडेटार नमस्ते झरना, तमोर, हिले र इलाम सम्म लगेर देखाइयो । यी ठाउँको भ्रमणबाट उनीहरु प्रभावित भएका थिए । अब उनीहरु आफ्ना ग्राहकलाई पनि यस्तै आतिथ्यता पाउलान् भन्ने विश्वास लिएर गएका छन् । तर, एउटा मार्टले मात्र परिवर्तन सम्भव छैन । यो त सुरुवात हो यस्तै थुप्रै गतिबिधीले निरन्तरता चाहिँ मुख्य आवश्यक हो । मार्ट पर्यटनका लागि गरियो । पूर्वको पर्यटनका तीन आधारहरु छन् । धर्म, हिमाल र जंगल । हामीकहाँ पाइने अर्ना नेपालमा अन्त कतै पाइँदैन । त्यही अर्नालाई हाम्रो ब्राण्ड बनाउने निधो गर्यौं । आश्चर्य, मार्टमा निर्माण गरिएको अर्नाको मूर्ति सबैका लागि आकर्षण बन्यो । यसले सिकायो पर्यटकले हरेक पटक नयाँ कुरा र फरक कुरा चाहदा रहेछन् । हामी यसमा कमजोर छौं । १८ वर्ष अघि बनेको घण्टाघर बाहेक हामीले आजसम्म पर्यटनमा कुनै नयाँ कुरा थप्न सकेका छैनौं । जबकी गतवर्ष आएको पर्यटकलाई आकर्षित गराउने हो भने प्रत्येक वर्ष नयाँ कुरा र आकर्षण थप्दै जानु पर्दछ । पर्यटकले केही नौलो अनुभव गर्न सक्नु पर्दछ । करिब २ महिनादेखि आफ्नो व्यापार व्यवसाय सबै छाडेर हामीहरु निरन्तर लागेर मार्ट सम्पन्न गर्यौं । मार्ट सँगसँगै अन्य कार्यहरु पनि भए । मार्ट समापनमा आएका नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुखले पूर्वका पर्यटनमा अझ धेरै कार्यक्रमहरु गर्ने र मार्टलाई निरन्तरता दिने उद्घोषले भने हामी सबैलाई खुसी र उर्जा दिएको छ । राज्यले सहयोग गर्यो भने लगानीकर्ताले नै हो पर्यटनमा साथ दिने, लगानी बनाउने । जुन पूर्वको लागि एकदमै आवश्यक पनि हो ।

(लेखक धरानका पर्यटन ब्यबसायी हुन् ।)